Responsive Ad Slot

Latest

latest

दाहाल, पौडेल र खनाल अनुपस्थित भएपछि संवैधानिक समितिको बैठक स्थगित

Saturday, 24 December 2011

/ by Bikash Shah (Ghayal)
काठमाडौं, पुस १० - प्रमुख तीन दलका शीर्ष नेता नै अनुपस्थित भएपछि संवैधानिक समितिको आइतबारको बैठक एक सातासम्मका लागि स्थगित भएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल र एमाले अध्यक्ष झलनाथ खनाल अनुपस्थित भएपछि बैठक स्थगित भएको समिति सभापति निलाम्बर आचार्यले जानकारी दिए । दाहाल पार्टीको बैठक तयारीमा, पौडेल आमाको किरियामा चितवनमा र खनाल पार्टी सुदृढीकरण अभियानका लागि धरान गएपछि बैठक अघि बढ्न नसकेको हो ।

समिति अन्तर्गतको विवाद समाधान उपसमितिमा सहमति भएका विषयमा फेरि असहमति भएपछि बैठक पुस १६ गतेसम्मका लागि स्थगित भएको सभापति आचार्यले बताए । 'सहमति भएका केही विषयमा सदस्यहरुले असन्तुष्टि राख्नुभएको छ,' उनले भने, 'दलभित्र छलफलका लागि बीचको समय छुट्याइएको हो ।'

दाहाल अध्यक्ष रहेको उपसमितिले संविधानको प्रस्तावनामा 'जनयुद्ध'को साटो 'सशस्त्र संघर्ष' राख्ने, १८ वर्ष उमेर पुगेकालाई मताधिकार दिने, जग्गा र सम्पत्तिमा हदबन्दी नतोक्ने, १८ वर्ष उमेर पुगेका नागरिकलाई अनिवार्य सैन्य तालिम उल्लेख नगर्ने विषयमा सहमति गरेको थियो । तर माओवादीकै प्रमुख सचेतक देव गुरुङले ती विषयमा आपत्ति जनाएपछि अन्तिम निर्णयमा समस्या भएको हो । उपसमितिमा सहमति भएका विषयलाई पुनः छलफल गरी संवैधानिक समितिले अनुमोदन गर्दछ ।

उपसमितिको बैठक पनि १३ गतेसम्मका लागि स्थगित गरिएपछि आन्तरिक सहमतिका लागि केही दिन बैठक स्थगित गरिएको समिति सदस्य एवं भौतिक योजना तथा निर्माण मन्त्री हृदयेष त्रिपाठीले जानकारी दिए । 'कतिपय विषयमा सहमति गरिसकिएको थियो, सहमतिमै भाग लिएका दलभित्र पनि फरक विचार देखिए,' उनले भने, 'फेरि पार्टीभित्रै घनिभूत छलफल गरी सहमति गर्नुपर्ने अवस्था आयो ।'

दलका शीर्ष नेताहरु अनुपस्थित रहने र उनीहरुले आफ्नो पार्टीभित्र सहमति गर्न नसकेपछि बैठक कुनै निर्णयमा पुग्न नसकेको एमाले नेता सुरेन्द्र पाण्डेले बताए । 'उपसमितिमा सहमति भएका विषयमा असहमति देखियो, शीर्ष नेताहरु पनि अनुपस्थित रहनुभयो,' उनले भने ।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI