Responsive Ad Slot

Latest

latest

साउदीले पुराना राहदानीलाई मान्यता दिने संकेत

Thursday, 1 December 2011

/ by Bikash Shah (Ghayal)
काठमाडौं, मङ्सिर १५- साउदी अरबले नेपाली कामदारलाई पुनः हस्तलिखित राहदानीमा भिसा दिने संकेत गरेको छ। साउदीको राजधानी रियादस्थित नेपाली दूतावासलाई बुधबार पत्र पठाउँदै 'निश्चित समयका लागि मात्र' हस्तलिखित राहदानीमा भिसा दिने साउदी सरकारले जनाउ दिएको हो।

'आउँदो साता सकारात्मक निर्णय दिन्छौं,' साउदीका लागि नेपाली राजदूत उदयराज पाण्डेले साउदी सरकारले पठाएको पत्रको आशय उद्धृत गर्दै फोनबाट नागरिकसँग भने, 'तर यो निश्चित समयका लागि मात्र हुनेछ।'

हस्तलिखित राहदानी लिई साउदी जाने नेपाललगायत विभिन्न देशका कामदारको राहदानी ठूलो संख्यामा फर्जी भेटिएपछि साउदीले कात्तिकको अन्तिम साता हस्तलिखित राहदानीमा भिसा नदिने घोषणा गरेको थियो। जुनुसुकै भिसामा आउन चाहनेलाई पनि अनिवार्य मेसिनले पढ्न सक्ने राहदानी (एमआरपी) मा मात्र भिसा दिने निर्णय साउदीले गरेको थियो।

५ लाखभन्दा बढी नेपाली कामदार रहेको साउदीमा हस्तलिखित राहदानीमा भिसा दिन बन्द गर्ने निर्णय गरेलगत्तै नेपाल सरकारले साउदी परराष्ट्र मन्त्रालयलाई पत्रमार्फत भिसा दिन आग्रह गरेको थियो। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले सन् २०१५ अप्रिल १५ सम्म हस्तलिखित राहदानीलाई मान्यता दिएको प्रसंग उल्लेख गर्दै सरकारले अवधिसम्मका लागि त्यस्ता राहदानीमा भिसा दिन साउदीसँग आग्रह गरेको थियो।

भिसा पुनः खुला गर्न आग्रह गरिएको पत्रको जवाफ नआएपछि राजदूत पाण्डे आफैं मंगलबार विदेश मन्त्रालय पुगेका थिए। विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले भिसा शाखाका कर्मचारी र नेपाल हेर्ने बंगलादेशस्थित साउदी दूतावाससँग आवश्यक छलफल गरी यससम्बन्धी शीघ्र जानकारी गराउने आश्वासन राजदूत पाण्डेलाई दिएका थिए।

भोलिपल्टै साउदी विदेश मन्त्रालयले पत्र पठाई हस्तलिखित राहदानीमा पुनः भिसा दिने सकारात्मक संकेत दिएको हो।

'बिहीबार र शुक्रबार यहाँ (साउदी) सार्वजनिक बिदा हुन्छ। उनीहरूले आउँदो साताको सुरुमै पोजेटिभ निर्णय आउँछ भनेका छन्, शनिबारसम्ममा जवाफ पाउने आशा छ,' राजदूत पाण्डेले भने, 'आइकाओको प्रावधानअनुसार उनीहरुले हस्तलिखित राहदानीमा भिसा २०१५ सम्मका लागि भने नदिने संकेत गरेका छन्।'

नेपालीलाई वैदेशिक रोजगारीका लागि आकर्षक राष्ट्रमध्ये एक साउदीले हस्तलिखित राहदानीमा भिसा दिन रोक लगाएपछि सयौं नेपाली यसबाट प्रभावित भएका थिए। वैदेशिक रोजगार व्यावसायी संघका अनुसार ७ हजार हस्तलिखित राहदानीबाहक नेपालीले साउदीलाई भिसा शुल्क तिरिसकेका छन्। ती राहदानी अहिले बंगलादेशस्थित साउदी दूतावासमा छन्। यस्तै ३ हजार हस्तलिखित राहदानी भिसाका लागि बंगलादेशस्थित साउदी दूतावास पठाउन तयारी अवस्थामा राखिएको छ।

भिसा शुल्क तिरिसकेका र तयारी अवस्थामा रहेका राहदानीका विषयमा बुधबार संघका पदाधिकारीले उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर जानकारी गराएका थिए। श्रेष्ठले संघका पदाधिकारीलाई भिसा खुलाउने प्रयास भइरहेको जानकारी दिएका थिए।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI