
विराटनगर, माघ १४ - उपप्रधानमन्त्री तथा गृहमन्त्री विजय गच्छदारले कांग्रेस-एमालेसहितको संयुक्त सरकार गठन हुने दाबी गरेका छन् ।
उनले कांग्रेस-एमालेलाई वर्तमान सरकारमा आउनुको विकल्प नभएकोसमेत बताए । 'सरकारमा नगए कांग्रेस र एमाले जंगल जादैनन् होला ?' झापाको दमकमा हुने कार्यक्रममा सहभागी हुन आएका गच्छदारले शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग भने ।
मधेसी मोर्चाले नै तीनतिर मुख फर्खाएर बसेका पार्टीलाई एक ठाउँमा ल्याएर शान्ति प्रक्रिया टुंगोमा पुर्याउन भूमिका निर्वाह गरिरहेको उनले बताए । माओवादीले भूमिगत कालमा गरेका घर जग्गा सम्बन्धी निर्णयलाई मान्यता दिन मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयन नहुने उनले बताए ।
संघीयतासहितको संविधान मधेसी मोर्चालाई मान्य हुने र त्यही अनुरूपको संविधान बन्नेमा आफू ढुक्क रहेको उनले बताए ।
गच्छदारले अवकाशमा जान चाहने माओवादी लडाकुहरू सोमबारदेखि शिविरबाट बाहिर निस्कने बताएका छन् । विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सेना समायोजन र शान्ति प्रक्रिया अघि बढाउने विषयमा विराटनगर आउनु अघि प्रचण्डसँग वार्ता भएकाले अब शान्ति प्रक्रिया अघि बढ्ने बताए ।
शान्ति र संविधान निर्माणका लागि भारतीय जनता र त्यहाँको सरकार समेत सकारात्मक रहेको उनले बताए । नेपालले चीन र भारततिर भन्दा पनि बीचमा रहेर दुवैसाग असल मित्रता अघि बढाउनु पर्ने उनले बताए । भारतीय प्रधानमन्त्री मनमोहन सिंहले पनि दुवै देशसँग नेपालले असल मित्रवत व्यवहार गर्नु पर्ने बताएको उनले उल्लेख गरे ।
No comments
Post a Comment