काठमाडौं, मङ्सिर १४ - 'माननीय सदस्य, बेलबाट हट्नुस्!' स्वास्थ्यमन्त्री राजेन्द्र महतो, प्रधानमन्त्री बाबुराम भट्टराईकी पत्नी हिसिला यमी र माओवादी अध्यक्ष पुष्पकमल दाहालका भाइ पर्ने नारायण दाहाललाई सभामुख सुवासचन्द्र नेम्वाङले 'रुलिङ' गरे।
संविधानसभाको म्याद बढाएर चार वर्ष पुर्याउन सरकारले दर्ता गरेको संविधान संशोधन विधेयकमाथि संसद्मा मतदान गर्न विभाजन घन्टी बजिरहेको थियो। माओवादीका दुई शक्तिशाली नेताका नातेदार सभासद्हरू स्वास्थ्यमन्त्री महतोसँग खुसामत गर्दै जारी संसद्को बेलमा प्रवेश गरी बसिरहेपछि सभामुखले रुलिङ गरेका हुन्।
बेलमा प्रवेश गरी उभिँदा संसद् अवरुद्ध हुने भए पनि सभासद्हरू अगाडि गएर गफ हाँक्ने 'फेसन' बनेको छ। बेलमा उभिएर सभामुखतिर पिठ्युँ फर्काएर अग्रस्थानका नेताहरूसँग कुराकानी गर्ने थुप्रै सभासद्लाई संसद्को बैठकमा मर्यादापालकले सचेत गराएर आसन ग्रहण गराउनुपर्यो। कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र मिनेन्द्र रिजाललाई मर्यादापालकले बेलमा नउभिन आग्रह गरे। कांग्रेसकी उमा अधिकारीलाई पनि मर्यादापालकले त्यहाँबाट हटाए।
मर्यादा उल्लंघन गर्नेमा एमालेको सिफारिसमा सभासद् बनेका उद्योगपति विनोद चौधरी, एमाले सचिव विष्णु पौडेल पनि परे। सभासद् रविन्द्र अधिकारीसँग कुराकानी गरिरहँदा पौडेललाई त्यहाँबाट हट्न लगाइयो।
देउवापत्नी आरजु राणा देउवा भने लामो समय पिठ्युँ फर्काएर आफ्ना पतिसँग कुराकानी गरिरहे पनि उनलाई मर्यादापालकले देखेनन्। कांग्रेसका दीपकुमार उपाध्याय माओवादी अध्यक्ष दाहालको अगाडि उभिएर कुराकानी गरिरहँदा सभामुखको दायाँतर्फका मर्यादापालक दुई पटकसम्म उनलाई हटाउन अग्रसर भए। तर टाढा भएकाले पुग्न भ्याएनन्। उनलाई उपसभामुख पूर्णकुमारी सुवेदीले लबीतर्फ बसेर कुरा गर्न सुझाव दिइन्।
मंगलबार संविधान संशोधन प्रस्तावमा मतदान गरी परिणाम घोषणा हुनुअघिसम्म प्रधानमन्त्री भट्टराई र माओवादी अध्यक्ष दाहालसमक्ष सभासद्हरूको भीड लागेको थियो। संसद र मन्त्रीहरूबीचको कानेखुसी पनि मजैले जमेको थियो।
सार्वजनिक लेखा समितिका सभापति रामकृष्ण यादवले आफ्नो मोबाइल फोनबाट प्रधानमन्त्री भट्टराईसँग कसैलाई कुराकानी गराएका थिए। माओवादी सभासद् विमला केसीले चिट लेखेर स्वास्थ्यमन्त्री महतोलाई बुझाएको देखियो। कानुनमन्त्री वृजेशकुमार गुप्ता भने ऊर्जामन्त्री पोष्टबहादुर बोगटीले संविधान संशोधन प्रस्ताव पारित गरियोस् भनी प्रस्तुत गरेपछि मात्र संसद्मा पसे। मत दिनेबेला संसद् पुगेका उनी ऊर्जामन्त्री बोगटीसँग कानेखुसी गरिरहेका थिए। पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बस्ने आसनमा त्यही दलका प्रदीप ज्ञवाली बसेका थिए। बिरामी परेका नेता नेपाल संसद्मा आइपुग्दा ढिला भएकाले ढोकाबाहिर रोकिए, मतदान गर्न पाएनन्।
माओवादीका महासचिव रामबहादुर थापा भने मोबाइलमा भिडियो हेरेर बसिरहेको देखिन्थ्यो। संविधान संशोधनजस्तो महŒवपूर्ण विषयमा पनि ८७ जना सभासद् अनुपस्थित भएका थिए। तीमध्ये अर्थमन्त्री वर्षमान पुन विदेशमा रहेकाले आउन सकेनन्।
Subscribe to:
Post Comments (Atom)
No comments
Post a Comment