काठमाडौं, माघ २४ - काठमाडौं महानगरपालिकाले निजी क्षेत्रका व्यवसायीसँग मिलेर एक महिनाभित्रै सबै मुख्य ठाउँ पुग्न सकिने गरी रात्रि बस चलाउने भएको छ। सम्साँझै एक ठाउँबाट अर्को ठाउँमा पुग्न सार्वजनिक सवारी साधन नपाइँदा सर्वसाधारणलाई मर्का परेको भन्दै आइतबार व्यवसायी, सुरक्षा निकाय, महानगरपालिकालगायत सरोकारवालाको बैठकमा त्यस्तो सहमति भएको हो।
'रात्रि बस चलाउने योजना बल्ल कार्यान्वयन हुने भएको छ,' महानगरपालिकाका कार्यकारी अधिकृत केदारवहादुर अधिकारीले भने, 'अब महिनादिनभित्रै उपत्यकाका मुख्य सडकमा राति बस चढेर एक ठाउँबाट अर्को ठाउँमा पुग्न सकिनेछ।'
उनका अनुसार रात्रि बस सञ्चालन भएपछि यात्रुहरु तीन महिनासम्म दिउँसोकै भाडा दरमा चढ्न पाउनेछन्। सुरुका तीन महिना परीक्षणकाल रहने उनले बताए। त्यो बेलासम्म व्यवसायीलाई परेको नोक्सानी काठमाडौं महानगरपालिका र ललितपुर उपमहानगरपालिकाले नै व्यहोर्ने छ। हाल उपत्यकामा साँझ ७ बजेदेखि सार्वजनिक सवारी साधन चल्दैनन्।
अधिकारीका अनुसार बैठकमा रात्रि बस सञ्चालनका लागि साँझ ७ बजेदेखि राति ११ बजे सम्मका लागि विभिन्न ६ वटा रुटसमेत तोकिएको छ। प्रायः रुटमा रत्नपार्क (पुरानो बसपार्क) लाई कन्द्रविन्दु बनाइने छ। एउटा रुट नारायणगोपाल चोक, नयाँ बसपार्क, कलंकी, बल्खु, सातदोबाटो, चावहिल गौशाला, काटेश्वर, ग्वार्काे, सानेपा, सातदोबाटो हुँदै पूरै चक्रपथ परिक्रमा गर्ने छ। त्यसैगरी रत्नपार्कबाट महाराजगन्ज, नयाँ बसपार्क हुँदै कलंकीसम्म अर्को रुट चल्ने छ।
त्यसै गरी रत्नपार्कबाट त्रिपुरेश्वर, कालीमाटी हुँदै कलंकीको रुट तोकिएको छ भने रत्नपार्क बाट जावलाखेल, सातदोबाटो ग्वार्को हुँदै अर्को रुट चल्नेछ।
यस्तै रत्नपार्कबाट छुटेको बस लैनचौर महाराजगन्ज, बाँसबारी, जोरपाटी, चावहिल हुँदै रातोपुल, मैतीदेवी भएर रत्नपार्क नै फर्कनेछ भने अर्को रुट रत्नपार्कबाट माइतीघर, बानेश्वर हुँदै कोटेश्वरसम्म पुग्नेछ। ती गाडीहरु दुवै तर्फबाट सुरुमा एक, एक घन्टाको फरकमा छुट्ने छन्।
यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक प्रेमकुमार सिंहले अब छिट्टै रात्री बसका लागि आवश्यक गाडीलाई रुट परमिटको व्यवस्था गर्ने बताए। 'सबैजसो मुख्य ठाउँमा सेवा पुर्याउने गरी रुट तय भएको छ,' सिंहले भने, 'राति चलाउने निश्चित भएकाले अब रुट परमिटको व्यवस्था गर्छौ।'
उनले पछि गाडी छुट्ने समयसीमा घटने र रुट थपिने जानकारी दिए।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डोलनाथ खनालले आफूहरु रात्रि बस सञ्चालनका लागि पहिल्यैदेखि सकारात्मक भए पनि सुरक्षा निकालले सुरक्षा प्रदान गर्न र महानगरपालिकाले व्यवसायीलाई नोक्सान भएमा सहयोग गर्ने प्रतिबद्धता जनाएकाले अब महिनादिनभित्रै रात्रि बस सञ्चालन हुने बताए।
'सबै सरोकारवाला निकायले आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्,' खनालले भने, 'अब उपत्यकावासीलाई रातको समयमा कसरी घर पुगुँ भन्ने चिन्ताले पिरोलिरहने छैन।'
उनका अनुसार सबै रुटमा कम्तीमा २६ देखि ४० सिट क्षमताको बस चलाइने छ। उनले रात्री बसमा यात्रु लुटिने र आवतजावत गर्न समस्या नहोस् भनेर सडकबत्तिको व्यवस्था गर्ने पनि सहमति भएको खुलाए।
त्यसैगरी रात्री बसमा हुने चोरीलाई कम गर्न प्रहरीले प्रत्येक बसमा दुईजना हतियारधारी सुरक्षाकर्मी परिचालन गर्ने भएको छ। 'रात्रि बस सञ्चालनका लागि सुरक्षा दिन हामी तयार छौं,' महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता धिरजप्रताप सिंहले भने 'महानगरवासीलाई रातको समयमा ढुक्कसँगले यात्रा गर्ने वातावरण हामी मिलाउन सक्छौं।'
त्यस क्रममा विभिन्न ठाउँमा चेकप्वाइन्ट राख्ने र बसलाई फलो गर्न छुट्टै प्रहरीको गाडीसमेत परिचालन हुने उनले बताए।
Subscribe to:
Post Comments (Atom)
No comments
Post a Comment