Responsive Ad Slot

Latest

latest

अवैध हतियारसमेत राख्थे रञ्जन

Monday, 30 January 2012

/ by Bikash Shah (Ghayal)
Murder DIG
काठमाडौ, माघ १७ - सशस्त्र प्रहरीका डीआईजी रञ्जन कोइरालाले राज्यबाट सुरक्षाका लागि पाउने हतियार हुँदाहुँदै गैरकानुनी हतियार र थुप्रै गोलीहरू राख्ने गरेको पाइएको छ । श्रीमती गीता ढकालको हत्या अभियोगमा पक्राउ परेका ४५ वर्षीय कोइरालाको घरबाट प्रहरीले गैरकानुनी पेस्तोल र ठूलो मात्रामा गोली बरामद गरेको थियो ।

इचंगुनारायणस्थित उनको घरमा खानतलासी गर्दा म्यागजिन नभएको म्यानेम हतियार, काठको बिँड भएको कटुवा पेस्तोल र विभिन्न हतियारमा प्रयोग हुने १ सय ३२ राउन्ड गोली बरामद गरेको हो । उनले आवश्यकताअनुसार सशस्त्र मुख्यालयबाटै सुरक्षाका लागि व्यक्तिगत प्रयोग गर्ने गरी हतियार पाउँछन् ।

काठमाडौं प्रहरी प्रमुख एसपी राजेन्द्र श्रेष्ठले श्रीमती हत्याका साथै उनीविरुद्ध हातहतियार खरखजाना मुद्दासमेत चलाइने जनाए । प्रहरीले पक्राउको एक सातापछि सोमबार पत्रकार सम्मेलन गर्दै कोइरालाले नियोजित रूपमै श्रीमती हत्या गरेको जनाएको हो । सशस्त्र मुख्यालय स्रोतका अनुसार एकवर्षे तालिमका लागि चीन गएका कोइरालाले आफू बिदामा आएको औपचारिक जानकारी पनि गराएका थिएनन् । गुपचुप रूपमा आएर हत्या गरी फर्किने योजना बनाएकाले जानकारी नगराएको हुन सक्ने प्रहरीको अनुमान छ ।

एसपी श्रेष्ठले कोइरालाको बयानभन्दा पनि प्रमाण महत्त्वपूर्ण हुने बताउँदै उनले नियोजित रूपमा हत्या गरेको धेरै सबुत जुटेको बताए । 'बयानमा जे भने पनि नियोजित रूपमा हत्या गरेको हो भन्ने अकाट्य प्रमाण हामीसँग छ,' उनले भने । कोइरालाले आइतबार सरकारी वकिलको कार्यालयमा हत्यालाई भवितव्य बनाउने खालको बयान दिएका थिए ।

उनले श्रीमतीले बोलाएकाले आफू त्यहाँ गएको र गीताले व्यापार गर्न भन्दै ४/५ लाख रुपैयाँ मागेको दाबी गरेका छन् । 'त्यति पैसा आफूसँग छैन भन्दै बाहिर निस्कन खोज्दा दुई जनाबीच विवाद भएर हात हालाहाल भएको हो,' उनको दाबी छ, 'श्रीमती कोठाको भित्तामा ठोकिन पुगी लड्दा मृत्यु भएको

हो ।' त्यसपछि आफूले प्रयोग गर्ने सरकारी गाडी बोलाएर शवलाई गाडीमा राखी टिस्टुङ पुर्‍याएर आगो लगाएको चाहिँ उनले स्विकारेका छन् ।

'बयानमा आफूलाई निर्दोष सावित गर्न खोजे पनि त्यो सम्भव छैन,' एसपी श्रेष्ठले भने, 'उसले घटनापछि प्रमाण लुकाउन गरेको प्रयास र अन्य धेरै आधारले हत्या नियोजित भएको पुष्टि गर्छ ।' प्रहरीका अनुसार उनले गीता बेपत्ता भएको दिन बिहान चपलीस्थित घरबाट कान्छो छोरालाई लैजानुअघि नै स्वयम्भूका देवेन्द्र पोखरेल र कालिमाटी टंकेश्वरका प्रदिप अधिकारीको पसलबाट तीनवटा पेट्रोल राख्ने ग्यालिन किनेका थिए । यसबाट पनि उनी बिहानैदेखि हत्या गर्ने योजनामा रहेको पुष्टि हुने प्रहरीको भनाइ छ ।

डीआईजी कोइरालासँग निकट सम्बन्ध रहेको भनिएकी तारा रेग्मीको भने हत्यामा कुनै संलग्नता नदेखिएको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी प्रमुख एसपी श्रेष्ठले पत्रकार सम्मेलनमा उनको संलग्नता नदेखिएको बताएका हुन् ।

'अहिलेसम्मको अनुसन्धानबाट घटनामा रेग्मीको संलग्नता देखिएको छैन,' उनले भने, 'तर उनलाई सोधपुछका लागि खोजिरहेका छौं ।' घटनाअघि र पछिका विभिन्न समयमा कोइराला र रेग्मीबीच फोन सम्पर्क भने हुँदै आएको थियो । रेग्मीलाई ढकाल हत्याको मुद्दामा प्रतिवादी बनाउने आधार भने नभेटिएको प्रहरीले जनाएको छ ।

माघ ७ गते टिस्टुङका स्थानीयवासीले डीआईजी कोइरालालाई नियन्त्रणमा लिएर छाडेपछिको रात उनले आफ्ना दाजुलाई फोन गरेर बहकिँदै कुरा गरेका थिए । एसपी श्रेष्ठका अनुसार कोइरालाका दाजुले त्यो राति फोन गरेर 'रञ्जनले फोन गरेको थियो, बहकिएर बोल्यो, कतै डि्रङस गरेर गाडी कुदाइरहेजस्तो छ, नियन्त्रणमा लिइदेऊ' भनेका थिए ।

त्यसपछि आफूले कन्ट्रोल (१००) लाई फोन गरेर उनी चढेर गएको बा८च ५४०८ नम्बरको गाडी जहाँ भेटे पनि रोकेर खबर गर्न लगाएको श्रेष्ठले बताए । कोइराला घरबाट निस्किएपछि उनका बडिगार्ड र चालकसहित सशस्त्रको सरकारी नम्बरप्लेट भएको गाडी लिएर रेग्मी खोज्न हिँडेकी थिइन् ।

चितवनमा कोइरालालाई भेटेपछि उनीहरू फरक/फरक गाडीमा काठमाडौं फर्किएका थिए । त्यही क्रममा कोइराला नागढुंगामा समातिँदा रेग्मी भने अगाडि आइसकेकी थिइन् । अहिले रेग्मीले प्रयोग गर्ने मोबाइल अफ छ । उनी कोइराला पक्राउ परेकै दिन मलेसिया पुगेको स्रोतले जनाएको छ ।

अन्तिम संस्कार हुन सकेन नचिनिने अवस्थामा फेला परेको शवसँगै भेटिएको घडी, झुम्का र टपबाट शव गीताकै भएको देखिए पनि डीएनए परीक्षणका क्रममा रहेकाले अन्तिम संस्कार भने गरिएको छैन । डीएनए परीक्षणअघि शव जलाउन नमिल्ने भएकाले त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । गीताकी आमा हरिपि्रया ढकालले शवसँग भेटिएको घडी आफूले सिंगापुरबाट ल्याएर उपहार दिइएको बताएकी छन् ।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI