तमु प्ये ल्हु संघ हङकङ शाखाले हङकङको युनलोङ स्थित युनलोङ थियटर हलमा "तमु साँस्कृतिक साँझ - दोस्रो" अपार दर्शकहरूको बीच भव्य रूपमा सम्पन्न गरेको छ ।
दर्शकहरूले खचाखच भरिएको युनलोङ थियटर हलमा तमु प्ये ल्हु संघको संयुक्त समूहले “ङ्यो तमु मई प्ये ल्हु संघ...” भन्ने स्वागत गीतबाट दर्शक बृन्दहरुलाई स्वागत गर्दै साँस्कृतिक कार्यक्रमको शुभारम्भ गरेका थिए ।
तमु जातिको आफ्नै भेषभूषामा सजिएर सामुहिक रुपमा प्रस्तुत गरिएको उक्त गीतलाई पछ्याउँदै तमु प्ये ल्हु सङ्घ पोखराका आमन्त्रित कलाकारहरू स्टेजमा देखा परे “गंगर बे क्यु भन्दा चोखो ... “ बोलको गीतसंगै आकर्षक नृत्यमा थमन तमु, रूपा तमु, नेत्र तमु, पबित्र तमु, शेर तमु र ममता तमुको टोलिको यो प्रस्तुती प्रवाशमा रहेका तमुहरूलाई आफ्नो सँस्कृतिमा चुर्लुम्म डुबाउन अत्याधिक सफल रहेको थियो ।
जहाँ गए पनि जहाँ बसे पनि आफ्नो सँस्कृति र भाषा सदा प्यारो हुन्छ । यहि कुरालाई सिद्ध गर्दै तमु प्ये ल्हु संघ हङकङको प्रस्तुती तमु जातिको जिवन्त साँस्कृतिक नृत्य “छयाटु नाँच” प्रस्तुत गरे । “यो नेपाली शिर उचाली ...” बोलमा नेपालको राष्ट्रिय ध्वजा फहराउंदै तमु पोखराका कलाकारहरू बिभिन्न भेषभूषामा स्टेजमा देखा पर्दा हङकङबासी नेपालीहरूलाई राष्ट्रियताको भावनामा बगाउन सफल देखिन्थे । जहाँ गएपनि जहाँ रहेपनि देश र नेपालीको नाम उच्चो राख्ने सन्देश दिदैं गरिएको मनमोहक नृत्यले दर्शकहरूको छाती गर्वले ढक्क फुलाएको भान हुन्थ्यो ।
सुरिलो स्वरकी धनी शर्मिला तमु देखा परिन “ख्याल ख्यालैमा माया बस्यो ...” आफ्नै एल्बमको गीतसँग, दर्शक बृन्दबाट आएको वाहवाहीसँगै शर्मिलाले आफ्नो लोकप्रिय गीत “झल्को आउँछ त्यो आँधी खोला ...” गाउँदै आफ्नो यस अघिको हङकङमा कार्यक्रम गर्न आऊँदा सजिएका कुराहरूको स्मरण गरिन । तमु प्ये ल्हु संघ हङकङका दुई युवा कलाकार नयन र लिशा देखा परिन गुरूङ चलचित्रको मिठासपूर्ण गीत “म्होररीम्रोब” मा नृत्य गर्दै । यसपछि आए कार्यक्रम तथा लोक दोहोरीमा युवा ढुकढुकी बन्न सफल बहुप्रतिक्षित युवा गायक रामजी खांण, दर्शकहरुसँगै बसेर कार्यक्रमको मज्जा लिई रहेका गायक खांण त्यहिंबाटै स्टेजमा आएर “दार्जलिङको रेलैमा” गाएको लगत्तै अर्को चर्चित गीत “सुनको चुरा”ले हङकङगेली दर्शकलाई स्टेजमै आएर नाच्न मजबुर पारे ।
हाँस्य सङ्गीतको एउटा महत्वपूर्ण हिस्सा हो, अझै नृत्यमा यस्को प्रयोगले आफ्नो छुट्टै किसिमको महत्व राख्दछ। तमु प्ये ल्हु संघ पोखराका कलाकार नेत्र तमुले “ढोका खोल पोष्टेकी आमा ...” गीतमा दर्शकहरूको पेट राम्रै गरेर मिचे ।
