काठमाडौं, माघ ११- पश्चिम अफ्रिकी राष्ट्र नाइजेरियाको कानोमा सुरक्षाकर्मी तथा इस्लामिक अतिवादी समूह बोको हरमको गोली हानाहानमा स्याङ्जाका हरिप्रसाद भुसाल र बुटबलका राज सिंहले ज्यान गुमाएका छन्।
कार्यालयबाट घर फर्कंदै गर्दा भुसाल र सिंह चढेको कार कानोस्थित प्रहरी मुख्यालय नजिकै दोहोरो भिडन्तमा परेको नाइजेरियाको लागोस सहरमा रहेका हिक्मत थापाले नागरिकसँग टेलिफोनमा भने। थापा गैरआवासीय नेपाली संघ अफ्रिकाका संयोजक हुन्।
अतिवादी इस्लामिकले नाइजेरियाको दोस्रो ठूलो सहर कानोमा शुक्रबार गरेको श्रृंखलावद्ध बम विष्फोट तथा आक्रमणमा कम्तीमा १ सय ८५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन्।
भुसाल र सिंह दुवै कार्यालयबाट निवासतर्फ फर्कदै गरेको थापाले जानकारी दिए। दुवै रासायनिक पदार्थ बेच्ने एमएस रेल्चेम नामको कम्पनीमा बजार प्रतिनिधिका रूपमा काम गर्दै आएका थिए। उनीहरुसँगै कारका चालक भारतीय नागरिकको समेत मृत्यु भएको छ।
बोका हरमका लडाकुले शुक्रबार स्थानीय र सुरक्षाकर्मीमाथि लक्षित गर्दै बम र गोली प्रहार गरेका थिए। उक्त समूहले देशको उत्तरी क्षेत्रमा हिंसात्मक घटना गराउँदै आएको छ। नाइजेरियालाई इस्लामिक राष्ट्र बनाउन र इस्लामिक कानुन 'सरिया' लागू गराउन बोको हरमले हिंसात्मक गतिविधि गर्दै आएको छ।
२४१२६५९ पासपोर्ट नम्बर भएका स्याङ्जा वालिङ- १ का २५ वर्षीय भुसाल तीन वर्षअघि नाइजेरिया पुगेका थिए। त्यसैगरी ४१४६९१ पासपोर्ट नम्बरका बुटवल- १३ का सिंह २६ वर्षका सिंह भने करिब चार महिनाअघि रोजगारीका सिलसिलामा नाइजेरिया पुगेको थापाले बताए।
भुसाल र सिंहको शव ल्याउन प्रक्रिया सुरु गरिएको छ। 'शव परिवारसम्म पुर्याउने आवश्यक व्यवस्था मिलाउन हामीले कम्पनीका मालिकलाई आग्रह गरेका छौं,' थापाले भने, 'सकारात्मक जवाफ आएको छ।' त्यसका लागि दक्षिण अफ्रिकास्थित दूतावासमा आवश्यक कागजात पुगिसकेको उनले बताए। थापाले भुसाल तथा सिंहको नेपालस्थित परिवारसँग सम्पर्कमा रहेको बताएका छन्।
थापाले हिंसाग्रस्त उत्तरी सहर कानोमा करिब १५ नेपाली कार्यरत रहेको र सबै सुरक्षित रहेको बताएका छन्। कानोको आक्रमणपछि अफ्रिकाको सबैभन्दा बढी जनसंख्या भएको नाइजेरियामा पुनः गृहयुद्ध सुरु हुनसक्ने अनुमान गरिएको छ। तेल उत्पादक प्रमुख देशमध्ये एक नाइजेरियाको उत्तरी क्षेत्रमा मुसलमान र दक्षिण क्षेत्रमा इसाइ बसोबास गर्छन्।
Subscribe to:
Post Comments (Atom)
No comments
Post a Comment