Responsive Ad Slot

Latest

latest

३८ विद्यार्थीलाई पालैपालो यातना

Friday, 2 December 2011

/ by Bikash Shah (Ghayal)
विराटनगर, मंसिर १७- गणितीय सूत्र कण्ठ नगरेको झोँकमा विराटनगर-२ स्थित सेन्ट जोसेफ बोर्डिङ स्कुलका ३८ विद्यार्थीलाई शिक्षकले पालैपालो यातना दिएका छन्। गणित विषय शिक्षक नारायण ओलीले कक्षा ८ सेक्सन 'ए' का विद्यार्थीलाई बिहीबार कक्षाकोठाभित्र पाइप र डस्टरले शरीरमा निलडाम बस्नेगरी पिटेका हुन्।


तीन दिनयता घोक्न लगाएको सूत्र कसैले भन्न नसकेपछि ओलीले नाम बोलाएर पालैपालो पिटेका हुन्। उनले पिटेका विद्यार्थीको हात, पाखुरा, पिँडुला र तिघ्रामा नीलडाम बसेको छ।
शिक्षकले पिटेका केही विद्यार्थीलाई राति ज्वरो आएको थियो। विद्यार्थी बिरामी भएपछि आक्रोशित अभिभावकले शुक्रबार विद्यालयमै पुगेर दबाब दिएपछि शिक्षक ओलीलाई एक साताका लागि निलम्बन गरिएको छ।
'फर्मुला भन्न नजानेपछि सरले पिट्नुभयो,' विराटनगर-१० की सञ्जना कामतले भनिन्, 'सबैजना धुरुधुरु रोयौं।'
शिक्षकको कुटाइले विराटनगर-४ की बिनु खड्का राति बिरामी नै परिन्। 'रातभरि छोरीलाई ज्वरो आएपछि सहन नसकेर प्रिन्सिपललाई भन्न आएको हुँ,' बाबु रमेशले नागरिकसँग भने, 'अबदेखि यस्तो हुँदैन भनेका छन्।'
शिक्षकबाट एकै दिन यतिका विद्यार्थी पिटिएपछि पुगेका जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति नन्दकुमार ठाकुरले अधिकांश विद्यार्थीका तिघ्रामा ठूला ठूला नीलडाम देखेको बताए। 'अमानवीय ढंगले कुटपिट भएको रहेछ,' ठाकुरले भने, 'विद्यार्थीले लुगा सुर्केर देखाउँदा चोटैचोट पाएँ।'
'होमवर्क' पूरा नगरेको निहुँमा उक्त बोर्डिङमा विद्यार्थीलाई एक घन्टासम्म झोलासहित उभ्याएर यातना दिइने गरेको अभिभावकले जानकारी दिए।
अभिभावक आएर यातना दिइएकोबारे स्पष्टीकरण मागेपछि प्रिन्सिपल अटल थापाले माफी माग्दै शिक्षक ओलीलाई नसियतसहित एक सातासम्म अध्यापन गर्नबाट रोक लगाएका थिए। 'हामीबाट साह्रै ठूलो भूल भयो', प्रिन्सिपल थापाले भने, 'अबदेखि यस्तो गतिविधि हुने छैन।'
विद्यार्थीलाई यातना दिने शिक्षक ओलीले आफूबाट अमानवीय काम भएको स्वीकार गर्दै माफी दिन आग्रह गरे। 'एकपटकलाई माफ गरिदिनुस्,' ओलीले भने, 'आइन्दा यस्तो दोहोरिए जे सजाय पनि भोग्न तयार छु।'
जिल्ला शिक्षा अधिकारी योगेन्द्र बरालले निजी विद्यालयबाट विद्यार्थीमाथि निर्घात यातना दिने क्रम बढेको भन्दै विद्यालय सञ्चालकलाई बोलाएरै सचेत गराउने तयारी भइरहेको जानकारी दिए।
कानुनतः विद्यालयमा पाइप र ली प्रयोग गर्न पाइँदैन। निजी विद्यालयले भने विद्यार्थीलाई अनुशासनमा राख्ने बहानामा लीको प्रयोग गरी यातना दिने गरेका छन्।
'पछिल्लो पटक निजी विद्यालयबाट विद्यार्थीमाथि अमानवीय व्यवहार भएका घटनाका कुरा आइरहेका छन्', बरालले भने, 'पहिले पहिले सामुदायिक विद्यालयमा यातना दिने काम हुन्थ्यो, अहिले निजी विद्यालयले जितेका छन्।'
बालअधिकार महासन्धि अनुसार अमानवीय ढंगले सजाय दिने शिक्षक/शिक्षिकालाई क्षतिपूर्ति र बर्खास्तसहित कैद सजाय गर्ने व्यवस्था छ। माफी दिने बहानामा पीडकलाई कारबाही गर्नुको सट्टा जोगाउने गरिएको छ।
उर्लाबारी-२ सप्तकोसी आवासीय माविकी शिक्षिका मिश्र वैजयन्तीको यातनाका कारण छात्रा सुस्मिता आचार्यले होसै गुमाएकी छन्। उनलाई न्युरो अस्पताल विराटनगरमा सम्भव नभएपछि काठमाडौंस्थित नर्भिक अस्पताल लगिएको छ। मिश्रमाथि अहिलेसम्म कारबाही हुन सकेको छैन।
नर्भिकमा लगेपछि उनको स्वास्थ्यमा केही सुधार देखिएको आमा शुभद्राले जानकारी दिइन्।
शिक्षकबाट ३८ विद्यार्थी पिटिएको खबर पाएपछि नागरिक संवाददाता शुक्रबार सम्बन्धित विद्यालयमा जाँदा प्रिन्सिपल र अन्य शिक्षकले विद्यार्थीलाई भेट्न र तस्बिर खिच्न दिएनन्। प्रिन्सिपल थापाले 'एकपटकलाई छाडिदिनुस्' भन्दै विभिन्न प्रलोभन देखाए।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI