Responsive Ad Slot

Latest

latest

विश्वकै महँगो जडिबुटी 'हिमालयन भियग्रा' उत्पादन घट्यो : अनुसन्धान

Wednesday, 1 February 2012

/ by Bikash Shah (Ghayal)


काठमाडौँ, माघ १९ हिमालयन भियग्रा भनेर चिनिने संसार कै सबैभन्दा महंगो जडिवुटी यार्सागुम्वा यसको प्राकृतिक वासस्थानबाट वर्षेनी घट्दै गइरहेको एक वैज्ञानिक अनुसन्धानबाट पत्ता लागेको छ।
विश्व कै सबैभन्दा अग्रणी वैज्ञानिक जर्नल ‘नेचर' मा प्रकाशित नेपाली सोधकर्ता उत्तमबाबु श्रेष्ठको एक अनुसन्धान लेखमा उक्त कुरा पत्ता लागेको जनाइएको छ।

बेलायतबाट साप्ताहिक रुपमा प्रकाशित हुने 'नेचर' वैज्ञानिक जगतको लागि सबैभन्दा प्रतिष्ठित जर्नल मानिन्छ। फेव्रुवरी २, बिहीबार प्रकाशित उक्त लेखका अनुसार डोल्पामा सन् २००६ मा प्रतिव्यक्ति प्रति सिजन सरदर यार्सागुम्बा संकलन २६७ गोटा हुन्थ्यो भने सन् २०१० मा उक्त संख्या घटेर १२५ गोटामा सिमित हुन पुगेको छ।

युनिभर्सिटी अफ् म्यासेचुसेट्स अमेरिकाका पीएचडी सोधकर्ता तथा हार्वड विश्वविद्यालयका अनुसन्धान सहायक श्रेष्ठले भने ‘विगत पाँच वर्षको प्रतिव्यक्ति संकलनको अवस्था हेर्दा प्रति संकलनकर्ताले प्रतिवर्ष ३२ गोटाले कम यार्सागुम्बा पाइरहेका छन्।'

यसले गर्दा एकजना संकलनकर्ताको आम्दानी विगत पाँच वर्षमा वार्षिक ६ देखि ९ हजारसम्म कम भएको छ श्रेष्ठ भन्छन्।डोल्पा लगायतका हिमाली जिल्लाका वासिन्दाहरुको नगद आम्दानीको करिब ७० प्रतिशत जति हिस्सा यार्सागुम्वा संकलनबाट प्राप्त हुने भएकोले उनीहरुको आम्दानी घट्दा जीवन यापन झनै कठिन हुनसक्छ।

विगत केही वर्षयता यार्सागुम्बा कम पाइन थालेकोले संकलनकर्ताहरु धेरै समयसम्म पाटनमा बिताउन बाध्य भएका छन् जसको कारण उच्च हिमाली भेगको संवेदनशिल मानिने पर्यावरणमा झनै असर पुगिरहेको कुरा उक्त लेखमा औंल्याइएको छ।

यार्सागुम्वालाई हाल विश्व कै सवैभन्दा महंगो जडिवुटी मानिन्छ जसको मुल्य अर्न्तराष्ट्रिय बजारमा अहिले करिब ६० हजार अमेरिकी डलर (४८ लाख नेपाली रुपैया) प्रतिकेजी पर्दछ लेखमा भनिएको छ। लेखका अनुसार विश्व बजारमा गएको एक दसकमा यसको मुल्यमा ९०० प्रतिशतसम्मले वृद्वि भएको छ। विश्वमा यार्सागुम्वाको वार्षिक व्यापार करिब ५ देखि ११ अरब डलरसम्म रहेको अनुमान गरिन्छ। नेपालको उच्च हिमाली भेगमा पाइने उक्त जडिवुटी नेपाल बाहेक भुटान र भारतका हिमाली भेगको साथै तिब्वतमा मात्रै पाइन्छ।

यार्सागुम्वा घट्नुको कारणहरु उक्त लेखमा नखुलाइएतापनि श्रेष्ठले भने ‘कारण धेरै हुनसक्छन् अत्याधिक संकलन, समय अगावै गरिने संकलन, अधिक चरिचरन, यार्सागुम्वाको लागि चाहिने एक विशेष प्रजातिको पुतलीको कमी वा जलवायु र भुउपयोगमा आएको परिवर्तनको असर।' तर अनुसन्धान अझै जारी रहेकोले यहि नै मुख्य कारण हो भन्ने ठोकुवा गर्न सकिने अवस्था अहिले नै छैन उनले थपे।

विगत केहि वर्षयता संकलनकर्ताहरुको संख्यामा वृद्वि भएकोले पनि प्रतिव्यक्ति संकलनमा कमि भएको हुन पनि सक्छ। तर श्रेष्ठको अनुसार, प्रतिव्यक्ति मात्र होइन गएको केहि वर्षयता समग्र संकलन परिमाणमा नै कमि आइरहेको छ। भुटान, तिब्वतमा गरिएका केहि सिमित अनुसन्धानहरुले त्यहाँ पनि यार्सागुम्वा कम पाइन थालेको देखाएका छन्। यार्सागुम्वा कम पाइनुका कारणहरु जे भएतापनि यसको घट्दो संकलनले स्थानिय वासिन्दाहरुको भरपर्दो आर्थिक श्रोत नै मासिने खतरा मात्रै होइन जैविक विविधतामा पनि असर परेको कुरा उक्त लेखमा जनाइएको छ। श्रेष्ठले वेलायतको रुफोर्ड फाउण्डेसनको आर्थिक सहयोगमा गत वर्षदेखि डोल्पामा यार्सागुम्वाको विस्तृत अनुसन्धान गरिरहेका छन्।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI