
भक्तपुर, मंसिर २१ - तीनकुने-सूर्यविनायक ६ लेन सडकमा १५ वटा आकासेपुल बन्ने भएका छन् । तीमध्ये नमुनाका लागि गठ्ठाघर चोक नजिक निर्माण सुरु गरिएको छ । पहिलो चरणमा जडिबुटी, लोकन्थली, कौशलटार र गठ्ठाघरमा बन्ने पुलको ठेक्का प्रक्रिया सकिएको छ ।
आयोजनाले बेलैमा काम सुरु नगर्दा पुल निर्माणमा ढिलाइ भएको छ । 'अन्य तीन वटा पनि चाँडै सुरु हुने छन्,' काठमाडौं-भक्तपुर सडक विस्तार आयोजनाका इन्जिनियर कृष्णबहादुर थापाले भने, 'दोस्रो चरणमा बन्ने ११ वटा पुलको ठेक्का प्रक्रियामा छ ।' चार वटा पुल बनाउने ठेक्का गोल्डेन गुड शेर्पा कन्स्ट्रक्सनले पाएको छ ।
आयोजनाका अनुसार कोटेश्वर, गठ्ठाघर, टिबी अस्पताल, ठिमी, एसएस कलेज, राधेराधे, सिर्जनानगर, सल्लाघारी, सुवर्ण चोक, चुनदेवी र सूर्यविनायकमा पुल बन्न लागेका हुन् । 'स्वीकृतिका लागि अर्थ मन्त्रालयमा फाइल गइसकेको छ,' थापाले भने । आयोजनाले गठ्ठाघर चोकमा बनाउनुपर्ने पुल ट्राफिक प्रहरी कार्यालय अगाडि निर्माण सुरु गरेको भन्दै सर्वसाधारणले विरोध गरेका छन् । दुर्घटना न्यूनीकरणका लागि आकासेपुल निर्माणको योजना आए पनि आयोजनाले सीमित व्यक्तिको सुविधाका लागि अन्यत्र बनाएको उनीहरूको आरोप छ ।
दैनिकजसो दुर्घटना हुने चोकमा पुल नबनाएर अन्यत्र बनाउनु गलत भएको स्थानीयवासी वचन देउजाले बताए । 'आकासेपुल निर्माणको पहिलो प्राथमिकता चोकमा हुनुपथ्र्यो,' उनले भने, 'चोकबाहेकको स्थानमा दोस्रो चरणमा गरेको भए हुन्थ्यो ।' गठ्ठाघर चोककी गोपी दाहालले पनि पहिले चोकमा पुल बन्नुपर्ने बताइन् । 'कसैको पहुँचको आधारमा चोकबाहेक अन्य स्थानमा बन्नु हुँदैन,' उनले भनिन् ।
त्यस्तै, नयाँ बन्ने १५ वटा पुलमा व्यापारिक दृष्टिकोणले सटर नबन्ने भएको छ । ट्राफिक र सडक कार्यालयको आवश्यक सामान राख्न दुई वटा साना कोठा बन्ने छन् । नयाँ बन्ने सबै पुलमा सिसिटिभी जडान गर्ने योजना रहेको उनले बताए । 'क्यामेरा जडानका लागि जाइकासँग कुरा भइरहेको छ,' उनले भने, 'जाइकाले हाम्रो योजनालाई सकारात्मक लिएको छ ।' सूर्यविनायक र कोटेश्वरमा कन्ट्रोल रुम राखेर सडकको गतिविधि नियाल्ने सडकको योजना छ ।
सर्भिस ट्रयाक निर्माणमा ढिलाइ
चार लेन सडकको दायाँ-बायाँ बन्ने दुई लेन सर्भिस ट्रयाक निर्माणमा ढिलाइ भएको छ । असारमा ठेक्का प्रक्रिया सुरु भएको सर्भिस ट्रयाकको अझै काम सुरु भएको छैन । बेलैमा निर्माण नहुँदा सर्वसाधारणले सास्ती पाएका छन् । त्यस्तै, सर्भिस ट्रयाकसँगै जोडिएको पेट्रोलपम्पको व्यापारमा असर परेको व्यापारी बताउँछन् । सडक विभागका अनुसार ठेकेदारको लापरबाहीले सडक निर्माणमा ढिलाइ भएको हो । आयोजनाले यस्ता ठेकेदारलाई कारबाही गर्न चासो देखाएको छैन । सर्भिस ट्रयाक निर्माणको ठेक्का पप्पु/ज्योति निर्माण सेवाले पाएको छ । आयोजनाले एउटै सडक पाँच टुक्रा पारेर ठेक्का दिएको छ । 'नियमविपरीत पाँच टुक्रा पारेर ठेक्का दिएको छ,' सडक विभाग स्रोतले भन्यो, 'यसले आयोजनाको नियत सही नभएको देखाउँछ ।' पाँचवटै टुक्रा एउटै ठेकेदारले पाएको छ । विभाग उच्च स्रोतका अनुसार मनोहरादेखि हनुमन्तेसम्म चार टुक्रा र हनुमन्तेदेखि सूर्यविनायकसम्मको बायाँतर्फको एक टुक्रा बनाएर ठेक्का लगाइएको छ ।
आयोजनाका अनुसार सर्भिस ट्रयाकका लागि १० करोड रुपैयाँ बजेट छ । 'दसंैअघिको वषर्ात् र सडकका लागि स्तरीय ग्राभेल नपाएर ढिलाइ भएको हो,' इन्जिनियर कृष्णबहादुर थापाले भने, 'अहिले गोदावरी मार्बल खानीबाट ग्राभेल ल्याएर काम सुरु भइसक्यो ।' २०६९ असारसम्म पिच सक्ने योजना रहेको उनले बताए । आयोजनाले ठेकेदारलाई वैशाख अन्तिमसम्म काम सक्न समय दिएको छ । जापान सरकारको लगानीमा विस्तार भएको चार लेनसँग काम सक्नुपर्ने भए पनि नेपालले गर्नुपर्ने काम अझै सुरुसम्म भएको छैन । ६ लेन सडक जापानले असोज दोस्रो साता नेपाललाई हस्तान्तरण गरेको हो । हस्तान्तरण भए पनि एक वर्षसम्म मर्मतको समय रहेको उनले बताए ।
No comments
Post a Comment