जर्मनी (म्युनिख), पुस ११ - नेपाली जनसंपर्क समिति जर्मनीको बायर्न शाखा र एनआरएन जर्मनी बायर्न शाखाले नेपालको तराई क्षेत्रमा सुरु भएको शितलहरबाट पीडितहरुको सहयोगार्थ सहयोग उठाउन सुरु गरेको छ ।
दुवै शाखा मिलेर हालसम्ममा एक लाख रुपैयाँ पठाएका छन । पीडितहरुलाई सहयोग स्वरुप नेपालमै लत्ता कपडा सङ्कलन गरिरहेको हेल्प नेपाल नेट्वर्कको नाममा पठाइएको उक्त रकमले शितलहर पीडितहरुका लागि कम्बल लगायत आवश्यक सामाग्री खरिद गरिने जनाइएको छ ।
म्युनिखबाट पठाइएको उक्त रकम मध्ये ७० हजार रुपैयाँ जनसंपर्क समितिले संस्थाको बचत कोष र आफ्न शुभ चिन्तकहरुबाट संकलन गरेको हो भने बाँकी ३० हजार एनआरएनको बायर्न शाखाले उपलब्ध गराएको हो ।
पत्रकार रबिन्द्र मिश्रले सामाजिक सन्जाल फेसबुक मार्फत सहयोगको अपिल गरेपछी जनसंपर्क समिति बायर्न र एनआरएन बायर्नले रकम संकलन गर्न सुरु गरेका थिए । बायर्न जनसम्पर्क समितिका अध्यक्ष गोबिन्द काफ्लेले आफुहरु राजनितिक दलसँग आवद्ध भएपनि नेपालीहरुको दु:खमा सहभागी भएर केही सहयोग गर्न पाउदा खुशी लागेको बताए । एनआरएन बायर्नका अध्यक्ष मोहन गुरुङले शितलहरले ४ दर्जन मानिसहरुको ज्यान गई सक्दा पनि राजनितिक दलहरु र स्वयं सरकार समेतले केही पहल नगर्नु लाजमर्दो भएको बताए ।
उनले भने हामी एनआरएनहरु नेपालीहरुको हरेक सुख दु:खमा सहभागी हुन चाहन्छौ । हेल्प नेपाल नेटवर्कले जनाए अनुसार प्राप्त रकमबाट कम्बल लगायतका सामाग्री खरीद गरिने छ । देश ब्यापी रुपमा अपिल गरिएपछी नेटवर्कले अहिले सम्म एउटा मिनीबस लत्ता कपडा जम्मा गरिसकेको छ । एनआरएन जर्मनीका महासचिव हरेन्द्र वनेमले आफुहरुले नेपालीहरुको दु:ख सुखमा सधैं साथ दिने बताए । उनले भने हामी सबै नेपालीहरु संसारको जुन सुकै कुनामा भए पनि आत्मा सधैं नेपालमा छ । वनेमका अनुसार एनआरएन जर्मनी नेपालमा रहेका हरेक सहयोग संस्था संग सहकार्य गरेर जान इच्छुक छ ।
Subscribe to:
Post Comments (Atom)
No comments
Post a Comment