Responsive Ad Slot

Showing posts with label प्रवास. Show all posts
Showing posts with label प्रवास. Show all posts

पपुआ न्यु गिनीमा ३ सय ५० यात्रुसहितको डुङ्गा डुब्यो

No comments

Wednesday, 1 February 2012

पोर्ट मोरेस्वी, माघ १९ (एएफपी)– पपुआ न्यु गिनीमा बिहीबार लगभग ३ सय ५० यात्रु बोकेको डुङ्गा डुबेको छ। डुङ्गामा सवारमध्ये २८ जनाको उद्दार गरिएको भए पनि थुप्रै ज्यानमालको नोक्सान भएको अनुमान छिमेकी अष्ट्रेलियाले गरेको छ। बिहीबार बिहान डुङ्गाबाट मद्दतका लागि सङ्केत पठाइएको थियो।


बिहीबार बिहान स्थानीय समयअनुसार लगभग ६ बजे एमभी राबाउल क्विनसँगको सम्पर्क टुटेको अपरेटर स्टार सिप्सले जनाएको छ। दुर्घटना हुँदा डुङ्गा प्यासिफिक नेशनको पूर्वतर्फ किम्बे र लीबीचमा थियो। दुर्घटनाको कारण खराब मौसम भएको बताइएको छ।

'अहिले अष्ट्रेलियाबाट उद्दार टोली त्यसतर्फ गएको छ। अहिलेसम्म कसैको मृत्युको खबर आइसकेको छैन'- स्टार सिप्सका प्रवक्ता जोन हि्वटनीले भने।

चार नेपाली भारतमा बन्धक

No comments

Saturday, 28 January 2012

गुलरिया, माघ १४ - भारतीय वन सुरक्षाकर्मीको सहयोगमा स्थानीयले सीमापार सामान खरिद गर्न गएका चार नेपालीलाई भारतीय सीमा बलले गाउँमै बन्धक बनाएको छ ।

स्थानीय जमुनी गाविस ८ डाँफेका मानबहादुर बुढा, पूर्णबहादुर कार्की र भरत तेम्जुङ राईलाई शुक्रबार भारतीयले बन्धक बनाइराखेको प्रहरीले जनाए । अर्का एक नाम नखुलेका डाँफेका नेपाली नागरिक भारतीय जंगलमा घाँस काट्दै गरेका अवस्थामा समातेर लगेको प्रहरी उपरीक्षक रामकृपाल शाहले बताए ।

भारतीय वनरक्षकले नेपाली भूमि अतिक्रमण गर्दै सीमामा डोजर लगाई खाडल बनाउँदै गरेकोमा डाँफेका युवाले विरोध गरेका थिए । त्यस क्रममा द्विपक्षीय कुटाकुट भएपछि प्रतिरोधमा भारतीय नागरिकले बलै गाउँमा उनीहरूलाई बन्धक बनाएका हुन् । कुटाइबाट नेपाली र भारतीय ९ जना सामान्य घाइते भए । उनीहरूले कुटपिटमा संलग्नलाई नबुझाएसम्म नछाड्ने बताएका छन् ।

बिहानैदेखि नेपाल-भारत सीमामा आउजाउ गर्न भारतीयले रोक लगाएको छ । भारतसँग जोडिएका पूर्वी नाका तनावग्रस्त छ । तनावका कारण इलाका प्रहरी मैनापोखर र जमुनीबाट सशस्त्र प्रहरी भारतमा बन्धक बनाइएकालाई छाड्न समकक्षी भारतीय अधिकारीसँग वार्ता गर्न गएका छन् ।

गत फागुन ५ गते भारतीय सुरक्षाकर्मीले चोरी सिकार गरेको आरोपमा जमुनीका हर्कबहादुर शाहीलाई नेपाली भूमिबाट बेपत्ता बनाएका थिए । अहिलेसम्म उनको अवस्था अज्ञात छ । भारतीय सुरक्षाकर्मीले शाहीलाई मारेको आशंका स्थानीयले गरेका छन् । यसको पुस्ट्याइँ भने नेपाली अधिकारीले गर्न सकेका छैनन् ।

नाइजेरिया आक्रमणमा मारिएका नेपालीको शव ल्याइँदै

No comments

Tuesday, 24 January 2012

काठमाडौं, माघ ११- पश्चिम अफ्रिकी राष्ट्र नाइजेरियाको कानोमा सुरक्षाकर्मी तथा इस्लामिक अतिवादी समूह बोको हरमको गोली हानाहानमा स्याङ्जाका हरिप्रसाद भुसाल र बुटबलका राज सिंहले ज्यान गुमाएका छन्।


कार्यालयबाट घर फर्कंदै गर्दा भुसाल र सिंह चढेको कार कानोस्थित प्रहरी मुख्यालय नजिकै दोहोरो भिडन्तमा परेको नाइजेरियाको लागोस सहरमा रहेका हिक्मत थापाले नागरिकसँग टेलिफोनमा भने। थापा गैरआवासीय नेपाली संघ अफ्रिकाका संयोजक हुन्।

अतिवादी इस्लामिकले नाइजेरियाको दोस्रो ठूलो सहर कानोमा शुक्रबार गरेको श्रृंखलावद्ध बम विष्फोट तथा आक्रमणमा कम्तीमा १ सय ८५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन्।
भुसाल र सिंह दुवै कार्यालयबाट निवासतर्फ फर्कदै गरेको थापाले जानकारी दिए। दुवै रासायनिक पदार्थ बेच्ने एमएस रेल्चेम नामको कम्पनीमा बजार प्रतिनिधिका रूपमा काम गर्दै आएका थिए। उनीहरुसँगै कारका चालक भारतीय नागरिकको समेत मृत्यु भएको छ।

बोका हरमका लडाकुले शुक्रबार स्थानीय र सुरक्षाकर्मीमाथि लक्षित गर्दै बम र गोली प्रहार गरेका थिए। उक्त समूहले देशको उत्तरी क्षेत्रमा हिंसात्मक घटना गराउँदै आएको छ। नाइजेरियालाई इस्लामिक राष्ट्र बनाउन र इस्लामिक कानुन 'सरिया' लागू गराउन बोको हरमले हिंसात्मक गतिविधि गर्दै आएको छ।


२४१२६५९ पासपोर्ट नम्बर भएका स्याङ्जा वालिङ- १ का २५ वर्षीय भुसाल तीन वर्षअघि नाइजेरिया पुगेका थिए। त्यसैगरी ४१४६९१ पासपोर्ट नम्बरका बुटवल- १३ का सिंह २६ वर्षका सिंह भने करिब चार महिनाअघि रोजगारीका सिलसिलामा नाइजेरिया पुगेको थापाले बताए।

भुसाल र सिंहको शव ल्याउन प्रक्रिया सुरु गरिएको छ। 'शव परिवारसम्म पुर्‍याउने आवश्यक व्यवस्था मिलाउन हामीले कम्पनीका मालिकलाई आग्रह गरेका छौं,' थापाले भने, 'सकारात्मक जवाफ आएको छ।' त्यसका लागि दक्षिण अफ्रिकास्थित दूतावासमा आवश्यक कागजात पुगिसकेको उनले बताए। थापाले भुसाल तथा सिंहको नेपालस्थित परिवारसँग सम्पर्कमा रहेको बताएका छन्।

थापाले हिंसाग्रस्त उत्तरी सहर कानोमा करिब १५ नेपाली कार्यरत रहेको र सबै सुरक्षित रहेको बताएका छन्। कानोको आक्रमणपछि अफ्रिकाको सबैभन्दा बढी जनसंख्या भएको नाइजेरियामा पुनः गृहयुद्ध सुरु हुनसक्ने अनुमान गरिएको छ। तेल उत्पादक प्रमुख देशमध्ये एक नाइजेरियाको उत्तरी क्षेत्रमा मुसलमान र दक्षिण क्षेत्रमा इसाइ बसोबास गर्छन्।

नेपालीको हत्याको अभियोगमा एक पक्राउ

No comments

Saturday, 14 January 2012

अमेरिका, माघ १ -

जर्जिया राज्यको डेकाल्ब काउन्टीमा सोमबार राती ३९ वर्षीय दामोदर पाठकको भएको हत्यामा संलग्न एक व्यक्तिलाई प्रहरीले बिहिबार पक्राउ गरेको छ । पाठक स्थानीय बिपी ग्याँस स्टेसनमा काम गर्थे ।
प्रहरीका अनुसार पक्राउ पर्ने ५२ वर्षीय अर्लिन टर्नर हुन् । टर्नरलाई लेक पार्क ड्राइभस्थित अपार्टमेन्टबाट पक्राउ गरिएको हो ।
पाठक एलनउडको सेडर ग्रोभ रोडस्थित बिपी ग्याँस स्टेसनमा सोमबार रातीको ड्युटी गर्दै थिए । एघार बजेको आसपासमा पैसा लुट्न आउनेले उनको हत्या गरेका थिए ।
पाठकलाई गोलीमा लागेको थियो । उनलाई ग्य्राडी मेमोरियल अस्पतालमा लगियो । त्यहाँ उनलाई मृत घोषित गरिएको थियो ।

अमेरिकामा नेपाली युवाको गोली हानी हत्या

No comments

Tuesday, 10 January 2012

damodar
अमेरिका, पुस २७ - जर्जिया राज्यको डेकाल्ब काउन्टीमा एक नेपाली युवा ३९ वर्षीय दामोदर पाठकको सोमबार राती हत्या भएको छ । पाठक स्थानीय बिपी ग्याँस स्टेसनमा काम गर्थे ।

एलनउडको सेडर ग्रोभ रोडस्थित उक्त ग्याँस स्टेसनमा रातीको ड्युटी गर्दै थिए । एघार बजे दुई जना आए । रजिस्टरको पैसा लुटे र गए । पाठक ती लुटेराबाट पैसा लिन पछिपछि गए र पार्किङ लट पुगे । पैसा फिर्ता लिने प्रयासमा उनलाई गोली हाने र हतियारधारी भागेको प्रहरीको अनुमान छ ।

पाठकलाई छातीमा गोलीमा लागेको थियो । उनलाई ग्य्राडी मेमोरियल अस्पतालमा लगियो । त्यहाँ उनलाई मृत घोषित गरिएको थियो । आफ्ना ग्राहकसँग परिचित मेहनती र असल पाठकलाई 'पिटर' उपनामले चिनिन्थ्यो । ललितपुर घर भएका विवाहित पाठक साढे चार वर्षदेखि अमेरिकामा बस्दै आएको स्थानीय समाजसेवी राजा घलेले बताए ।

नेप्लिज एसोसिएसन इन साउद-इस्ट अमेरिका (नासा) ले एक विज्ञप्ति जारी गर्दै अमेरिकास्थित नेपाली समुदायले एउटा अर्को क्षति बेहोरेको बताएको छ ।

यसअघि नोभेम्बरमा मेरिल्याण्ड राज्यको बाल्टिमोरमा नारायण भण्डारी मृत फेला परेका थिए । लम्जुङ जिल्ला खुदी गाउँ विकास समिति १ घर भई सन् २००३ मा विद्यार्थी भएर अमेरिका पढन आएका २६ वर्षीय भण्डारी नोभेम्बर १० तारिख राती साढे आठ बजेतिर आफ्नो कोठाको फोहोर फाल्न बाहिर निस्किएका थिए । त्यसपछि कोठा नफर्किएका नारायणको एकैपटक स्थानीय प्रहरीले आठ दिनपछि उनी बस्ने कोठा नजिकै रहेको स्थानीय पार्कको छेउमा शब फेला पारेको थियो ।

उड्दै गरेको हट एयर बेलुन बल्यो, पाइलट र ५ जोडीको मृत्यु

No comments

Friday, 6 January 2012



वेलिङ्टन (न्युजिल्यान्ड) पुस, २३ (एपी) - ११ जनालाई बोकेर उडेको एउटा हट एयर बेलुन शनिबार त्यहाँको एक गाउँमा विद्युत प्रसारण हुने टावरसँग ठोक्किएको छ। उड्दै गरेका मानिसहरु एकाएक ठोक्किँदा आगोको ज्वालासँग जुध्न पुगे। न्युजिल्यान्डमा ५० वर्षपछि भएको यस्तो प्रकृतिको दुर्घटनामा भएको हो। दुर्घटनामा सबैको मृत्यु भयो। उडिरहेको बेलुन ठोक्किएपछि आगो निस्कनुअघि नै दुई व्यक्ति ज्यान जोगाउन हामफालेका थिए।

उनीहरु ठूलो आवाजसहित जमिनमा बजारिए। हट एयर बेलुनका लागि ख्याती कमाएको क्यारटेरटोनमा यस्तो दुर्घटना भएको हो। हावाको वेग सामान्य हुँदाहुँदै पनि यस्तो दुर्घटना हुन पुगेको थियो।

शितलहर पीडितलाई जर्मनीबाट सहयोग

No comments

Monday, 26 December 2011

जर्मनी (म्युनिख), पुस ११ - नेपाली जनसंपर्क समिति जर्मनीको बायर्न शाखा र एनआरएन जर्मनी बायर्न शाखाले नेपालको तराई क्षेत्रमा सुरु भएको शितलहरबाट पीडितहरुको सहयोगार्थ सहयोग उठाउन सुरु गरेको छ ।

दुव‍ै शाखा मिलेर हालसम्ममा एक लाख रुपैयाँ पठाएका छन । पीडितहरुलाई सहयोग स्वरुप नेपालमै लत्ता कपडा सङ्कलन गरिरहेको हेल्प नेपाल नेट्वर्कको नाममा पठाइएको उक्त रकमले शितलहर पीडितहरुका लागि कम्बल लगायत आवश्यक सामाग्री खरिद गरिने जनाइएको छ ।

म्युनिखबाट पठाइएको उक्त रकम मध्ये ७० हजार रुपैयाँ जनसंपर्क समितिले संस्थाको बचत कोष र आफ्न शुभ चिन्तकहरुबाट संकलन गरेको हो भने बाँकी ३० हजार एनआरएनको बायर्न शाखाले उपलब्ध गराएको हो ।

पत्रकार रबिन्द्र मिश्रले सामाजिक सन्जाल फेसबुक मार्फत सहयोगको अपिल गरेपछी जनसंपर्क समिति बायर्न र एनआरएन बायर्नले रकम संकलन गर्न सुरु गरेका थिए । बायर्न जनसम्पर्क समितिका अध्यक्ष गोबिन्द काफ्लेले आफुहरु राजनितिक दलसँग आवद्ध भएपनि नेपालीहरुको दु:खमा सहभागी भएर केही सहयोग गर्न पाउदा खुशी लागेको बताए । एनआरएन बायर्नका अध्यक्ष मोहन गुरुङले शितलहरले ४ दर्जन मानिसहरुको ज्यान गई सक्दा पनि राजनितिक दलहरु र स्वयं सरकार समेतले केही पहल नगर्नु लाजमर्दो भएको बताए ।

उनले भने हामी एनआरएनहरु नेपालीहरुको हरेक सुख दु:खमा सहभागी हुन चाहन्छौ । हेल्प नेपाल नेटवर्कले जनाए अनुसार प्राप्त रकमबाट कम्बल लगायतका सामाग्री खरीद गरिने छ । देश ब्यापी रुपमा अपिल गरिएपछी नेटवर्कले अहिले सम्म एउटा मिनीबस लत्ता कपडा जम्मा गरिसकेको छ । एनआरएन जर्मनीका महासचिव हरेन्द्र वनेमले आफुहरुले नेपालीहरुको दु:ख सुखमा सधैं साथ दिने बताए । उनले भने हामी सबै नेपालीहरु संसारको जुन सुकै कुनामा भए पनि आत्मा सधैं नेपालमा छ । वनेमका अनुसार एनआरएन जर्मनी नेपालमा रहेका हरेक सहयोग संस्था संग सहकार्य गरेर जान इच्छुक छ ।

साउदीमा सजाय पाएका नेपाली छुटाउन ३० हजार रियलको क्षतिपूर्ति प्रस्ताव

No comments

Saturday, 24 December 2011

काठमाडौं, पुस १०- पाकिस्तानी नागरिकको हत्याको आरोपमा साउदी अरबमा मृत्युदण्डको सजाए पाएका एक नेपालीलाई माफी दिलाउन सरकारले ३० हजार साउदी रियाल (झन्डै ६ लाख रुपैयाँ) 'ब्लडमनी' (क्षतिपूर्ति रकम) प्रस्ताव गरेको छ।

