Responsive Ad Slot

Latest

latest

आजदेखि बढ्‌यो दूधको भाउ

Monday, 30 January 2012

/ by Bikash Shah (Ghayal)
काठमाडौं, माघ १७ (नागरिक) - दुग्ध विकास संस्थानले मंगलबारदेखि दूधको भाउ बढाउने निर्णय गरेको छ। संस्थानले प्रशोधित दूध प्रति प्याकेट २ देखि ३ रुपैयाँ बढाउने निर्णय गरेको छ। दूधको भाउ वृद्धिले सर्वसाधारण उपभोक्ताको खर्च र बजार मूल्य बढाउने भएको छ।
संस्थानका महाप्रबन्धक सियारामप्रसाद सिंहका अनुसार मंगलबारदेखि निलो प्याकेटमा हुने स्टेन्डर्ड दूधलाई उपभोक्ताले २४ र हरियो प्याकेटमा हुने होलमिल्कलाई २८ रुपैयाँ तिर्नुपर्नेछ। 'हामीसँग मूल्य बढाउनुको विकल्प थिएन, युवा पुस्तालाई दूध उत्पादनमा लगाउनका लागि मूल्य बढाइएको हो,' महाप्रबन्धक सिंहले भने।

संस्थानले किसानसँग किन्ने दूधको मूल्य प्रति लिटर २ रुपैयाँ ६० पैसादेखि ५ रुपैयाँसम्म बढाउने भएको छ। दूधमा हुने चिल्लोपना र अन्य तत्वअनुसार किसानले बढेको मूल्य पाउने छन्।

सरकारी स्वामित्वको एकमात्र डेरी दुग्ध विकास संस्थानले अहिले पनि भारतबाट दैनिक ३५ देखि ४० हजार लिटर कच्चा दूध आयात गरिरहेको छ। देशका विभिन्न जिल्लाबाट संस्थानले अहिले दैनिक २ लाख ५० हजार लिटर दूध संकलन गरिरहेको छ।

'पटनाबाट महँगोमा किन्नुको साटो यहीका किसानलाई राहत दिन मूल्य बढाइएको हो,' उनले भने। बढेको मूल्यअनुसार किसानले भने लिटरको ३२ देखि ३५ रुपैयाँ पाउनेछन्। संस्थानले विराटनगर र हेटौंडा दुग्ध वितरण आयोजनाअन्तर्गत पनि मूल्य बढाउने निर्णय गरेको छ। 'लामो समयको गृहकार्य पछि मूल्य बढाउने निर्णयमा बोर्ड पुगेको हो,' उनले भने।

दूधको मूल्यवृद्धिसँगै संस्थानले आफ्ना अन्य उत्पादनको पनि मूल्य बढाउने तयारी गरेको छ। अहिले निर्णय नभए पनि संथानले दूधबाट उत्पादन हुने दही, पनिर, खुवा, लालमोहनलगायत सबै चिजको मूल्य बढाउने भएको छ।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI