
काठमाडौ, माघ ११ - अमेरिकी सरकारले आफ्ना नेपालस्थित राजदूत स्कट एच. डेलिसीलाई यहाँको तीनवर्षे कार्यकाल नसकिँदै युगान्डा पठाउने भएको छ ।
नेपालबाट डेलिसीको सम्भावित बहिर्गमनबारेको सूचना थाहा पाउनेबित्तिकै मंगलबार उनको फेसबुक पेजमा थुप्रै नेपाली शुभचिन्तकले 'रुवाबासी' गरे । आफूलाई युगान्डा खटाइएको समाचार डेलिसीले नै सुनाएका थिए । 'हिजो वासिङ्टनमा राष्ट्रपति बराक ओबामाले मलाई युगान्डाका लागि राजदूत नियुक्त गर्नु भएको छ,' डेलिसीले लेखे, 'नयाँ भूमिकामा मलाई सिनेट -अमेरिकी संसद्को माथिल्लो सदन) ले स्विकारे सामान्यतः तीनवर्षे कार्यकाल नपुग्दै नेपाल छोड्नु परे म निश्चयै दुःखी हुनेछु ।'
डेलिसीलाई ओबामाले १७ नोभेम्बर २००९ मा नेपालका लागि राजदूत नियुक्त गरेका थिए । त्यसको पाँच महिनापछि १५ अपि्रल २०१० मा उनी काठमाडौं आएका थिए । आएकै दिन उनले 'खुसी लागेको' उल्लेख गर्दै 'दुई देशबीचको लामो समयदेखिको मित्रता थप प्रगाढ बनाउने र दुई देशका जनताबीच मित्रताको गाँठो झन् कसिलो तुल्याउने' चाहना व्यक्त गरेका थिए । मनोनयन र आगमनबीचको फरक हेर्दा डेलिसी अबका केही महिना नेपालमै रहने छन्, जो उनले आफूलाई 'बाईबाई' भन्न हतारिएका शुभचिन्तकहरूलाई मंगलबार फेसबुकमै सम्झाएका थिए ।
'पि्रय साथीहरू, तपाईंहरूको न्यानो भावनाको सराहना गर्छु तर म अहिल्यै गइहाल्ने होइन,' डेलिसीले लेखे, 'सिनेटले मेरो नियुक्ति स्विकार्ने प्रक्रियालाई समय लाग्छ । अबको केही समय म नेपालमै हुनेछु, यद्यपि मैले चाँडै केही समय बिदाचाहिँ लिनुपर्ने हुन्छ ।'
युगान्डा मनोनयनबारे डेलिसीको सन्देश प्रवाह भएलगत्तै उनका शुभचिन्तकहरूले त्यसप्रति निराशा प्रकट गर्दै आगामी कार्यकालका लागि शुभकामना दिएका छन् । 'महामहिम, आशा छ तपाईंले नेपाललाई बिर्सनु हुने छैन,' एकजनाले डेलिसीको फेसबुक भित्तोमा लेखे, 'हामी तपाईंलाई सम्भिmरहने छौं ।' अर्काले त्यो समाचार पत्याउन नसकेको उल्लेख गर्दै आफूले डेलिसीलाई सदाका लागि नेपालमै रहेको देख्न चाहेको बताएका छन् ।
'तपाईंको सन्देश पढ्दा मैले आफ्नै आँखालाई विश्वास गर्न सकिनँ,' एकजनाले लेखेका छन्, 'यो समाचारबाट म साह्रै दुखित छु । ममात्र होइन, सबै नेपालीले तपाईंलाई सम्भिmरहने छन्, एकजना सहजै पहँुच मिल्ने राजदूत र नेपालका राम्रो मित्रका रूपमा जसले आफूलाई नेपालको विकास र दुई देशको सम्बन्ध सुधारमा व्यस्त राख्यो । त्योभन्दा बढी, तपाईं
हाम्रो सरकारविरुद्ध भावना प्रकट र गुनासो गर्ने माध्यम हुनु भयो ।'
त्यो पछिल्लो हरफको निकै महत्त्व छ, नेपालमा अमेरिकी कूटनीतिज्ञको लोकपि्रयता बढ्नुमा । हालैका महिनाहरूमा फेसबुकमा खाता खोलेर थुप्रै सर्वसाधारणसँग अन्तक्रिर्या गर्नुबाहेक 'नेपाल बन्द' जस्ता संवेदनशील मुद्दाहरूमा प्रस्ट विचार राखेका अमेरिकी कूटनीतिज्ञले थुप्रै नेपालीको मन जितेको कुरा उनको खातालाई मन पराउनेहरूको संख्या (१२ हजार ३ सय ४२) र त्यहाँ व्यक्त अभिमतहरूले प्रस्ट पार्छन् । विशेषगरी बितेका केही महिनामा राजनीतिक दल तथा समूहहरूले गरेका या गर्ने योजना बनाएका बन्द कार्यक्रमविरुद्ध प्रस्ट अडान राखेका डेलिसीलाई थुप्रै नेपालीले त्यसो गरेबापत मन पराएका छन् । सार्वजनिक रूपमा व्यक्त त्यस्ता अडानले नेपाली राजनीतिक वृत्तमा डेलिसीलाई केही अलोकपि्रय तुल्याएको हुनुपर्छ तर त्यसो गरिदिएकामा अधिकांश नेपालीले उनलाई धन्यवाद दिएका छन् ।
'हामीले पाएकामध्ये तपाईं उत्कृष्ट राजदूत,' सुमेश सिवाकोटलीले लेखेका छन्, 'किनकि तपाईंले आफ्ना विचार सर्वसाधारण नेपालीसँग साझेदारी गर्नुभयो । चाहे त्यो दलहरूले गरेको हडतालबारेमा होस् या अन्य, आवाजहीनहरूको आवाज भइदिएकामा धन्यवाद ।'
आफूलाई नेपालबाट सरुवा गर्ने ओबामाको निर्णय गलत भनिएको एक टिप्पणीको जबाफमा डेलिसीले भनेका छन्, 'राष्ट्रपतिले यस्ता निर्णय होसियारीपूर्वक लिनुहुन्छ । कार्यकाल सामान्यतः तीनवर्षे भए पनि मैले नेपालमा दुई वर्ष पूरा गर्नेछु त्यसैले त्यो त्यति नराम्रो पनि हुने छैन ।' सर्वसाधारणसँग लगातार अन्तक्रिर्या गर्नुबाहेक राजदूतका रूपमा डेलिसीले हालैका महिनामा नेपाललाई आफ्नो सरकारका थुप्रै सकारात्मक निर्णय सुनाउन पाएका छन् । अनि हालैका महिनामा नेपालमा मुख्यतः शान्ति प्रक्रियामा भएका उपलब्धिले डेलिसीलाई व्यक्तिगत रूपमै पनि खुसी तुल्याएको उनका फेसबुक सन्देशहरूमा देख्न सकिन्छ ।
एकजनाले 'के नेपाल राजनीतिक र आर्थिक रूपले असफल भएको हो ? हो भने किन होला ? होइन भने बितेका केही वर्षमा हामीले के उपलब्धि हासिल गर्यौं ?' भनी सोधेको प्रश्नमा डेलिसीले यस्तो जवाफ दिएका छन्, 'असफल भएको छैन । द्वन्द्वबाट उत्रेका अन्य धेरै समाजमा जस्तो तपाइर्ंहरू द्वन्द्वमै फर्किनु भएको छैन जो आफैंमा सफलता हो । शान्ति प्रक्रिया उल्लेख्य ढंगमा अघि बढेको छ, संविधान लेखन अन्त्यतिर पुगेको छ, रोजगारी सिर्जना भइरहेका छन् । थुप्रै राम्रो कुरा भएको छ । चुनौती र असफलताहरू पनि छन् तर असफल राज्य हुनबाट नेपाल धेरै टाढा छ ।'
डेलिसीको ठाउँमा को आउने अमेरिकाले निर्णय गरिसकेको छैन । तर एक अमेरिकी प्रश्नकर्ताले नेपालबाट युगान्डा जानु तपाईंको 'डिमोसन हो भनी सोध्दा डेलिसीले त्यस्तो नभएको जवाफ दिए । यसअघि २००७ देखि २००९ सम्म नेपालमा राजदूत रहेकी न्यान्सी जे पावेल पनि १९९७ देखि १९९९ सम्म युगान्डामै अमेरिकी राजदूत थिइन् । अहिले उनी भारतका लागि राजदूत नियुक्त भएकी छन् ।
No comments
Post a Comment