पाकिस्तानी नागरिक मोहम्मद वसिरको हत्या तथा लुटपाटको आरोपमा धनुषा माछि जितकैया- ४ का ३१ वर्षीय उमेश यादव पाँच वर्षदेखि जेलमा छन्। उनलाई मंसिर पहिलो साता साउदीको जुवेल अदालतले स्थानीय कानुनअनुसार ‘टाउको काटी' मृत्युदण्ड दिने फैसला गरेको थियो।
पीडित परिवारले क्षतिपूर्ति रकममा चासो देखाएपछि परराष्ट्र मन्त्रालयको निर्णयअनुसार साउदीस्थित नेपाली दूतावासले उक्त प्रस्ताव गरेको हो। त्यहाँको पाकिस्तानी दूतावासमार्फत् पीडित परिवारसमक्ष प्रस्ताव राखिएको स्रोतले जानकारी दियो।

‘हामीले मारिएका पाकिस्तानी नागरिक वसिरको परिवारलाई ३० हजार साउदी रियाल क्षतिपूर्ति दिने प्रस्ताव गरेका छौं,' साउदीस्थित नेपाली दूतावासका द्वितीय सचिव सागर फुयाँलले टेलिफोनमा नागरिकसँग भने, ‘साउदीमा पीडित परिवारले क्षतिपूर्ति लिन माने दोषीले माफी पाउने कानुनी मान्यता छ।'

केही दिनअघि दूतावासले ‘क्षतिपूर्ति रकम प्रस्ताव गर्न' वसिरका बाबु र श्रीमतीलाई अनुरोध गरेको थियो। उनीहरूले नेपाल सरकारलाई नै प्रस्ताव गर्न आग्रह गरेका थिए। त्यसपछि रकम तोकिदिन दूतावासले परराष्ट्रलाई पत्र पठायो। पीडित परिवारले प्रस्ताव स्वीकार गरे सम्पूर्ण रकम सरकारले बेहोर्नेछ।

‘पीडित परिवारले क्षतिपूर्ति स्वीकार गरे माफी दिने प्रक्रिया तुरुन्त सुरु हुन्छ,' फुयाँलले भने, ‘साउदीमा रहेको पाकिस्तानी दूतावासलाई पनि पीडित परिवारलाई मनाउन सहयोग गरिदिन आग्रह गरेका छौं।'

क्षतिपूर्ति रकमबारे पीडित परिवारसँग छलफल अघि बढेकाले साउदीस्थित नेपाली दूतावासले यसअघि नै त्यहाँको गृह मन्त्रालय, कानुन मन्त्रालय, सर्वोच्च अदालत, गभर्नर कार्यालय, फैसला गर्ने जुवेल अदालत, यादव रहेको जुवेल सेन्टर जेललाई तत्काल सजाय कार्यान्वयन नगर्न आग्रह गर्दै पत्र पठाएको थियो। यसअनुसार उनको सजाय कम्तीमा ३ महिना कार्यान्वयन नगर्ने निर्णय भएको थियो।

सन् २००६ को अन्ततिर साउदी पुगेका यादव दुई महिनामै हत्याको आरोपमा पक्राउ परेका थिए। उनी राजधानी रियादबाट झन्डै साढे पाँच सय किलोमिटर पूर्व जुवेल सेन्टर जेलमा बन्दी जीवन बिताइरहेका छन्। उनले हत्याको आरोप स्वीकार गरे पनि लुटपाट भने नगरेको दूतावासका पदाधीकारीसँग बताएका थिए।

पाँच वर्षदेखि बेखबर रहेका यादवलाई मृत्युदण्ड दिइएको जानकारीपत्र मंसिर पहिलो साता साउदी सरकारले नेपाली दूतावासलाई दिएको थियो। त्यसपछि दूतावासका कर्मचारी उनलाई भेट्न जेल गएका थिए। भेटमा उनले अन्तिमपटक सात महिनाअघि परिवारका सदस्यसँग कुरा गरेको बताएका थिए। उनले आफूलाई मृत्युदण्ड दिइने लगभग पक्का भएको जानकारी परिवारलाई दिएपछि कुनै कुराकानी नभएको बताए।

‘पाकिस्तानी दूतावासलाई दोषीको परिवार अत्यन्त गरिब रहेको र क्षतिपूर्ति तिर्न नसक्ने भएकाले आशासमेत मारेर सम्पर्क नगरी बसेकाले जतिसक्दो कम क्षतिपूर्तिमा मनाउन सहयोग गरिदिन भनेका छौं,' फुयालले भने, ‘हाम्रो अनुरोधमा पाकिस्तानी दूतावासका कर्मचारी सकारात्मक देखिएका छन्।'

यादवको घरमा श्रीमती (सञ्जुदेवी), दुई छोरा (कमलेश र निदेश), बाबु (भोला) र आमा (सुमन) छन्।

परपुरुषससँग सम्बन्ध राखेको आरोपमा पाकिस्तानमा ६ सय ७५ जना महिलाको हत्या, मारिनेमध्ये ७१ जना १८ वर्षमुनिका किशोरी, दुई तिहाइ विवाहित महिला !

No comments

Friday, 23 December 2011


पाकिस्तानमा यो वर्ष इज्जत फालेको आरोपमा ६ सय ७५ जना महिलाको हत्या भएको छ । पाकिस्तानी मानव अधिकार आयोगले सन् २०११ को पहिलो ९ महिनामा मात्र ६ सय ७५ जना महिलाको इज्जतको मामिलामा हत्या अर्थात् ‘अनर किलिङ’ भएको जनाएको छ । यसरी मारिने
मध्ये दुई तिहाइ विवाहित महिला रहेका र उनीहरुलाई परपुरुषससँग सम्बन्ध राखेको आरोपमा मारिएको मानव अधिकार आयोगको प्रपतवेदनले औँल्याएको छ । त्यस्तै इज्जत फालेको आरोपमा मारिनेमध्ये ७१ जना १८ वर्षमुनिका किशोरी छन् । आयोगका प्रवक्ताले आफुहरुसँग ६ सय ७५ जना महिलाको मात्र हत्या भएको तथ्यांक रहेपनि अझ धेरै महिला समेत मारिएको हुनसक्ने बताएका छन् । उनले पाकिस्तानमा महिलामाथि हुने अपराधका घटनामा वृद्धि भैरहेको समेत बताका छन् । मानव अधिकार आयोगका अनुसार अघिल्लो वर्ष सन् २०१० मा इज्जत फालेको आरोपमा ७ सय ९१ जनाको हत्या भएको थियो । त्यसमध्ये १ सय जना युवती घरपरिवारको मञ्जुरी बिना बिहे गरेको आरोपमा मारिएका थिए । मानवअधिकार सम्बन्धी काम गर्ने अन्तर्राष्ट्रिय संस्था एम्नेस्टी इन्टनेशनलले इज्जत फलेको आरोपमा हत्या गर्नेहरुलाई कारबाही गर्न सरकारले कुनै पहल नगरेको भन्दै पाकिस्तानी सरकारको आलोचना गरेको छ । धार्मिक रुपमा यसको कुनै मूल्य नहुने भएपनि सांस्कृतिक कारण देखाउँदै पाकिस्तान, भारत, खाडी मुलुक तथा अफ्रिकी मुलुकहरुमा ‘अनर किलिङ’ हुने गरेको छ

प्रकाश बस्नेत द्वारा सयोगको अपिल

No comments

Monday, 19 December 2011



वैदेशिक रोजगारीका लागि विदेशिएका प्रवासी नेपालीहरुको विदेशको भूमिमा पनि आ–आफ्नै कहानी, दुःख र वेदनाले भरिएको जिन्दगी हुन्छ । आफ्नो घरको सहारा र खुस्यालीको लागि ठूलो सपना बोकेर बिदेशमा पुगेका कतिपय नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको कहानी पनि चलचित्रको दृश्यजस्तै एकै पलमा आफै बेसाहारा र दर्दनाक पीडा झेल्नसम्म बाध्ये भएका छन् ।

सन् २००८ मा ठूलो सपना बोकेर रोजगारीका सिलसिलामा युएईमा आएका चरिकोट भिनपा–११, दोल्खा निवासी प्रकाश बस्नेतको हातल पनि कम पीडाजनक छैन् । दुबईको जेवेलअलिस्थित एउटा कम्पनीमा कार्यरत बस्नेतको दुईवटै किडनी फेल भई जिन्दगीको निराशाजनक स्थितिमा पुगेको छ । विगत ९ महिनादेखि बिरामी रहेको र अस्पतालको रिपोर्ट अनुसार एउटा किडनी फेर्नको लागि लगभग ने.रु १५ लाख खर्च आउने बताएका छन् ।

आफुले काम गरेको कम्पनीले पनि यहि ३० दिसेम्बर २०११ सम्म मात्र ड्यूटी रहेको जानकारी दिएको छ । नेपालमा आफ्नो घरमा बाबा आमा, श्रीमती र दुई छोराहरु जिम्मेवारी रहेको बस्नेतको हालत निकै निराशाजनक रहेको छ । उहांको जिन्दगीको लागि कसैको सानो सहयोगले पनि धेरै ठूलो सहयोग हुन्छ । अगर कसैले उहांलाई सहयोग गर्न चाहानुहुन्छ भने उहांको मोबाइल नं. यस प्रकार रहेको छ, ०५० ८४२३६१३ ।

पत्रकारहरुको चुनावका लागि अध्यक्ष शिव गाउंले बेलायत आउने I

No comments
धर्मराज अधिकारी
बेलायत ।


नेपाल पत्रकार महासंघ बेलायत शाखाको पहिलो अधिबेशनमा अध्यक्ष शिव गाउंलेको सहभागिता हुने भएको छ । आउंदो जनवरी १४ मा हुन गइरहको बेलायतस्थित नेपाली पत्रकारहरुको चुनावमा सहभागि हुन नेपाल पत्रकार महासंघका अध्यक्ष गाउंले आउने पक्का भएको बेलायत शाखाले जनाएको छ । ुसम्मुनत नेपाली समाजका लागि जिम्मेवार पत्रकारिताु भन्ने मुल नारा सहित चुनावी प्रतिष्पर्धामा रहेका पत्रकारहरुलाई अध्यक्ष गाउंलेले सम्बोधन गर्नेछन ।


शाखा संयोजक नविन पोखरेलको सभापतित्पमा आइतबार बसेको बैठकले पत्रकारहरुको निर्वाचन सम्पन्न गर्नका लागि पत्रकार भागिरथ योगीको संयोजकत्वमा कानुन व्यवसायी राजु थापा र सुरेशजंग शाह सहितको निर्वाचन समिति गठन गरेको छ । यस्तै शाखामा सदस्यताका लागि परेका आवेदनमध्य ३७ जना आवेदनकर्ताहरुको आवेदन उपर छलफल गरी सदस्यता पारीत गरीएको थियो ।
यस्तै निर्वाचनमा अध्यक्ष उम्मेदवारका लागि ५० कार्यसमितिका २ उपाध्यक्ष एक महासचिव एक सचिव र एक कोषाध्यक्षका लागि ३० र सदस्यहरुका लागि २० पाउण्डका दरले उम्मेदवारी शुल्क लिने निर्णय भएको थियो । शाखामा ६ जना पदाधिकारी र सातजना सदस्यहरु गरी १३ जनाको कार्यसमिति रहने छ । उनीहरुको पदावधि २ बर्षको हुनेछ । बैठकमा पत्रकार शशी पौडेलद्धारा प्रश्तुत विधान मस्यौदा उपर सामान्य छलफल भएको थियो ।

सो अवसरमा पत्रकारहरु शशी पौडेल बालमुकुन्द जोशी बि बि सी नेपाली सेवाका भागिरथ योगी उपसंयोजक चिरन शर्मा सचिव नरेश खपांगी मगर पत्रकारहरु केशव श्रेण्ठ श्याम लुइर्ंटेल नारायण गाउंले विपिन निरौला उमेश निरौला रमा लामिछाने धर्मराज अधिकारी लगायत सहभागि भएका थिए ।

यु ए इ मा कम्पनि बन्द हुदा ६० नेपालीको विचली

No comments

Thursday, 15 December 2011

१५ डिसेम्बर २०११ यु ए इ को सारजा हम्रीया फ्री जोन स्थित सिस्टम इन्जिनियरिङ कम्पनी संचालक बिना सूचना कम्पनि बन्द गरि फरार हुदा त्यस कम्पनि मा कार्यरत ६० नेपाली लगाएत अन्य कामदार बिचालिमा परेका छन् सोहि कम्पनीमा कार्यरत भारतीय कामदार हरु लाई दुबई स्थित भारतीय दुतावासले उधार गरेका छन् भने नेपाली कामदारहरु राहातको बाटो हेर्दै बसी रहेका छन् घटना थाहा पाए लगतै धादिंग वेल्लफेरका अधक्ष्य भुबन गुरुङको नेतृत्वमा धादिंग वेल्लाफेरका एक टोलि आवस्यक सहयोगको लागि त्यस तर्फ प्रस्थान गरेका छन्

नागोयामा ठेलागाडा यात्रीलाई जापानमा सम्मान I

No comments

Wednesday, 7 December 2011

सन्देश पोखरेल - सडक बालबालिका तथा ग्रामिण पिछडिएका क्षेत्रमा शिक्षाबाट बन्चित बालबलिकाहरुको सहयोगको लागि जापानमा स्थापना गरिएको एशियन चाइल्ड सपोर्टले आइतबार एक बर्षे जापान ठेलागाडा यात्राका यात्री हिरोयुकी मियाचीलाइ सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।


नागोयाको खासुगाई स्थित एक होटलमा सम्पन्न उक्त कार्यक्रममा सस्थाका सचिव मणि मगरले सस्थाको परिचय, पृष्ठभुमि र यसको उधेश्य बारेमा जानकारी गराएका थिए भने सस्थाका सस्थापक अध्यक्ष्य राजु तामांगले सस्थाको भावी कार्यक्रमको बारेमा प्रकाश परेका थिए ।
यस्तै सस्थाका कोषाध्यक्ष्य तथा यात्री हिरोयुकी मियाचीले आफ्नो एक बर्षे ठेलागाडा यात्राको क्रममा भोगेका तिता मिठा अनुभवहरुलाइ छोटकरीमा ब्याख्या गरेका थिए । कार्यक्रममा आमन्त्रित अथितिहरुले यात्री मियाचिलाई खादा ओढाई नेपालप्रति सहयोग गर्ने भावना सहित आफ्नो यात्राका क्रममा नेपाली झन्डा बोकी नेपालको बारेमा जापानिज नागरिकलाइ जानकारी गराएकोमा प्रसंशा गर्दै सम्मान ब्यक्त गरेका थिए ।
कार्यक्रममा अतिथिको रुपमा एन आर एन आइ सी सी सदस्य द्वय डा. सुदिप अधिकारी र रोविन्द श्रेष्ठ (गोबिन्द), एन आर एन जापानका उपाध्यक्ष्य डिलाराम खरेल, नेपाली बिधार्थी समाज जापान (नेसाज)का अध्यक्ष्य बिमल अधिकारी, एन आर एन जापानका सचिव सरोज कंडेल, नेपाल इन्जिनियार्स एशोसिएसन जापानका सचिव डा. मधुसुदन कायस्थ,एन आर एन जापानका सल्लाहकार पारसमणि पोखरेल, जन सम्पर्क समिति जापानका उपाध्यक्ष्य शेर बहादुर केसी, एन आर एन जापान तोकाई होकुरिकुका उपाध्यक्ष्य बिष्णु प्रसाद घिमिरे लगाएतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

नेपाली सडक बालबालिका साथै पिछडिएका ग्रामिण भेगका बालबालिकाहरुको जीवन शैलीहरुबाट प्रभावित बनि गतवर्ष २०१० अक्टुबर १० तारिक देखि जापानको नागोयाबाट ठेलागाडामा नेपाली झन्डा राखेर आफ्नो यात्रा शुरु गरेका गिफु केन निवासी मियाचीले एक बर्षको अन्तरालमा उनले ठेलागाडा गुडाउदै जापानको होक्काइदो,ओकिनावा,फोकुओका लगाएत जापानको प्राय सबै शहरहरु घुमी आफ्नो अभियान र नेपालको बारेमा चिनारी दिदै हिडेका थिए ।
यात्राको क्रममा हिमाली नुन र नेपाली कफीको प्रचार समेत गर्दै हिडेका मियाचिले आफ्नो एक बर्षको प्रचार अभियानलाइ यहि नोभेम्बर ११ तारिक नागोयामा आइपुगी बिश्राम गरेका हुन् ।

कोरियामा नेपालीहरूद्वारा धामी झाक्री नाच प्रदर्शन I

No comments

Tuesday, 6 December 2011

डम्बर सुब्बा - कोरियाको राजधानी सिओलस्थित राष्ट्रिय साँस्कृतिक संग्रहालयमा गत नोभेम्बर २९ तारिख देखि डिसेम्बर ४ तारिख सम्म नेपालको खोटाङका दुमी किरात राईहरुको लोक सँस्कृतिसँग सम्बन्धित धामी झाक्रीहरुको विशेषतालाई धामी बिर्ख बहादुर राईले बढो रोकचकताका साथ प्रदर्शन गरेका थिए ।

धामी राईले मन्त्र फुक्दै प्रदर्शन गरेको धामी नाच तथा धामीको पहिरन र उनले प्रयोग गरेका विभिन्न प्रकारका ढोल, झ्याम्टा, दुम्सीको काँडाबाट बनाएको झोला, बाँसको छडी, रुद्राक्ष्य माला तथा अन्य औजारहरु देखेर उपस्थित कोरियनले उत्सुकता साथ चासो राखेका थिए ।


धामी राईले भाषा र समयको अभावले गर्दा आफुले चाहेको जस्तो धामीको विशेषताहरु प्रदर्शन गर्न नपाएकोमा दुख व्यक्त गरेका थिए ।

सो कार्यक्रम आयोजक कमिटिका सदस्य तथा दोङ्गबाङ्ग युनिभरसिटिका प्रोफेसर याङ्ग जो ङ्ग सुङ्गले धामी झाक्री प्रथालाई अन्धविश्वासको रुपमा हेरेता पनि यो प्रथामा राष्ट्रको गहिरो लोक सँस्कृति र परम्परा लुकेको हुन्छ भन्दै यो प्रथा राष्ट्रको सम्पदा हो । राज्यले संरक्षण सम्वद्र्धन गर्नुपर्छ भन्नु भयो ।

कोरियामा पनि धामी झाक्रीहरु छन् । उनीहरुलाई सर्वसाधारणले अन्धविश्वासको संज्ञा दिएर ठगी अर्थात अनौठो दृष्टिकोणले हेर्ने गर्दछ । तर पनि यो धामी झाक्रीको प्रथा भने हट्न सकेको छैन ।

यस्तै, धामी झाक्री प्रथालाई नयाँ नामकरण गरी सामाजिक कल्चरको रुपमा हेर्न थालेका छन् ।


युएईमा धादिङे भेला सम्पन्नI

No comments

Saturday, 3 December 2011



रोजगार तथा ब्यवसायको सिलसिलामा सयुक्त अरब इमिरटेसमा बसोबास गर्ने धादिङ जिल्लाबासीहरुको सामाजिक सस्था धादिङ वेल्फेर एसोसिसनको साधारणसभा यही डिसेम्बर २ तारिख दुबइस्थित एभरेस्ट होटेलमा सम्पन भयो।

सेवा नै धर्म हो भन्दै परदेशमा कमाएको पैसाले विदेशमा रहेका नेपालीहरुलाई परिआउने समस्या देखि लिएर आफू जन्मेको ठाउँका लागि पनि केही गरौँ भन्ने उद्देश्यका साथ् सन् २००९ मा गठन भएको सो संस्थाको अर्को कार्यकालका लागि नयाँ कार्यसमिति गठन भएको छ ।

दैवीप्रकोप लगायत अन्य विभिन्न समस्यामा सहायताका साथसाथै जन्मभूमिमा आफुले गर्न सकिने विकासको लक्ष्य लिएर हिडेका उत्साही धादिङे युवाहरुको सो भेला भुवन गुरुङको सभापतित्व तथा संरक्षक चन्द्रप्रशाद सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । उक्त भेलाले विगतको कार्यकालको समिक्षा सहित सन्तोषजनक कार्य भएको भन्दै यसपाली पनि अघिल्लो कार्यसमितिकै अध्यक्ष भुवन गुरुङको नेतृत्वमा आठ सदस्यिय नयाँ कार्यकारी समिति गठन गरेको छ।

नयाँ कार्यसमितिका पदाधिकारीहरुमा भुवन गुरुङ (ज्यामरुङ - २)-अध्यक्ष, श्री अर्जुन सापकोटा (कटुन्जे ३)- उपाध्यक्ष, श्री भिम कुमार अधिकारी(फुल्खर्क ४) -उपाध्यक्ष, श्री धन बहादुर पाठक (चैनपुर ५)- कोषाध्यक्ष, श्री हरि नेपाली (ज्याम्रुङ ६) -सचिव, श्री राजकुमार कंडेल (बेनिघाट ७)- सह सचिव र सदस्यहरुमा श्री चन्द्रबहादुर तमाङ (मार्पाक) र श्री लोकमान गुरुङ (खाल्टे ८) रहनु भएको छ ।

साथै संस्थाको सोही समयमा बसेको बैठकमा बिगतमा भन्दा अझ तिव्र रुपमा अगाडी बढ्ने अठोटका साथ निकट भबिस्यमा नै जिल्लामा गई जिल्ला प्रमुख तथा जिल्लाका विभिन्न भागका स्थानियहरुसँग राय-सुझाब लिने निर्णय पनि गरिएको छ ।

अमेरिकामा लमजुङका एक विद्यार्थी मृत अवस्थामा भेटिए

No comments

Thursday, 1 December 2011

student वासिङटन डिसी, मंसिर १६ - अमेरिका आएर पढ्दै गरेका एक नेपाली विद्यार्थी बाल्टिमोरमा मृत अवस्थामा फेला परेका छन् । लमजुङको खुदी गाविस –१ स्थायी घर भएका नारायण भण्डारीको सव प्रहरीले अपार्टमेन्ट नजिकै पार्कमा भेटेको वासिङटन डिसीस्थित नेपाली दुतावासले जनाएको छ ।

‘दुखद् खबर आएको छ, अब नेपालमै रहेका परिवारसँग समन्वय गरेर के गर्ने भनेर स्थानीय नेपाली समुदायसँग पनि छलफल गर्दैछौ’ दुतावासका प्रथम सचिव आनन्द शर्माले भने, ‘प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ, तर कारण थाहा हुन सकेको छैन ।’ प्रहरी अनुसन्धान अधिकृत रोवर्ट वर्नससँग कुरा गरेका शर्माले अनुसन्धानपछि मात्र भन्न सकिने प्रहरीले जनाएको समेत बताए । फोहोर फाल्न हिडेको ८ दिनपछि गत नोभेम्बर १८ का दिन उनको सव फेला परेको हो ।

दुतावास र बाल्टिमरमा बस्दै आएका नेपालीहरुको संस्था बाल्टिमोर एसोसिएसन अफ नेप्लीज इन अमेरिका (बाना) ले नेपालमा नारायणका बुवा तथा लण्डनमा रहेका भाइसँग सम्पर्क गरिरहेको पनि उनले बताए । बानाको अगुवाईमा सहयोग जुटाउने र समन्वयको काम भइरहेको संस्थाका महासचिव प्रभु थापाले जानकारी दिए । ‘लन्डलबाट स्वर्गीय नारायणको भाई र नेपालबाट उनका आफन्त आउने कुरा भइरहेको छ’ थापाले भने ।

भण्डारी युनिभर्सिटी अफ मेरील्याण्डबाट कम्प्युटर इन्जिनियरिङमा अन्डर ग्रयाजुएट सकेर ग्रयाजुएट पढ्ने तयारी गरिरहेका थिए । लमजुङ घरभई हाल बाल्टिमोरमै बस्दै आएका महासचिव थापाकाअनुसार भुपु सैनिक आवासीय विद्यायलबाट एसएलसीमा लमजुङकै उत्कृष्ट र आइएस्सीमा अमृत साइन्स कलेजमा उत्कृष्ट भएका भण्डारी २००३ मा अमेरिका आएका हुन् । उनी २००६ मा अमेरिकी महिला श्रेटिनी ह्यारिससँग विहे गरेर सँगै बस्दै आएका थिए । ‘विहेपछि नेपालीसँग सम्पर्कमा खासै रहेको देखिएन’ थापाले भने । बानाकै अनुरोधमा नारायणको शबलाई डिसेम्बर ५ सम्म बाल्टिमोर मेडिकल एक्जामिनर कार्यालयमा राखिएको छ ।

यसैवीच बानाका अध्यक्ष विजय श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै भण्डारी परिवारमा परेका वियोगले सबैलाई दुःखी बनाएको भन्दै सहयोगका लागि सबैसँग आग्रह गरेका छन् । ‘आफूले सके जती सहयोग गर्न सबैलाई आग्रह गर्दछौ‌’ उनले भनेका छन् ।

साउदीले पुराना राहदानीलाई मान्यता दिने संकेत

No comments
काठमाडौं, मङ्सिर १५- साउदी अरबले नेपाली कामदारलाई पुनः हस्तलिखित राहदानीमा भिसा दिने संकेत गरेको छ। साउदीको राजधानी रियादस्थित नेपाली दूतावासलाई बुधबार पत्र पठाउँदै 'निश्चित समयका लागि मात्र' हस्तलिखित राहदानीमा भिसा दिने साउदी सरकारले जनाउ दिएको हो।

'आउँदो साता सकारात्मक निर्णय दिन्छौं,' साउदीका लागि नेपाली राजदूत उदयराज पाण्डेले साउदी सरकारले पठाएको पत्रको आशय उद्धृत गर्दै फोनबाट नागरिकसँग भने, 'तर यो निश्चित समयका लागि मात्र हुनेछ।'

हस्तलिखित राहदानी लिई साउदी जाने नेपाललगायत विभिन्न देशका कामदारको राहदानी ठूलो संख्यामा फर्जी भेटिएपछि साउदीले कात्तिकको अन्तिम साता हस्तलिखित राहदानीमा भिसा नदिने घोषणा गरेको थियो। जुनुसुकै भिसामा आउन चाहनेलाई पनि अनिवार्य मेसिनले पढ्न सक्ने राहदानी (एमआरपी) मा मात्र भिसा दिने निर्णय साउदीले गरेको थियो।

५ लाखभन्दा बढी नेपाली कामदार रहेको साउदीमा हस्तलिखित राहदानीमा भिसा दिन बन्द गर्ने निर्णय गरेलगत्तै नेपाल सरकारले साउदी परराष्ट्र मन्त्रालयलाई पत्रमार्फत भिसा दिन आग्रह गरेको थियो। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले सन् २०१५ अप्रिल १५ सम्म हस्तलिखित राहदानीलाई मान्यता दिएको प्रसंग उल्लेख गर्दै सरकारले अवधिसम्मका लागि त्यस्ता राहदानीमा भिसा दिन साउदीसँग आग्रह गरेको थियो।

भिसा पुनः खुला गर्न आग्रह गरिएको पत्रको जवाफ नआएपछि राजदूत पाण्डे आफैं मंगलबार विदेश मन्त्रालय पुगेका थिए। विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले भिसा शाखाका कर्मचारी र नेपाल हेर्ने बंगलादेशस्थित साउदी दूतावाससँग आवश्यक छलफल गरी यससम्बन्धी शीघ्र जानकारी गराउने आश्वासन राजदूत पाण्डेलाई दिएका थिए।

भोलिपल्टै साउदी विदेश मन्त्रालयले पत्र पठाई हस्तलिखित राहदानीमा पुनः भिसा दिने सकारात्मक संकेत दिएको हो।

'बिहीबार र शुक्रबार यहाँ (साउदी) सार्वजनिक बिदा हुन्छ। उनीहरूले आउँदो साताको सुरुमै पोजेटिभ निर्णय आउँछ भनेका छन्, शनिबारसम्ममा जवाफ पाउने आशा छ,' राजदूत पाण्डेले भने, 'आइकाओको प्रावधानअनुसार उनीहरुले हस्तलिखित राहदानीमा भिसा २०१५ सम्मका लागि भने नदिने संकेत गरेका छन्।'

नेपालीलाई वैदेशिक रोजगारीका लागि आकर्षक राष्ट्रमध्ये एक साउदीले हस्तलिखित राहदानीमा भिसा दिन रोक लगाएपछि सयौं नेपाली यसबाट प्रभावित भएका थिए। वैदेशिक रोजगार व्यावसायी संघका अनुसार ७ हजार हस्तलिखित राहदानीबाहक नेपालीले साउदीलाई भिसा शुल्क तिरिसकेका छन्। ती राहदानी अहिले बंगलादेशस्थित साउदी दूतावासमा छन्। यस्तै ३ हजार हस्तलिखित राहदानी भिसाका लागि बंगलादेशस्थित साउदी दूतावास पठाउन तयारी अवस्थामा राखिएको छ।

भिसा शुल्क तिरिसकेका र तयारी अवस्थामा रहेका राहदानीका विषयमा बुधबार संघका पदाधिकारीले उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर जानकारी गराएका थिए। श्रेष्ठले संघका पदाधिकारीलाई भिसा खुलाउने प्रयास भइरहेको जानकारी दिएका थिए।

ब्रुनाईमा भब्यताको साथ किरात उधौली चाड मनाइयो I

No comments

Wednesday, 30 November 2011

विश्वास दीप तिगेला,
ब्रुनाई -


सेरिया ब्रुनाईमा रहेका किरात समुदायले आफ्नो मुख्य किरात उधौली चाड भब्यतापूर्वक मनाएका छन् ।

किरात समुदाय भित्र पर्ने राई, लिम्बु, सुनुवार र याख्खा जातिहरुले सामुहिक भेला भई आ–आफ्नो जातिको संस्कार अनुसार पुजा गर्ने तरिकाको बारे जानकारी गराउँदै साकेला, च्याब्रुङ, डोकेनी नाच प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा च्याब्रुङ, साकेला नाच धित् मरुन्जेल नाचेका थिए भने किरातहरुको परम्परागत खानपीनको राम्रो ब्यवस्था थियो ।


यस उधौली चाडलाई लिम्बुहरुले चासोक तङनाम, राईहरुले साकेला, सुनुवारहरुले फोलष्यादर र याख्खाहरुले चासुवा भन्ने गर्दछन् । खोलाको माछा उधो लागेको समयमा मनाउने यस चाडलाई उधौली र पाकेको बाली देवीदेवता र पितृलाई चढाउने न्वागी पुजा पनि भन्ने गरिन्छ । यो चाड मंसिर पूर्णिमाको दिन वर्षमा एक पटक सबै किरातहरुले आ–आफ्नो विधि गरि मनाउने गर्दछन् ।


अन्नबाबी भित्राएको र आकासमा पूर्ण आकारको रमाइलो चन्द्रमा उदाएको बेला मनाइने यस चाडलाई सुख र खुसिको चाडको रुपमा मनाइन्छ ।

उधौली चाड ब्रुनाईमा भब्यता पूर्वक मनाइएको यो दोस्रो वर्ष हो । यस वर्षको कार्यक्रमका संयोजक क्याप्टेन काजीमान लिम्बु रहनु भएको थियो भने साकेला नाचको जिम्मेवारी डिल्लीशेर राई, च्याब्रुङ नाचको नेतृत्व लोक लिम्बु र डोकेनी नाचको अगुवाई सिरी जिमीले गर्नुभएको थियो । राई संस्कृतिको बारे किसन राई, सुनुवार संस्कृतिको बारेमा तरुण सुनुवार, लिम्बु संस्कृतिको बारेमा सान्त कुमार आङदेम्बे र याख्खा संस्कृतिको बारे नवराज जिमीले बोल्नु भएको थियो । ब्यवस्थापकीय कार्यमा जितेन्द्र चेम्जोङ, चन्द्र आङबुहाङ, तुलामान राई, मानबहादुर राई, दिपेन्द्र कन्दङवा, रविन लिम्बु, लक्ष्मी आङदेम्बे लगायत धेरै जनाको सामुहिक सक्रियता थियो ।


कार्यक्रमको प्रमुख अतिथि क्याप्टेन गजेन्द्र देवानले यस चाडको लागि आफ्नो तर्फबाट अझ व्यवस्थित गर्न पहल गर्ने बताउनु भयो । सहभागी सबैलाई स्वागत तथा कार्यक्रम आयोजनाको औचित्य बारेमा विश्वास दीप तिगेलाले बोल्नु भएको थियो । कार्यक्रमलाई आकर्षक ढंगले भाषाभाषीको कविताहरु सहित महेश वनेमले संचालन गर्नुभएको थियो ।

कार्यक्रमको दोस्रो दिन बसेको समिक्षात्मक बैठकले सबै किरातहरुको गीत सगीत किरात डट अर्गमा राखि दिने जसले गर्दा संसारभरका किरातहरुले एकै ठाँउ प्राप्त गर्न सकोस भन्ने निर्णय गर्यो साथै कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सबै महानुभावहरुमा धन्यवाद ज्ञापन गरिएका थियो ।

हङकङमा तमु साँस्कृतिक साँझ-दोस्रो भव्यताका साथ सम्पन्न I

No comments
तमु प्ये ल्हु संघ हङकङ शाखाले हङकङको युनलोङ स्थित युनलोङ थियटर हलमा "तमु साँस्कृतिक साँझ - दोस्रो" अपार दर्शकहरूको बीच भव्य रूपमा सम्पन्न गरेको छ ।

दर्शकहरूले खचाखच भरिएको युनलोङ थियटर हलमा तमु प्ये ल्हु संघको संयुक्त समूहले “ङ्यो तमु मई प्ये ल्हु संघ...” भन्ने स्वागत गीतबाट दर्शक बृन्दहरुलाई स्वागत गर्दै साँस्कृतिक कार्यक्रमको शुभारम्भ गरेका थिए ।

तमु जातिको आफ्नै भेषभूषामा सजिएर सामुहिक रुपमा प्रस्तुत गरिएको उक्त गीतलाई पछ्याउँदै तमु प्ये ल्हु सङ्घ पोखराका आमन्त्रित कलाकारहरू स्टेजमा देखा परे “गंगर बे क्यु भन्दा चोखो ... “ बोलको गीतसंगै आकर्षक नृत्यमा थमन तमु, रूपा तमु, नेत्र तमु, पबित्र तमु, शेर तमु र ममता तमुको टोलिको यो प्रस्तुती प्रवाशमा रहेका तमुहरूलाई आफ्नो सँस्कृतिमा चुर्लुम्म डुबाउन अत्याधिक सफल रहेको थियो ।


जहाँ गए पनि जहाँ बसे पनि आफ्नो सँस्कृति र भाषा सदा प्यारो हुन्छ । यहि कुरालाई सिद्ध गर्दै तमु प्ये ल्हु संघ हङकङको प्रस्तुती तमु जातिको जिवन्त साँस्कृतिक नृत्य “छयाटु नाँच” प्रस्तुत गरे । “यो नेपाली शिर उचाली ...” बोलमा नेपालको राष्ट्रिय ध्वजा फहराउंदै तमु पोखराका कलाकारहरू बिभिन्न भेषभूषामा स्टेजमा देखा पर्दा हङकङबासी नेपालीहरूलाई राष्ट्रियताको भावनामा बगाउन सफल देखिन्थे । जहाँ गएपनि जहाँ रहेपनि देश र नेपालीको नाम उच्चो राख्ने सन्देश दिदैं गरिएको मनमोहक नृत्यले दर्शकहरूको छाती गर्वले ढक्क फुलाएको भान हुन्थ्यो ।

सुरिलो स्वरकी धनी शर्मिला तमु देखा परिन “ख्याल ख्यालैमा माया बस्यो ...” आफ्नै एल्बमको गीतसँग, दर्शक बृन्दबाट आएको वाहवाहीसँगै शर्मिलाले आफ्नो लोकप्रिय गीत “झल्को आउँछ त्यो आँधी खोला ...” गाउँदै आफ्नो यस अघिको हङकङमा कार्यक्रम गर्न आऊँदा सजिएका कुराहरूको स्मरण गरिन । तमु प्ये ल्हु संघ हङकङका दुई युवा कलाकार नयन र लिशा देखा परिन गुरूङ चलचित्रको मिठासपूर्ण गीत “म्होररीम्रोब” मा नृत्य गर्दै । यसपछि आए कार्यक्रम तथा लोक दोहोरीमा युवा ढुकढुकी बन्न सफल बहुप्रतिक्षित युवा गायक रामजी खांण, दर्शकहरुसँगै बसेर कार्यक्रमको मज्जा लिई रहेका गायक खांण त्यहिंबाटै स्टेजमा आएर “दार्जलिङको रेलैमा” गाएको लगत्तै अर्को चर्चित गीत “सुनको चुरा”ले हङकङगेली दर्शकलाई स्टेजमै आएर नाच्न मजबुर पारे ।


हाँस्य सङ्गीतको एउटा महत्वपूर्ण हिस्सा हो, अझै नृत्यमा यस्को प्रयोगले आफ्नो छुट्टै किसिमको महत्व राख्दछ। तमु प्ये ल्हु संघ पोखराका कलाकार नेत्र तमुले “ढोका खोल पोष्टेकी आमा ...” गीतमा दर्शकहरूको पेट राम्रै गरेर मिचे ।
तमु प्ये ल्हु संघ हङकङका जितमान तमु, चेउना तमु, टेकेन्द्र तमु, दिक्षा तमु, दिपा तमु र देवी तमुको समुहले “सालै जो ...” गीतमा आकर्षक नृत्य प्रस्तुत गरे । यस पछि तमु प्ये ल्हु संघ पोखरा र हङकङका कलाकारहरूले संयुक्त रूपमा तमु जातिमा लोप हुँदै गई रहेको 'रोधीं'को झलक देखाउंदै रोधीं घरमा नाच्ने सामूहिक नृत्य प्रस्तुत गरे। तमु सांस्कृतिक परिवार हङकङका कलाकारहरू श्रीप्रसाद तमु, शबनम तमु, चेउना तमु, प्रिती तमु, जर्ज तमु र एलिना तमुको समूहले तमु गीत “सुनको टारबे पोरोटा” नृत्य प्रवासमा रहेर पनि तमुहरूहरूले आफ्नो संस्कृतिलाई जिवन्त राखेको नमूना थियो । नेपालको तनहुँ जिल्लामा बहुप्रचलित गुरूङ नृत्य “कौडा”मा तमु प्ये ल्हु संघ पोखराका कलाकारहरूको मोहक प्रस्तुतीले प्रवासका नेपालीहरूलाई आफ्नो संस्कृतिको सम्झना राम्रैसंग गरायो । कार्यक्रमका ढुकढुकी शर्मिला गुरुङ र रामजी खांणले “सालै जो” युगल स्वरमा गाए ।

समयको अभावमा कतिपय प्रस्तुतीहरू रोक्नु परेको भएता पनि कार्यक्रमको पुछारमा लोक दोहोरीका चर्चित कलाकारद्वय शर्मिला गुरुङ र रामजी खांणको जोडीले “झिमझिम सानु नझिम्काउ परेली भुतुक्कै हुन्छु म ...” भन्ने गीतको बोलले दर्शकहरुलाई त नचाए नचाए, कार्यक्रमको निर्धारित समय कटाई सकेको पत्तै भएन। तमु सांस्कृतिक परिवार हङकङको प्रत्यक्ष संगीत तथा कलाकारहरूको साथले दोहोरीलाई मनोरञ्जनात्मक बनाउन कुनै कसर बाकीं राखेको थिएन । कार्यक्रम पश्चात प्रस्तुत गरिएको गीत तथा नृत्यका बोलहरू गुनगुनाउँदै दर्शकहरू बाहिरिएका भेटिन्थे ।


तमु प्ये ल्हु संघ हङकङका अध्यक्ष सोम बहादुर तमुको अध्यक्षतामा आयोजित उक्त साँस्कृतिक कार्यक्रममा हङकङका नेपाली महाबाणिज्यदूत बिनोदकुमार उपाध्याय प्रमुख अतिथि तथा विशेष अतिथिहरूमा तमु प्ये ल्हु संघका ध्याब्री चिवा प्रेम बहादुर तमु, सुरजे तमु र संघकै पच्यु चिवा एक प्रसाद तमु, केन्द्रिय तमु प्ये ल्हु संघका निवर्तमान अध्यक्ष भूपू लेफ्टिनेन्ट ईन्द्र बहादुर तमु, उपाध्यक्ष तथा कलाकारहरुको संयोजक क्याप्टेन रूप बहादुर तमु, तमु प्ये ल्हु संघ हङकङका प्रमुख सल्लाहकार ईन्जिनियर बिजय तमु, सल्लाहकार क्याप्टेन चन्द्र बहादुर तमु, एशिया प्यासिफिक क्षेत्रीय संयोजक, एन आर एनका त्रिलोक तमु, नेपाली निर्माण कामदार युनियनका अध्यक्ष तुलाजंग तमु, हङकङ नेपाली महासंघका अध्यक्ष प्रदिप थापामगर र जनजाति महासंघका अध्यक्ष एमबी थापामगर रहेका थिए साथै हङकङकै पहिलो नेपाली सोलिसिटर वकिल एक नारायण शर्मा,एनआरएन हङकङका अध्यक्ष दुर्गा बहादुर तमु, फियोना हङकङका गणेश तमु, तमु ट् हो ह्यूलका अध्यक्ष अर्जुन तमु,ब्रिटिश गोर्खा भूपू सैनिक संघका अध्यक्ष हेम प्रताप तमु,भारतीय गोर्खा भूपू सैनिक संघ हङकङका अध्यक्ष जंग बहादुर तमु,तमु ट् हो ह्यूलका निवर्तमान अध्यक्ष ईच्छा कुमारी तमु,स्याङजा जनसेवा समिति हङकङका अध्यक्ष कोमल९स्याङ्जाली कान्छा०तमु,लमजुङ सेवा समितिका अध्यक्ष सत्य घले,डांडा गाउंले समाजका अध्यक्ष सुरेश तमु,किरांत राई यायोख्खा हङकङका अध्यक्ष किशन राई,किरांत याक्थुम चुम्लुङका अध्यक्ष कृष्ण लावती,भिरकोट आठथर तमु समाज स्याङजाका अध्यक्ष मन बहादुर तमु,ताउलेक समाज स्याङ्जाका अध्यक्ष सुक बहादुर तमु,अकला देवी तमु समाजका अध्यक्ष भान बिर तमु, ठकुरी समाज हङकङका अध्यक्ष बिनय शाह,पेल्काचौर समाजका अध्यक्ष दल बहादुर चन्द,टप माउण्टेन ते(क्वान्दो डोजाङका मास्टर गणेश तमु,सोंपाल समाजका अध्यक्ष धर्म कुमार गुरुङ र नमो बुद्ध आमा समूहका अध्यक्ष पद्म कुमारी तमुलाई पनि अतिथिको रूपमा आमन्त्रित गरिएको थियो ।

कार्यक्रमको शुरुको छोटो औपचारिक कार्यक्रममा प्रमुख अतिथि हङकङस्थित नेपाली महावाणिज्यदूत विनोद कुमार उपाध्यायले रिबन काटेर कार्यक्रमको समुदघाटन गरेका थिए । लगतै गत में महिनामा सम्पन्न तेस्रो हङकङ फियोना आईडलमा फियोना आईडल बन्न सफल शबनम तमु र सेकेण्ड रनर अप बन्न सफल प्रिया तमुलाई महावाणिज्यदूतको बाहुलीबाट सम्मान पत्रद्वारा सम्मानित गरियो।

कार्यक्रममा बोल्दै महावाणिज्यदूतले कार्यक्रमको सफलताको कामना गरे भने संघकै अध्यक्ष सोम बहादुर तमुले तमुहरुको मौलिक पहिचान,उदाहरणको लागि धर्म,संस्कृति,संस्कार,भेषभूषा तथा रितिरिवाज एवं परम्परा आदिको झलकहरु सम्पूर्ण हङकङबासी नेपालीहरु मांझ प्रस्तुत गर्ने उद्धेश्यले साथै नेपाली कला र संस्कृतिको संरक्षण,सम्बर्द्दन र बिकासको लागि पनि 'तमु सांस्कृतिक सांझ-दोस्रो' आयोजना गर्न गई रहेको जानकारी गराउंदै प्रमुख अतिथि,बिशेष अतिथि तथा अन्य अतिथिज्यूहरु,कार्यक्रमलाई भब्यका साथ सफलताको शिखरमा पु-याउंनु हुने प्रायोजकज्यूहरु,उपस्थित दर्शकप्रेमीहरु,तमु प्ये ल्हु संघ केन्द्रिय उपाध्यक्ष तथा कलाकार संयोजक रुप बहादुर तमुज्यू, कलाकार भाइबहिनी,"तमु सांस्कृतिक सांझ-दोस्रो"का संयोजक तथा संघकै लेखा परीक्षक जितेन्द्र तमु,संघकै रिपोर्टर मुक काजी तमु,संघकै भिडियोग्राफर लक्ष्मण तमु साथै कृष्ण तमु,आमा समूह र सम्पूर्ण प्ये ल्हु संघ परिवारलाई हार्दिक धन्यवाद ब्यक्त गर्दै छोटो औपचारिक कार्यक्रमलाई समापन गरेका थिए।
स्मरणीय रहोस, यस "तमु सांस्कृतिक सांझ-दोस्रो" का प्रमुख संयोजकको रुपमा संघकै प्रमुख सल्लाहकार ईन्जिनियर विजय तमु रहनु भएको थियो भने काम बिशेषले वहां हङकङ देखि बाहिरिनु परेकोले वहांको सम्पूर्ण अभिभारा संघकै लेखा परीक्षक जितेन्द्र तमुले सम्हाल्नु भई वहांकै संयोजकत्वमा नै यस पटकको 'तमु सांस्कृतिक सांझ-दोस्रो' भब्य तथा सभ्यका साथ सफल भएको छ।

यूएईस्थित दूतावासको नयाँ वेवसाईट

No comments

काठमाडौ, मंसिर १४ - संयुक्त अरव इमिरेट्सस्थित नेपाली दूतावासले नयाँ वेवसाइट बनाएको छ । पुरानो साइटमा प्राविधिक समस्या भएको भन्दै नयाँ साइट बनाएको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार नयाँ साइट www.nepalembassyuae.org हो । यसमा मूलत संयुक्त अरव इमिरेट्समा रोजगार वा व्यवसायको सिलसिलामा वसोवास गर्ने नेपाली नागरिकहरुलाई राजदूतावासबाट आवश्यक पर्न सक्ने राहदानी, ट्राभल डकुमेण्ट, विभिन्न प्रमाणपत्रहरु प्रमाणीकरण, एन.आर.एन. परिचयपत्र, अधिकृत वारेसनामा, शव नेपाल पठाउने प्रक्रिया, क्षतिपूर्ति वारेका जानकारीहरु राखिएको छ ।

दूतावासले बुधबार जारी गरेको बिज्ञप्तिमा त्यसका साथै विविध किसिमका कन्सुलर सेवाको लागि चाहिने कागजात र त्यस्तो सेवा प्राप्त गर्ने प्रकृया एवं नयां एवं पुराना महिला घरेलु कामदार र श्रमिक मागपत्र प्रमाणीकरणका लागि आवश्यक पर्ने कागजातको सूची र प्रक्रिया वारेका जानकारीहरु राखिको छ । त्यसैगरी त्यस्ता कामका लागि आवश्यक पार्ने दरखास्त फारामका नमूनाहरु र ती सेवाहरु प्राप्त गर्दा लाग्ने दस्तुर र सेवा प्रदान गर्ने समय सम्वन्धी जानकारीहरु राखिएको छ । सोको अलावा विदेशी नागरिकहरुले भीसा सम्वन्धी जानकारीहरु र दरखास्त फाराम समेत उक्त वेवसाइटबाट रहेको दूतावासले जनाएको छ ।

सर्वसाधारण नेपाली नागरिकहरुको हित र सूरक्षाको लागि महत्वपूर्ण सूचनाहरु र यू.ए.ई.मा ल्याउन निषेध गरिएका वस्तुहरु वारेको जानकारी पनि वेवसाइटमा राखिएको छ । साथै, वेवसाइटमा नेपाल यू.ए.ई. सम्वन्ध, नेपालको पर्यटन, व्यापार र लगानी सम्वन्धी जानकारीहरु पनि क्रमश प्रदान गर्दै लगिने पनि उल्लेख गरेको छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI