असार ३२,काठमाण्डौ
अर्थमन्त्री भरतमोहन अधिकारीले हिजो संसदमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०६८/०६९ को बजेटबारे आजदेखि संसदमा छलफल हुँदै छ । आजदेखि बजेटको सैद्धान्तिक पक्षबारे छलफल हुने तय भएको हो । अर्थमन्त्री अधिकारीले हिजो संसदमा नयाँ आर्थिक वर्षका लागि ३ खर्ब ८४ अर्ब ९० करोड बराबरको आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।
संसदमा बजेटमाथि छलफल भएपछि उठेका प्रश्नका विषयमा अर्थमन्त्रीले आजै जवाफ दिनुहुने छ । यसैगरी संसदमा आज पेस्की खर्च विधेयक छलफलपछि पारित गरिने कार्यक्रम छ । चालु आर्थिक वर्ष आजदेखि सकिने भएकोले भोलिदेखि सरकारी कामकारवाहीमा प्रभावित हुन नदिन आजै पेस्की खर्च विधेयक पारित गर्नुपर्ने बाध्यता सरकारलाई छ । संसदको बैठक अहिले केहीबेरपछि सुरु हुँदै छ ।
संसदीय छानबिन विशेष समिति गठन
व्यवस्थापिका संसदमा आर्थिक वर्ष २०६८/०६९ को बजेट प्रस्तुत गर्नु अघि नै विभिन्न सन्चारमाध्यममा प्रचारप्रसार भएकोबारे सत्यतथ्य पत्ता लगाउन सात सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरिएको छ । संसदको हिजो बसेको दोस्रो बैठकले नेपाली काङ्ग्रेसका प्रमुख सचेतक लक्ष्मणप्रसाद घिमिरेको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।
छानबिन समितिका सदस्यहरुमा एकीकृत माओवादीका पोष्टबहादुर बोगटी र जयपुरी घर्तीमगर नेकपा एमालेका भीमप्रसाद आचार्य नेपाली काङग्रेसका रमेश लेखक नेकपा संयुक्तका कल्पना राणा र तराई मधेसी लोकतान्त्रिक पार्टीका हृदययेश त्रिपाठी हुनुहुन्छ । संसदमा प्रस्तुत गर्नु अघि बजेटको पूर्ण विवरण सरकारको आधिकारिक वेबसाइटमा सार्वजनिक भएपछि प्रतिपक्षी सभासद्हरुले आपत्ति जनाउँदै बजेटको गोपनीयता भङ्ग भएको बारे छानबिन हुनुपर्ने माग गरेका थिए । समितिलाई साउन ६ गतेभित्रमा प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ ।
No comments
Post a Comment