१३ माघ: सुनसरी क्षेत्रमा गाडिएका दुई सय ८३ वटा नेपाल - भारत सीमास्तम्भमध्ये ३९ वटा गायब भएका छन् । सशस्त्र सीमा सुरक्षा बल सुनसरीले गरेको अध्ययनअनुसार विभिन्न प्रकृतिका सीमास्तम्भहरू गाडिएको स्थानबाटै गायब पारिएका छन् ।
खुल्ला सीमा क्षेत्रमा भारतको बिहार र नेपालको सुनसरी जिल्लाको सीमा क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयवासीबाटै स - साना सीमास्तम्भ भत्काएर घरबास गर्ने र खेती गर्ने गरिएकाले ती सीमास्तम्भहरू गायब भएको सशस्त्र प्रहरीले अनुमान गरेको छ ।
सुनसरी र भारतको बिहार राज्यबीचमा रहेको दशगजा क्षेत्रमा २२ वटा जङ्गे सीमास्तम्भ, मझौला खालका १४७ वटा र साना आकारका 114 वटा सीमास्तम्भ हुनुपर्नेमा अहिले ३९ वटा सीमास्तम्भ गाडिएको स्थानमा नरहेको सशस्त्र प्रहरी बल सुनसरीले जनाएको छ ।
सशस्त्र प्रहरीका अनुसार सीमा क्षेत्रमा गाडिएका सीमास्तम्भमध्ये १८३ वटा मात्र दुरुस्त अवस्थामा रहेका छन्. दुवै देशको सीमा छुट्याउनका लागि दुवै देशको प्राविधिक टोलीले गाडेका सीमास्तम्भ मध्ये ६१ वटा तत्काल मर्मत गर्नुपर्ने अवस्थामा पुगेको पनि बताइएको छ ।
दुवै देशको सीमाक्षेत्र निर्धारणका लागि रहेको दशगजा क्षेत्रमा दुवै देशका स्थानीयवासीले अतिक्रमण गर्ने कार्य जारी रहेको र विशेषगरी भारतीय पक्षबाट बलजफ्ती सीमा क्षेत्रमा खनजोत गरी कृषिबाली लगाउने प्रवृत्ति बढ्दोक्रममा रहेको पाइएको छ ।
दशगजा क्षेत्रमा स्थानीय दुवै देशका नागरिकले छाप्राहरू बनाउने र ती क्षेत्रमा गोबरको गुइँठा बनाएर सुकाउने र विस्तारै एकअर्काबीच खनजोतको कार्यले सीमा क्षेत्रका लागि भनी खाली राखिएको क्षेत्र साँघुरिएर जाने क्रम बढ्दो रहेको पनि सशस्त्र प्रहरीले बताएको छ ।
खुल्ला सीमा नाकामा खनजोत गर्ने र बिस्तारै जमिनमा आधिपत्य कायम गर्ने कार्यमा भारत बिहारका स्थानीयवासीको सक्रियता देखिएको तथा त्यसमा भारतीय सीमा सुरक्षा बल - एसएसबी) का स्थानीय सुरक्षाकर्मीको पनि अप्रत्यक्षरूपमा सघाएको स्थानीयवासीले बताएका छन् ।
कतिपय स्थानीयवासीले दशगजा क्षेत्रमा गाईगोठ बनाउने र विस्तारै घरबासनै गर्ने प्रचलनले गर्दा सीमा क्षेत्र असुरक्षित बन्दै गएको पाइएको छ । बिहारतिरका स्थानीवासीको तुलनामा नेपाली पक्षका स्थानीयवासीबाट सीमा क्षेत्रमा प्रत्यक्ष हानी पुर्याउने कार्य नभएको स्थानीयवासीको भनाइ छ ।
Subscribe to:
Post Comments (Atom)
No comments
Post a Comment