हङकङ, पुस ११ -उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार आइतबार राति चीनको राजधानी बेइजिङ पुगेका छन्। अघिल्लो साता स्थगित भएको चिनियाँ प्रधानमन्त्री वेन जियाबाओको नेपाल भ्रमणको तयारीका क्रममा बेइजिङ आएका गच्छदारले सोमबार दिनभर आफ्ना समकक्षीसँग भेटवार्ता गर्नेछन्।
रक्षा मन्त्रालयसमेत हेरिरहेका गच्छदार चीनका सार्वजनिक सुरक्षामन्त्री मेङ जियान्चुको निमन्त्रणामा दक्षिणपूर्वी चीनको कुन्मिङ हुँदै सिधै बेइजिङ पुगेका हुन्। सोमबार बिहान गच्छदारले जियान्चु र दिउँसो रक्षामन्त्री लियङ गुङलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बेइजिङस्थित नेपाली दूतावास स्रोतले जनाएको छ। सार्वजनिक सुरक्षामन्त्री जियान्चु तिब्बत मामिला हेर्ने चीन सरकारको विशेष समूहका उपप्रमुख पनि हुन्।
स्रोतका अनुसार सोमबार दिउँसो मन्त्री गच्छदारले चिनिया प्रधानमन्त्री वेन जियाबाओसँग भेटवार्ता गरी नेपालमा चीनको सुरक्षा चासो र उनको नेपाल भ्रमण कार्यक्रमबारे छलफल गर्नेछन्। तर औपचारिक कार्यक्रम सूचीमा प्रधानमन्त्रीसँगको भेटवार्ता समावेश छैन। 'गृह र रक्षामन्त्री आउँदा द्विपक्षीय सुरक्षा चासोका विषयमा छलफल हुनु स्वभाविक हो,' बेइजिङस्थित कार्यबाहक राजदूत नारायणदेव पन्तले भने, 'तर प्रधानमन्त्रीसँग भेट हुने/नहुने प्रस्ट जानकारी छैन।'
पुस पहिलो साता हुने भनिएको चिनियाँ प्रधानमन्त्री जियाबाओको नेपाल भ्रमण कार्यक्रम सुरक्षा व्यवस्थापन कमजोरीले अन्तिम समयमा सरेको भन्दै गृहमन्त्री गच्छदारको आलोचना भइरहेको छ। काठमाडौंमा चिनिया राजदूतलाई लामो समय भेट नदिएको र चीन भ्रमणको आग्रह अस्वीकार गरी प्रधानमन्त्री जियाबाओको भ्रमणलाई प्रभावित पारेको आरोप मन्त्री गच्छदारमाथि लागेको छ।
चिनियाँ पक्षले 'चीनको आन्तरिक कारणले भ्रमण सरेको' जानकारी नेपाल सरकारलाई दिए पनि जियाबाओको भ्रमणबारे औपचारिक रूपमा केही बताएको छैन। उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले एक महिनाअघि बेइजिङमा प्रधानमन्त्री जियाबाओ, परराष्ट्रमन्त्री याङ जेइची र वाणिज्यमन्त्री चेन डेमिङसँग भेटवार्ता गरी भ्रमणका एजेन्डाबारे छलफल गरेका थिए।
मन्त्री गच्छदारको छ सदस्यीय भ्रमण टोलीमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्रकुमार श्रेष्ठ, गृहमन्त्रालयका सुरक्षा महाशाखा प्रमुख शंकर कोइराला, नेपाली सेनाका उपरथी नरबहादुर कँडेल, प्रहरी अतिरिक्त महानिरीक्षक भीष्म प्रसाईंसहित गृह र परराष्ट्र मन्त्रालयका अधिकारी छन्।
Subscribe to:
Post Comments (Atom)
No comments
Post a Comment