भक्तपुर, पुस ११- पाँच वर्षदेखि अलपत्र अवस्थामा रहेको भक्तपुर अस्पतालको सुविधासम्पन्न नयाँभवन किड्नी विशेषज्ञ अस्पतालका रूपमा सञ्चालन हुने भनिए पनि सञ्चालनमा नआएपछि योजना अलपत्र परेको छ। मन्त्रिपरिषद्को बैठकले भक्तपुर अस्पतालका लागि बनेको नयाँ भवनलाई किड्नी अस्पतालका रूपमा सञ्चालन गर्ने निर्णय गरेपछि सो भवनको गत वर्ष पुस २३ गते तत्कालीन स्वास्थ्यमन्त्री उमाकान्त चौधरीले उद्घाटन गरेका थिए।
अस्पतालका प्रशासन प्रमुख कृष्णहरि गेलालले अस्पतालको साढे दुईतले नयाँ भवनमा तत्कालका लागि वीर अस्पतालका विशेषज्ञबाट मिर्गौलाको ओपिडी सेवा सञ्चालन गरी पछि विस्तार गर्दै लैजाने सहमति भए पनि अझै सेवा सुरु नहुँदा भवन अलपत्र परेको बताए।
भवन र मिर्गौला अस्पताल दुवै अलपत्र परेपछि भक्तपुर अस्पताल कै मातहतमा सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै पटक-पटक भक्तपुर अस्पतालको टोली स्वास्थ्य मन्त्रालय डेलिगेसन जाँदा पनि मन्त्रालयले आश्वासन मात्र दिने गरेको छ।
उद्घाटनकै दिन एकसाताभित्रै किड्नीको ओपिडी सेवा सञ्चालन गर्ने उद्घोष गरेका मिर्गौला अस्पताल अर्थात् अङ्ग प्रत्यारोपन उच्चस्तरीय समितिका अध्यक्ष एवम् वीर अस्पतालका मिर्गौला विशेषज्ञ डाक्टर विजय शर्माले अस्पताल उद्घाटन भएको एक वर्ष बितिसक्दा पनि अस्पताल सञ्चालनमा ल्याउन कुनै पहल नगरेपछि यो अस्पताल अलपत्र परेको हो।
मिर्गाैला अस्पताल सञ्चालनका लागि गत वर्ष दुई करोड रुपैयाँ बजेट आएको भए पनि सेवा सुरु नगरेपछि रकम फ्रिज भएको छ।
मिर्गौला उपचार केन्द्र खोल्न विसं २०६३ मा नेपाल सरकार एसियाली विकास बैंकको सहयोगमा रु नौ करोडको लागतमा सुविधासम्पन्न भवनमा निर्माण गरिएको थियो।
भक्तपुर अस्पतालको पुरानो भवन जीर्ण बनेर पानी चुहिएर बिरामी अन्यन्त्र सार्नुपर्ने अवस्था आएपछि खाली रहेको सो नयाँ भवनको केही कक्ष बिरामी राख्नका लागि मागे पनि स्वीकृति नदिएपछि अहिले भक्तपुर अस्पताललाई आफ्नै लागि बनेको नयाँ भवन हात्ती आयो हात्ती आयो फुस्सा भएको छ।
'भवन बनाउनका लागि बजेट माग गरेर धेरै धायौ, बजेट ल्याएर अस्पतालको भवन निर्माणमा धेरै मिहेनत गर्यौ अहिले आफैँलाई आपत पर्दा केही समयका लागि खाली भवनको केही कक्ष सञ्चालन गर्न माग गर्दा स्वीकृति पाइएन यो भवनको हामीलाई के अर्थ'- भक्तपुर अस्पतालका कर्मचारीले रोष प्रकट गरे।
भक्तपुर अस्पतालको शय्या विस्तार गर्ने स्वीकृतिका साथ नयाँभवन सञ्चालनमा ल्याएर अस्पताललाई १०० शय्या क्षमतामा विस्तार गर्न ओपिडी, अत्याधुनिक अपरेसन थिएटर, बैठक कक्ष, बिरामीका लागि भान्छा कक्ष, अपाङ्गका लागि सहज मार्गसमेतको निर्माण गरेको थियो।
सो भवनमा भक्तपुर अस्पतालले नै मिर्गौला केन्द्र सञ्चालनमा ल्याउन पहल सुरु गरी स्वास्थ्य सेवा विभाग र स्वास्थ्य मन्त्रालयमा पत्राचार गरेको दुई वर्षपछि मन्त्रिपरिषद्को बैठकले किड्नी अस्पताल सञ्चालन गर्ने निर्णय गरेको थियो। किड्नी अस्पतालमा भक्तपुर अस्पतालको स्वामित्व नरहने गरी अचानक मिर्गौला अस्पताल सञ्चालनमा नयाँ व्यवस्थापन समिति तोकिएपछि अहिले यो अस्पताल अलपत्र अवस्थामा पुगेको हो।
किड्नी अस्पताल सञ्चालन गरिने भएपछि किड्नीसम्बन्धी समस्या भएका बिरामीले भारतलगायत महँगा अस्पतालमा जानु नपर्ने, सरकारी अस्पतालमा सर्वसुलभ उपचार पाउनेमा स्थानीयवासी आशावादी थिए।
Subscribe to:
Post Comments (Atom)
No comments
Post a Comment