चरिकोट, माघ १९ - राजधानीबाट हराउने मोटरसाइकल यहाँका ग्रामीण क्षेत्रमा फेला पर्न थालेपछि रामेछाप प्रहरीले टोली नै गठन गरी 'खोजी अभियान' थालेको छ। असइ नेतृत्वको१० सदस्यीय टोलीले पश्चिमी गाउँहरूबाट अभियान थालेको हो।
टोलीलाई कागजात नभएका मोटरसाइकल नियन्त्रणमा लिएर चालकलाई समेत गिरफ्तार गर्न आदेश दिइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
मोटरसाइकल चोरी गर्ने समूहले विभिन्न नाका हुँदै रामेछापका ग्रामीण क्षेत्रमा चोरीका मोटरसाइकल पुर्याउने गरेको प्रहरी अनुमान छ। उनीहरूले काभ्रे कोसीपारि, नेपालथोकलगायत क्षेत्रबाट पश्चिमी इलाकामा चोरीका मोटरसाइकल पुर्याउने गरेका छन्। 'अहिलेसम्म बरामद गरिएका बाइकमध्ये धेरैजसो पश्चिमी भेगमा भेटिएका छन्,' जिल्ला प्रहरी प्रमुख डिएसपी सञ्जीव शर्माले भने।
प्रहरीले असोजयता विभिन्न गाउँबाट चोरीका ६ मोटरसाइकल नियन्त्रणमा लिएको थियो। त्यसमध्ये पाँचवटा सम्बन्धित धनीलाई बुझाइसकेको डिएसपी शर्मा बताउँछन्। गत साता मात्र मुगिटारबाट प्रहरीले बा.३८प ९०४९ नम्बरको पल्सर मोटरसाइकल बरामद गरेको थियो। मोटरसाइकल चालक 'ब्लुबुक लिएर आउँछु' भन्दै नआएपछि प्रहरीले ट्राफिक प्रहरी महाशाखासँग बुझ्दा चोरीको मोटरसाइकल भएको पत्ता लागेको थियो। महाशाखाका अनुसार उक्त मोटरसाइकल केही महिनाअघि राजधानीको चाबहिलबाट हराएको थियो।
सोमबारबाट खटिएको टोलीले फुलासी, दोरम्बा, टोकरपुरलगायत क्षेत्रमा अभियान केन्द्रित गरेको छ। अभियानमा सहयोग गर्न मातहतका चौकीलाई समेत निर्देशन दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 'ट्राफिक प्रहरी महाशाखाबाट आएको हराएका मोटरसाइकलको च्यासिस नम्बरको लिस्ट मातहतका सबै चौकीहरूमा पठाएका छौं,' डिएसपी शर्माले भने।
चोरी गर्ने पक्राउ पर्दैनन्
रामेछापबाट भेटिएका चोरीका मोटरसाइकलमध्ये कुनैका पनि चालक वा चोरीमा संलग्न व्यक्तिहरू पक्राउ परेका छैनन्। 'गुडिरहेको मोटरसाइकललाई रोकेर कागजात माग्दा घरबाट लिएर आउँछु भन्छन्,' उनले भने, 'तर फर्कंदैनन्।' चोरीको मोटरसाइकल बेच्ने समूह पहिचान गर्ने प्रयास भइरहेको उनले बताए।
Subscribe to:
Post Comments (Atom)
No comments
Post a Comment