भक्तपुर, माघ १७ - प्रधान मन्त्री बाबुराम भट्टराईले सूचनालाई बन्देज लागउने सरकारको तयारीविरुद्ध आन्दोलनरत पत्रकार र इन्धन मूल्य वृद्धिको विरुद्ध आन्दोलनरत युवाहरुलाई संयमित हुन र वार्ताबाट समाधान खोज्न आह्वान गरेका छन्।
२०४८ डुक ल्होसारको अवसरमा नाल्दुम पर्यटन विकास समितिले आयोजना गरेको महोत्त्सवमा बोल्दै प्रधान मन्त्री भट्टराईले सूचनाको हकमा अंकुश लगाउन नखोजिएको दावी गरे। कार्यक्रममा पत्रकारहरु कालो पट्टी बाँधेर उपस्थित भएपछि उनले आफ्नो मन्तव्य अवधिभर नै पत्रकार र युवा नेताहरुलाई संवोधन गरे। कार्यक्रममा पुगेका भट्टराईलाई अनेरास्वियुका कार्यकर्ताले कालो झण्डा देखाएका थिए।
भट्टराईले सूचनाको वर्गीकरणमा प्रधान मन्त्री तथा मन्त्रीहरुको संलग्नता नरहेको बताउँदै सूचनाको हक सम्वन्धि ऐनकै आधारमा सचिवहरुको संलग्नतामा यस्तो प्रावधान ल्याउन लागेको बताए। यसबाट पत्रकार तर्सन नपर्ने उनको तर्क थियो।
मुलुकको सुरक्षा र गोपनियताका आधारमा सरकारका सचिवहरुले तयार गरेको भन्दै उनले असहमति भए वार्तामा आउन पत्रकारहरुलाई आग्रह गरे।
आन्दोलनरत युवाहरुलाई सम्वोधन गर्दै उनले मूल्यवृद्धिको विरोध गर्नु जायज नभएको बताए। 'विदेशमा महँगोम किनेर हामीले सस्तोमा दिन सक्दैनौ। उता जति मूल्य हो यहाँ त्यतिमा दिने हो,' उनले भने, 'एक दुई हप्तामा सहुलियत कार्ड दिनेछौं।'
'अनुदान दिने अर्बौ जलविद्युतमा लगानी गर्न पाए उर्जा समस्या सकिन्थ्यो,' उनले भने।
राज्य पुनर्संरचनाको विषयमा दलबीच सैद्धान्तिक सहमति भइसकेको बताउँदै उनले शान्ति प्रकृया अगाडि बढिरहेको दावी गरे। 'लडाकुलाई आजदेखि विदाई सुरु भइसक्यो,' उनले भने।
Subscribe to:
Post Comments (Atom)
No comments
Post a Comment