Responsive Ad Slot

Latest

latest

अन्तर्जातीय विवाहमा बिथोल्नेलाई आठ महिना जेल

Wednesday, 30 November 2011

/ by Bikash Shah (Ghayal)

दैलेख, मंसिर १४ - दैलेख जिल्ला अदालतले दैलेखमा अन्तर्जातीय विवाह गरेका जोडीको सम्बन्ध टुटाउने छ जनालाई जनही रु पाँच–पाँच हजार जरिवाना र आठ–आठ महिना जेल सजाय तोकेको छ ।

दैलेखको जगनाथ गाविस वडा नं. ६ निवासी अमृत विक र त्यही कै सविता शाहीको अन्तर्जातीय विवाहलाई जातीय हिसाबले सहन नसकिने भन्दै केटालाई कुटेर भाग्न बाध्य बनाएका र केटीलाई आफ्नै जातको अर्को केटासँग विवाह गराएको मुद्दामा जिल्ला न्यायाधीश नारायणप्रसाद धितालको एकल इजलासले मङ्गलबार सो सजाय तोकेको हो ।

अन्तर्जातीय विवाह गरेका जोडीको सम्बन्ध टुटाउनु जातीय विभेद भएको भन्दै जगनाथ गाविस वडा नं. ६ का रामबहादुर शाही, चक्रबहादुर शाही, पदमबहादुर शाही, ओमजङ्ग शाही, कुवेरजङ्ग शाही र केशव शाहीलाई सजाय तोकेको अदालतका श्रेतादार अधिकृत कृष्णप्रसाद नेपालले जानकारी दिए ।

सरकारले अन्तर्जातीय विवाह गरेका जोडीलाई एक लाख रुपैयाँ प्रोत्साहन पुरस्कार दिने घोषणा गरेको दुई महिना नबित्दै २०६६ भदौ १६ मा गरेका अमृत विक र सविता शाहीले अन्तर्जातीय विवाह गरेलगतै माइतीपक्षले केटालाई मरणासन्न हुनेगरी कुटेर गाउँ निकाला गर्नुका साथै केटीलाई आफ्नै जातको अर्को केटासँग विवाह गरी दिएका थिए ।

सोही विषयलाई लिएर स्थानीय दलित गैरसरकारी संस्थाहरूको अग्रसरतामा जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी परेपछि प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत २०६६ कात्तिक २२ गते जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

अन्तर्जातीय विवाहकै सन्दर्भलाई लिएर माइतीपक्षले केटीलाई आफ्नै जातमा फर्काउनका लागि केटाका अभिभावकबाट ६० हजार नगद र दुईवटा खसी लिएका थिए ।

दोषीहरूलाई जेल सजाय तोकिए पनि उनीहरूलाई जेल पठाइएको चाहिँ छैन

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI