Responsive Ad Slot

Latest

latest

चिनियाँ सामानको मूल्य ३० प्रतिशतले वृद्धि

Tuesday, 20 December 2011

/ by Bikash Shah (Ghayal)

चौतारा, पुस ६ - अमेरिकी डलर र चिनियाँ मुद्रा (युआन) को लगातार भएको अधिमूल्यनले तातोपानी नाकाबाट आयात हुने व्यापारिक सामानको मूल्य चार महिनादेखि लगातार वृद्धि हुँदै आएको छ । डलर र युआनको तुलनामा नेपाली रुपैयाँ कमजोर हुँदै गएकाले बजारमा पाइने सामानको मूल्य दिनैपिच्छे फरक पर्न थालेको छ ।

तातोपानी भन्सारबाट डलरमा कारोबार हुने भएकाले विनिमय दरका कारण एउटै वस्तुको भन्सार मूल्यांकन दिनैपिच्छे फरक पर्न थालेको छ । डलर र युआनको मूल्य क्रमशः १५ र २० प्रतिशत वृद्धि भएको छ । डलरको तुलनामा युआनको वृद्धि दर बढी छ,' भन्सार प्रमुख निर्मलहरि अधिकारीले भने, 'नेपाली रुपैयाँको क्रयशक्ति कमजोर हुँदै गएकाले चिनियाँ सामानको मूल्यमा दैनिक फेरबदल आएको छ । डलर र युआनमा एकै पटक अधिमूल्यन भएकाले आयातकर्ताको दैनिक लगानीमा अप्रत्याशित वृद्धि भएको उनले बताए ।

विशेषगरी जाडो मौसमका लागि झिकाइएका ज्याकेट, स्विटर, पाइन्ट, जुत्ता, इलेक्टि्रक हिटर, चप्पल, ब्लांकेट, सिरक, जस्ता सामानको खरिद मूल्यमा २५ देखि ३० प्रतिशत वृद्धि भएको छ । 'दसैंको बेलासँग तुलना गर्दा एउटा कन्टेनरको ५० देखि ६० हजार रुपैयाँ भन्सार बढी तिर्नुपर्छ,' व्यापारी नविन थापाले भने, 'तीन महिनामा एउटा ज्याकेटको मूल्यमा ५ सय वृद्धि भएको छ ।' बजारमा मध्यम गुणस्तरको ज्याकेट कम्तीमा ३ हजार पर्ने उनले बताए । उनले भने, यसबाट उपभोक्त छोटो समयमै एउटै सामानको मूल्य निकै बढी तिर्न बाध्य छन् ।

डलरको भाउ ८५ रुपैयाँ र युआनको १३ रुपैयाँ ६० पैसा पुगेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष बुद्धराज बस्नेतले बताए । भन्सार प्रमुख अधिकारीका अनुसार हाल चीनमा कच्चा पदार्थको मूल्य वृद्धि भएको छ । 'यसले उत्पादन लागत बढाएको छ,' उनले भने, 'यसबाट वस्तुको मूल्य बढ्नु स्वाभाविक हुन्छ ।' तातोपानी नाकाबाट दैनिक ५० देखि ६० मालवाहाक कन्टेनर चिनियाँ सामान बोकेर राजधानी भित्रने गर्छन् । गत आर्थिक वर्षमा यो नाकाबाट १० अर्ब ३२ करोडको सामान आयात भएको थियो । चालू वर्षको ४ महिनामा ४ अर्ब १४ करोडको आयात तथा १८ करोड २१ लाखको निर्यात गरेको छ । भन्सारले यो अवधिमा लक्ष्यभन्दा ३३ करोड बढी राजस्व संकलन गरेको छ । यस अवधिमा ९४ करोड ९ लाखको अनुमान रहेकामा १ अर्ब २७ करोड ४६ लाख संकलन गरिसकेको छ । भन्सारका अनुसार दैनिक सरदर १ करोड ७ लाखका दरले राजस्व संकलन गरेको छ ।

चीनबाट नेपालीले आयात गरेको सामान तातोपानी भन्सारमा जाँच गरिँदै । जाडो मौसमका सामानको आयात वृद्धि भएकाले राजस्व वृद्धिमा पनि सहयोग पुगेको छ ।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI