
काठमाडौ, माघ २४ - प्रधानमन्त्री बाबुराम भट्टराईले समायोजन हुने माओवादी लडाकुको प्रक्रिया अगाडि बढाउने तयारी गर्न रक्षामार्फत सेनालाई निर्देशन दिएका छन् । रक्षा मन्त्रालयमा आइतबार नै पत्र आए पनि स्पष्ट निर्देशनको अभावमा सेनालाई के भनेर पत्र लेख्ने भन्नेमा रक्षा अधिकारीहरू भने अलमलमा छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रमा 'सातबुँदे सहमति र माओवादी सेनाका लडाकुको रेखदेख, समायोजन र पुनःस्थापनासम्बन्धी विशेष समितिको निर्णयअनुसार सेनामातहत बन्ने बेग्लै महानिर्देशनालयमा माओवादी सेनाका लडाकुको समायोजन प्रक्रिया अगाडि बढाउने सम्बन्धमा आवश्यक तयारी गर्न निर्देश गरिन्छ' भन्ने बेहोरा उल्लेख भएको एक रक्षा अधिकारीले बताए । विशेष समितिको पुस १७ को बैठकले समायोजन प्रक्रिया अगाडि बढाउन सरकारमार्फत सेनालाई आवश्यक निर्देशन दिने निर्णय गरेको थियो ।
'प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट आएको पत्रमा मन्त्रिपरिषद्ले निर्णय गरेको हो/होइन स्पष्ट छैन,' रक्षास्रोतले भन्यो, 'सातबुँदे सहमतिमा के उल्लेख छ र विशेष समितिको निर्णय के हो भन्ने आधिकारिक जानकारी छैन । त्यसैले सेनालाई के भनेर पत्र लेख्ने अलमलमा छौं ।' हालै सरुवा भएका रक्षासचिव माधव रेग्मीले सोमबार मात्र कार्यभार सम्हालेकाले मंगलबार छलफल गरी निष्कर्षमा पुग्ने एक अधिकृतले जनाए ।
No comments
Post a Comment