काठमाडौँ, मंसिर १९ - खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले देशभरका २०१ वटा विभिन्न कम्पनीको उत्पादन र बिक्री गुणस्तरीय नभएको भन्दै विभिन्न रूपमा कारबाही गरेको छ।
देशभरका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संलग्नतामा विभिन्न निकायसँग मिलेर यही भदौ १५ देखि मङ्सिर १५ सम्म ४१९ वटा स्थानमा १४१ पटक गरिएको अनुगमनका क्रममा ती कम्पनीहरुलाई कारबाही गरिएको हो।
चार सय १९ मध्ये अनुगमनका क्रममा ७९ स्थानका २४१ वटा उत्पादन नष्ट गरिएको थियो। त्यसैगरी २५ वटा कम्पनीका उत्पादित वस्तु सिल गरिएको थियो।
विभागका प्रवक्ता प्रमोद कोइरालाले अनुगमनका क्रममा ३७ वटा कम्पनीमा गुणस्तर कायम गर्न, २० वटा कम्पनी र पसलहरुलाई अनुज्ञापत्र र नवीकरणका लागि निर्देशन दिएको बताए।
विभिन्न ४ कम्पनीलाई भने उनीहरुको उत्पादनमा प्रत्यक्ष फोहर देखिएकाले बयान लिएको थियो भने २१ वटा कम्पनी र पसलहरुलाई मुद्दा दायर गरिएको छ त्यस्तै पाँचवटा कम्पनीको भने जिल्ला सरकारी वकिल कार्यालयमा मिसिल पठाएको थियो।
उनले निर्देशन, बयान, उत्पादन नष्टलगायतका कार्य पनि कारबाहीकै एउटा प्रक्रिया भएको बताउँदै कतिपय व्यापारीलाई सरकारी नियमको पूर्ण ज्ञान नभएकै कारणले पनि कतिपय गल्तीलाई विभागले सुधार्न निर्देशन दिने गरेको बताए।
उनले पुष्प डेरी फर्मा बालाजुलाई विभागले मुद्दा दायर गरेकोमा असोज १३ गते सो मुद्दामा अदालतले दोषी ठहर्याएपछि धरौटीमा सिलबन्दी फुकुवा गरेको छ भने अन्नपूर्ण मिष्ठान्न भण्डार गौशालालाई पनि असोज ६ गते अदालतले दोषी ठहर्याएर धरौटीमा नै सिलबन्दी फुकुवा गरेको जानकारी दिए।
त्यसैगरी सिआर इन्टरप्राइजेज कालीमाटीमा लेवलसम्बन्धी, अनमोल क्याटरिङ प्रालि भाटभटेनी गुणस्तरको कृष्ण गुदपाक भण्डार र सङ्गम स्वीट हाउसको आँखाले नदेखिने फोहर रहेको पाएको थियो भने त्यस्तै प्रकृतिका अन्य दशवटा कम्पनीलाई पनि बयान लिएर अबदेखि यसो नगर्नका लागि सचेत गराएको प्रवक्ता कोइरालाले जानकारी दिए।
विभागले कर्नर ताजा गुदपाक, कृष्ण गुदपाक भण्डार, विग बजार डिपार्टमेन्टल स्टोर, नवदुर्गा डिपार्टमेन्टल स्टोर र श्रेष्ठ सपिङ सेन्टरलाई भने गुणस्तरीय तथा उपभोक्ता हित संरक्षण नभएकोले मुद्दा दायर गरेको छ।
नेपाल सरकारको खाद्य तथा दाना वस्तुहरुमा निर्धारित न्यूनतम अनिवार्य गुणस्तर हुनुपर्ने तर नभएका उत्पादनहरुमा भने विभागले विभिन्न किसिमको कारबाही गर्नसक्ने प्रवक्ता कोइरालाले बताए।
विभागले काठमाडौँमा मात्र सो अवधिमा १२५ स्थानमा ७७ पटक अनुगमन गरेकोमा ९६ वटा कम्पनीलाई विभिन्न कारबाही गरेको छ।
सीमित स्रोत र साधन पर्याप्त कर्मचारीको अभावका कारण अनुगमनका क्रममा ल्याइएका नमुनाको गुणस्तरीय निरीक्षण गर्न समय लाग्ने गरेको भन्दै प्रवक्ता कोइरालाले कहिलेकाहीँ अत्यधिक धेरै वस्तु परीक्षणका लागि आउने गरेकाले पनि समयमा नै गुणस्तर परीक्षण गरेर परिणाम दिन विभाग असमर्थ भएको बताए।
उनका अनुसार परीक्षणका लागि ल्याइने वस्तुहरुको प्रकृति निक्कै जटिल हुने भएकाले पनि समय लाग्ने गरेको छ तर चाडवाडका समयमा गरिएका अनुगमनहरुको नमुना परीक्षण भने अलि कठिन हुने गरेको छ ।
हामीले चाडपर्व पछि पनि अनुगमनलाई निरन्तरता दिइरहेका छौँ तर चाडपर्वका बेला अन्य निकायसँग मिलेर अनुगमन गर्दाताका समाचारहरु आइरहेको तर अहिलेको अनुगमनमा सवैपक्षले खासै चासो नदेखाएकाले पनि अनुगमनको निरन्तरता नभएकोजस्तो मात्र देखिएको हो कोइरालाले प्रस्ट्याए।- रासस
ललितपुर बन्द
ललितपुर, १९ मङ्सिर। सुनचाँदी व्यवसायी हत्याको विरोधमा गरिएको बन्दका कारण ललितपुर जिल्ला प्रभावित भएको छ।
बन्दका कारण यातायातका साधनहरु चलेका छैनन् भने बिहान चल्ने क्याम्पसहरु सञ्चालन हुन सकेका छन्।
त्यस्तै, बजार फाट्टफुट्ट खुले पनि मुख्य चौकका पसल भने बन्द छन्।
नेपाल सुनचाँदी व्यवसायी सङ्घ र ललितपुर उद्योग वाणिज्य सङ्घको अगुवाइमा बन्द आयोजना गरिएको हो।
गत शुक्रबार राति सुन व्यवसायी जुजुकाजी बज्राचार्य अज्ञात समूहको आक्रमणबाट मृत्यु भएको थियो।
सोही विरोधमा अहिले मङ्गलबजारमा विरोध र्याली सुरु भएको छ।
नेपालमा भइरहेको अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितालाई दृष्टिगत गर्दै दिउँसोसम्म बन्द फिर्ता हुनसक्ने र सोहीबारेमा अहिले सरकारी निकायसँग अनौपचारिक छलफल भइरहेको नेपाल सुनचाँदी सङ्घ ललितपुरका अध्यक्ष रुपकुमार शाक्यले बताउनुभयो। रासस
Subscribe to:
Post Comments (Atom)
No comments
Post a Comment