मैदी गाविस वडा नं ३ बरामगाउँका ५१ वर्षीय तिलबहादुर रोक्का आफ्नो नाम समेत लेख्न सक्दैनन् ।
आफ्ना छोरछोरीलाई पढाइ र घरखर्च जुटाउन २० वर्षदेखि राजधानीको कालीमाटी र बल्खुको मन्डीमा भारी बोक्दै आएका रोक्काले गाउँमा काम गर्ने ठाउँ नभएपछि राजधानी बसी भारी र गाडी लोडअनलोड गरेर २० वर्षदेखि परिवार पाल्दै आएका हुन् ।
सानोमा मनमा पढ्ने इच्छा तीव्र भए पनि गरिबीको कारणले पढ्न नपाएपछि छोराछोरीलाई भारी बोकेर भए पनि पढाउँछु भनेर कामको खोजीमा राजधानीतिर हानिनुभएका रोक्काले भन्नुभयो– ‘भरिया काम गरेर पैसा तुरुन्तै पाइने र अरू काम गरेर महिना दिन पर्खनुपर्ने भएकाले यो पेसातर्फ आकर्षित भएको हुँ ।’
उहाँले घरका अन्य परिवारका सदस्यलाई गाउँमै छाडेर घरखर्च र छोराछोरीलाई पढाइ खर्च जुटाउन भारी बोक्नथाल्नु भएको हो । भारी बोकेरै छोरा केशवलाई कक्षा १२ सम्म पढाएको छु–उहाँले बताउनुभयो ।
छोराछोरीलाई पढाउनका साथै भारी बोकेर कमाएको आम्दानीले घरपरिवार चलाएर बचेको रकम भविष्यका लागि जम्मा गरेको उहाँले सुनाउनुभयो । काम चलेको बेलामा दिनमा रु ५०० देखि रु एक हजार ५०० सम्म आम्दानी हुने रोक्काले भन्नुभयो ।
आफूले आफ्नो ज्यान पालेर पढाइ र घरखर्चका लागि महिनामा रु आठ हजारदेखि रु १० हजारसम्म बचाएर घर पढाउने गरेको बताउनुभयो ।
उहाँसँगै डोरबहादुर बिसुन्के पनि भारी बोकेर छोरा विष्णु नेपालीलाई राजधानीको ललितपुर लगनखेलमा रहेको पिनाकल कलेजमा उच्च शिक्षा पढाउँदै आउनुभएको छ । ‘मैले पढ्न नसकी अशिक्षित भएपछि राम्रो काम पाइन, अरू काम गर्न नजानेकाले पनि भरिया काम गर्न बाध्य भएको हुँ’– उहाँले बताउनुभयो ।
तिलबहादुर र डोरबहादुरजस्तै धादिङ जिल्लाका ग्रामीण क्षेत्रका अधिकांश युवा, बूढापाका भारी बोक्नका लागि राजधानीका महाबौद्ध, कलङ्कीचोक, कालीमाटी, बल्खु, पोखराको पृथ्वीचोक र जिल्ला सदरमुकाम धादिङबेंसी आउने गर्छन् । गरिबीका कारण आफूले पढ्न नसके पनि छोराछोरीको भविष्य हाम्रोजस्तो नभइ राम्रो होस् भनेर यस काममा लागि परेको उहाँहरूको भनाइ छ ।
दक्ष जनशक्ति वैदेशिक रोजगारीका लागि विदेश गइरहेको बेलामा आफ्नै ठाउँमा पसिना पु¥याउन सके स्वदेशमा राम्रो कमाउने माध्यम भरिया पेसा पनि एउटा राम्रो व्यवसाय भए पनि निश्चित मूल्य नहुँदा कम मूल्यमा बाध्य भएर बोक्नुपर्ने कृष्ण बयालकुटीले बताउनुभयो ।
Subscribe to:
Post Comments (Atom)
No comments
Post a Comment