तमु प्ये ल्हु संघ हङकङका जितमान तमु, चेउना तमु, टेकेन्द्र तमु, दिक्षा तमु, दिपा तमु र देवी तमुको समुहले “सालै जो ...” गीतमा आकर्षक नृत्य प्रस्तुत गरे । यस पछि तमु प्ये ल्हु संघ पोखरा र हङकङका कलाकारहरूले संयुक्त रूपमा तमु जातिमा लोप हुँदै गई रहेको 'रोधीं'को झलक देखाउंदै रोधीं घरमा नाच्ने सामूहिक नृत्य प्रस्तुत गरे। तमु सांस्कृतिक परिवार हङकङका कलाकारहरू श्रीप्रसाद तमु, शबनम तमु, चेउना तमु, प्रिती तमु, जर्ज तमु र एलिना तमुको समूहले तमु गीत “सुनको टारबे पोरोटा” नृत्य प्रवासमा रहेर पनि तमुहरूहरूले आफ्नो संस्कृतिलाई जिवन्त राखेको नमूना थियो । नेपालको तनहुँ जिल्लामा बहुप्रचलित गुरूङ नृत्य “कौडा”मा तमु प्ये ल्हु संघ पोखराका कलाकारहरूको मोहक प्रस्तुतीले प्रवासका नेपालीहरूलाई आफ्नो संस्कृतिको सम्झना राम्रैसंग गरायो । कार्यक्रमका ढुकढुकी शर्मिला गुरुङ र रामजी खांणले “सालै जो” युगल स्वरमा गाए ।
समयको अभावमा कतिपय प्रस्तुतीहरू रोक्नु परेको भएता पनि कार्यक्रमको पुछारमा लोक दोहोरीका चर्चित कलाकारद्वय शर्मिला गुरुङ र रामजी खांणको जोडीले “झिमझिम सानु नझिम्काउ परेली भुतुक्कै हुन्छु म ...” भन्ने गीतको बोलले दर्शकहरुलाई त नचाए नचाए, कार्यक्रमको निर्धारित समय कटाई सकेको पत्तै भएन। तमु सांस्कृतिक परिवार हङकङको प्रत्यक्ष संगीत तथा कलाकारहरूको साथले दोहोरीलाई मनोरञ्जनात्मक बनाउन कुनै कसर बाकीं राखेको थिएन । कार्यक्रम पश्चात प्रस्तुत गरिएको गीत तथा नृत्यका बोलहरू गुनगुनाउँदै दर्शकहरू बाहिरिएका भेटिन्थे ।
तमु प्ये ल्हु संघ हङकङका अध्यक्ष सोम बहादुर तमुको अध्यक्षतामा आयोजित उक्त साँस्कृतिक कार्यक्रममा हङकङका नेपाली महाबाणिज्यदूत बिनोदकुमार उपाध्याय प्रमुख अतिथि तथा विशेष अतिथिहरूमा तमु प्ये ल्हु संघका ध्याब्री चिवा प्रेम बहादुर तमु, सुरजे तमु र संघकै पच्यु चिवा एक प्रसाद तमु, केन्द्रिय तमु प्ये ल्हु संघका निवर्तमान अध्यक्ष भूपू लेफ्टिनेन्ट ईन्द्र बहादुर तमु, उपाध्यक्ष तथा कलाकारहरुको संयोजक क्याप्टेन रूप बहादुर तमु, तमु प्ये ल्हु संघ हङकङका प्रमुख सल्लाहकार ईन्जिनियर बिजय तमु, सल्लाहकार क्याप्टेन चन्द्र बहादुर तमु, एशिया प्यासिफिक क्षेत्रीय संयोजक, एन आर एनका त्रिलोक तमु, नेपाली निर्माण कामदार युनियनका अध्यक्ष तुलाजंग तमु, हङकङ नेपाली महासंघका अध्यक्ष प्रदिप थापामगर र जनजाति महासंघका अध्यक्ष एमबी थापामगर रहेका थिए साथै हङकङकै पहिलो नेपाली सोलिसिटर वकिल एक नारायण शर्मा,एनआरएन हङकङका अध्यक्ष दुर्गा बहादुर तमु, फियोना हङकङका गणेश तमु, तमु ट् हो ह्यूलका अध्यक्ष अर्जुन तमु,ब्रिटिश गोर्खा भूपू सैनिक संघका अध्यक्ष हेम प्रताप तमु,भारतीय गोर्खा भूपू सैनिक संघ हङकङका अध्यक्ष जंग बहादुर तमु,तमु ट् हो ह्यूलका निवर्तमान अध्यक्ष ईच्छा कुमारी तमु,स्याङजा जनसेवा समिति हङकङका अध्यक्ष कोमल९स्याङ्जाली कान्छा०तमु,लमजुङ सेवा समितिका अध्यक्ष सत्य घले,डांडा गाउंले समाजका अध्यक्ष सुरेश तमु,किरांत राई यायोख्खा हङकङका अध्यक्ष किशन राई,किरांत याक्थुम चुम्लुङका अध्यक्ष कृष्ण लावती,भिरकोट आठथर तमु समाज स्याङजाका अध्यक्ष मन बहादुर तमु,ताउलेक समाज स्याङ्जाका अध्यक्ष सुक बहादुर तमु,अकला देवी तमु समाजका अध्यक्ष भान बिर तमु, ठकुरी समाज हङकङका अध्यक्ष बिनय शाह,पेल्काचौर समाजका अध्यक्ष दल बहादुर चन्द,टप माउण्टेन ते(क्वान्दो डोजाङका मास्टर गणेश तमु,सोंपाल समाजका अध्यक्ष धर्म कुमार गुरुङ र नमो बुद्ध आमा समूहका अध्यक्ष पद्म कुमारी तमुलाई पनि अतिथिको रूपमा आमन्त्रित गरिएको थियो ।
कार्यक्रमको शुरुको छोटो औपचारिक कार्यक्रममा प्रमुख अतिथि हङकङस्थित नेपाली महावाणिज्यदूत विनोद कुमार उपाध्यायले रिबन काटेर कार्यक्रमको समुदघाटन गरेका थिए । लगतै गत में महिनामा सम्पन्न तेस्रो हङकङ फियोना आईडलमा फियोना आईडल बन्न सफल शबनम तमु र सेकेण्ड रनर अप बन्न सफल प्रिया तमुलाई महावाणिज्यदूतको बाहुलीबाट सम्मान पत्रद्वारा सम्मानित गरियो।
कार्यक्रममा बोल्दै महावाणिज्यदूतले कार्यक्रमको सफलताको कामना गरे भने संघकै अध्यक्ष सोम बहादुर तमुले तमुहरुको मौलिक पहिचान,उदाहरणको लागि धर्म,संस्कृति,संस्कार,भेषभूषा तथा रितिरिवाज एवं परम्परा आदिको झलकहरु सम्पूर्ण हङकङबासी नेपालीहरु मांझ प्रस्तुत गर्ने उद्धेश्यले साथै नेपाली कला र संस्कृतिको संरक्षण,सम्बर्द्दन र बिकासको लागि पनि 'तमु सांस्कृतिक सांझ-दोस्रो' आयोजना गर्न गई रहेको जानकारी गराउंदै प्रमुख अतिथि,बिशेष अतिथि तथा अन्य अतिथिज्यूहरु,कार्यक्रमलाई भब्यका साथ सफलताको शिखरमा पु-याउंनु हुने प्रायोजकज्यूहरु,उपस्थित दर्शकप्रेमीहरु,तमु प्ये ल्हु संघ केन्द्रिय उपाध्यक्ष तथा कलाकार संयोजक रुप बहादुर तमुज्यू, कलाकार भाइबहिनी,"तमु सांस्कृतिक सांझ-दोस्रो"का संयोजक तथा संघकै लेखा परीक्षक जितेन्द्र तमु,संघकै रिपोर्टर मुक काजी तमु,संघकै भिडियोग्राफर लक्ष्मण तमु साथै कृष्ण तमु,आमा समूह र सम्पूर्ण प्ये ल्हु संघ परिवारलाई हार्दिक धन्यवाद ब्यक्त गर्दै छोटो औपचारिक कार्यक्रमलाई समापन गरेका थिए।
स्मरणीय रहोस, यस "तमु सांस्कृतिक सांझ-दोस्रो" का प्रमुख संयोजकको रुपमा संघकै प्रमुख सल्लाहकार ईन्जिनियर विजय तमु रहनु भएको थियो भने काम बिशेषले वहां हङकङ देखि बाहिरिनु परेकोले वहांको सम्पूर्ण अभिभारा संघकै लेखा परीक्षक जितेन्द्र तमुले सम्हाल्नु भई वहांकै संयोजकत्वमा नै यस पटकको 'तमु सांस्कृतिक सांझ-दोस्रो' भब्य तथा सभ्यका साथ सफल भएको छ।
Subscribe to:
Post Comments (Atom)
No comments
Post a Comment