दोलखा मङ्सिर २९ - नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्व प्रधान मन्त्री माधव कुमार नेपालले शान्ति प्रकृया प्रधान मन्त्री बाबुराम भट्टराईको टेबलमा थन्किएको बताएका छन्। नेकपा एमाले दोलखाले चरिकोटमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भट्टराईकै कारण शान्ति प्रक्रिया अघि बढ्न नसकेको आरोप लगाए।
"सुरुमा निकै उत्साजनक रुपमा यो प्रक्रिया अघि बढेको थियो, तर अहिले प्रधानमन्त्रीको आफ्नै कारणले टेबुलमा थन्किएर बसेको छ," नेपालले भने। कहिले आफ्नै पार्टी भित्रको विवाद त कहिले शिविर खाली गराउने बाहनामा अल्झिएका प्रधानमन्त्री बाबुराम भट्टराइकै कारण शान्ति प्रकृयाका सबै विषयहरु थन्किएको आरोप पनि उनले लगाए।
उनले पार्टी भित्रको समस्यालाई बाहानाबाजी गरेर शान्ति प्रक्रिया अवरोध र मुलुकलाई गतिहीन नबनाउन प्रधानमन्त्री भट्टराईलाई आग्रह गरे। मङ्सिर महिनासम्म सबै प्रकृयाहरु टुङ्गोमा पुर्याउने भनिए पनि त्यो हुन नसकेको बताउँदै नेपालले भने, 'पुस २ गते हुने विशेष समितिको बैठक शान्ति प्रकृयाका लागि निर्णायक हुनुपर्छ।' उनले शान्ति प्रक्रिया टुङगिए अहिलेको सरकारले पनि जस पाउने बताउँदै त्यसलाई चाडो भन्दा चाडो टुङ्ग्याउन आग्रह गरे।
उनी दोलखाको लामावगर गाविसमा स्वदेशी लगानीमा निर्माण हुदै गरेको बहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको भ्रमणमा आएका हुन्। उनकै पालाको सरकारले आयोजनामा ११ अर्ब लगानी गर्ने निर्णय गरेको थियो। प्रधान मन्त्री भएका बेलामा उनकै हातबाट आयोजना शिलन्यास गराउने योजना भए पनि माओवादीको अवरोधले झलनाथ खनाल प्रधानमन्त्री भएका बेला शिलन्यास भएको थियो। तामाकोशीको भ्रमण सकेर नेपाल चरिकोटमा हुने पहिलो प्रतिनिधि परिषद्को बैठकमा सहभागी हुने कार्यक्रम रहेको दोलखा एमालेले जनाएको छ।
Subscribe to:
Post Comments (Atom)
No comments
Post a Comment