
मङ्सिर २३- पाँच महिनाअघि पक्राउ गरी गुपचुप भारतीय सुरक्षा अधिकारीलाई जिम्मा लगाएको एक अभियुक्तलाई नेपाल प्रहरी अहिले मोस्ट वान्टेड सूचीमा राखेर धुइँधुइँती खोजिरहेको छ।
गत असार २३ मा थाई एयरवेजको टिजी ३१९ उडानमा हङकङबाट बैंकक हुँदै काठमाडौं उत्रिएका निरञ्जन होजाईलाई प्रहरीले विमानस्थलबाटै सोधपुछका लागि भन्दै नियन्त्रणमा लिएको थियो।
भारतीय सुरक्षा अधिकारीको पूर्वजानकारीका आधारमा पक्राउ परेका उनको काठमाडौंबाट जारी पासपोर्टमा निर्मल राई उल्लेख थियो। दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्दा होजाई भारत आसाममा सक्रिय पृथकतावादी समूह दिमा हालिम दाओग (जे) का सैन्य कमान्डर रहेको खुलेपछि भारतीय पक्षले गुपचुपमै बुझाउन दबाब दिएको थियो।
२५ गते दिउँसोसम्म महानगरीय प्रहरी प्रभाग गौशालामा राखिएका उनलाई प्रहरीले निजी गाडीमा राखेर नेपाली सीमाबाट भारतीय अधिकारीलाई बुझाइदिएको थियो।
तिनै व्यक्ति सिंगापुरको एक बैंकवाट २ लाख अमेरिकी डलर नेपाल पठाएको अभियोगमा अहिले नेपाल प्रहरीको वान्टेड छन्।
सोही अभियोगमा साताअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो टोलीको फन्दामा परेकी होजाईकी पत्नी सरिता अहिले न्यायिक हिरासतमा छिन्। एभरेस्ट बैंकमा रहेको उनको खातामा होजाईले पठाएको उक्त रकम आतंकवादी गतिविधिमा प्रयोग हुने दाबी गर्दै भारतीय दूतावासले नै प्रहरीलाई गोप्य सूचना दिएको थियो। त्यही आधारमा प्रहरीले राईलाई पक्राउ गरी उनका पतिको खोजी थालेको हो।
होजाईपत्नीलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राख्न विशेष अदालतमा प्रहरीले बुझाएको टिपोटमा होजाई फरार उल्लेख छ।
प्रहरीस्रोतका अनुसार निरञ्जनबाट बरामद उनको राहदानीमा नाम निर्मल राई, स्थायी ठेगाना काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्ध उल्लेख थियो। उनले सन् २००८ मा काठमाडौंबाटै ४१५९३९४ नम्बरको राहदानी लिएका थिए। त्यतिबेला जोरपाटीकी सरिता निरञ्जनलाई आफ्ना पति दाबी गर्दै प्रमाणका रूपमा उनकै नेपाली नागरिकतासहित प्रहरीकहाँ पुगिन्। उनले पतिलाई हिरासतमुक्त गर्न भने पाइनन्। उल्टै तेस्रो दिन निरञ्जन गायब भए। सोही दिन भारतीय मिडियामा उनी पक्राउ परेको समाचार छाए। स्रोतका अनुसार केही समय भारतीय कारागार बसेर उनी रिहा भइसकेका छन्।
अनुसन्धानस्रोत अनुसार अस्पष्ट नेपाली बोल्ने निरञ्जनले पनि आफू नेपाली भएको र राहदानीसमेत सक्कली भएको दाबी गरेका थिए। तर, नेपालस्थित भारतीय दूतावासबाट उनी छद्म भेषमा नेपालमा लुकेर बसेका आसामी विद्रोही समूहका सैन्य कमान्डर निरञ्जन होजाई भएको दाबी गरिएको थियो।
भारतले होजाई भारतीय आतंकवादी सूचीमा रहेको विवरण पठाउँदै उनलाई बुझाउन दबाब दिएपछि प्रहरीले गोप्य रूपमा उनलाई भारतीय सुरक्षा अधिकारीलाई बुझाएका थिए।
स्रोतका अनुसार तत्कालीन प्रधानमन्त्री माधव नेपाल र गृहमन्त्री भीम रावलको समेत निर्देशनमा पक्राउ परेको रेकर्डसमेत मेटाएर खुसुस्क भारतीय सुरक्षा अधिकारीको जिम्मा लगाएको थियो।
प्रहरी स्रोतका अनुसार सिन्धुपाल्चोककी सरिता राईसँग विवाह गरी जोरपाटीमा बस्दै आएका निरञ्जनले आफ्नो परिचय बदलेर निर्मल राईका नाममा नेपाली राहदानी र नागरिकता लिएको अनुसन्धानमा पुष्टि भएको थियो।
यसरी खुल्यो निरञ्जनको पोल
एक साताअघि एभरेस्ट बैंकमा सरिता राईको नाममा रहेको खातामा सिंगापुरको एक बैंकबाट २ लाख डलर रकम जम्मा भएको र सो रकम निरञ्जनले आतंकवादी गतिविधिमा प्रयोग गर्न पठाएको दाबी गर्दै भारतीय दूतावासले नेपाल प्रहरीलाई गोप्य रूपमा पत्राचार गरेको थियो। रकम आसामी विद्रोहीका लागि आएको भारतीय दाबी थियो।
सोही पत्रका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरिरहेका छन्।
अनुसन्धानमा रकम पठाउने निरञ्जन नै रहेको खुलेपछि प्रहरीले उनकी पत्नीलाई पक्राउ गरी सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत हिरासतमा राखेर अनुसन्धान थालेको हो। विशेष अदालतले अघिल्लो बिहीबार उनलाई ३० दिन हिरासतमा राख्ने अनुमति दिएको थियो।
करोडपति सरिता
कुनै व्यवसाय नभएकी सरिता र उनको परिवारका नाममा करोडौं सम्पत्ति देखिएको छ। 'जोरपाटीमा रहेको घर र गाडीसहित करिब ७ करोडबराबरको सम्पत्ति फेला परिसकेको छ,' अनुसन्धानस्रोतले भन्यो, 'निर्मल राईको नाममा समेत केही सम्पत्ति देखिएकाले १० करोडमाथि देखिन्छ।'
ब्युरोप्रमुख उपेन्द्रकान्त अर्यालले अनुसन्धान जारी रहेको भन्दै होजाईबारे बताउन चाहेनन्।'अनुसन्धानले निश्चित आकार लिइसकेको छैन,' उनले भने, 'अहिले केही निष्कर्ष निकाल्ने अवस्थामा हामी पुगेका छैनौं।'
अवैध हस्तान्तरणको शृंखला
- होजाईलाई गुपचुप भारत पुर्याइएको दोस्रो महिना भदौमा बैंककबाट आएर त्रिभुवन विमानस्थलबाटै एकाएक हराएका भारतीय नागाल्यान्ड आन्दोलनका नेता एन्थोनी सिंह पटना कारागार पुर्याइए। असोज १८ गते नेपाल एयरलाइन्सको उडानबाट आएका उनी अध्यागमनका सबै प्रक्रिया पुर्याएर विमानस्थलबाट बाहिरिने क्रममा पक्राउ परे। अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिइएका उनी गुपचुपै भारतीय सुरक्षा अधिकारीको पोल्टामा पुर्याइए।
- मुम्बई बम विस्फोट घटनामा संलग्न आशंकामा भारतीय सुरक्षा अधिकारीले खोजेका असिम अली र वालिद सज्जादलाई नेपाल प्रहरीले २०६३ असारमा ठमेलमा पक्राउ गरेको थियो। उनीहरू दुवै उसैगरी भारत पुगे।
- सन् १९९३ को मुम्बई बम विस्फोटका अभियुक्त याकुब मेनन २०५१ साउन ९ गते त्रिभुवन विमानस्थलमा पक्राउ परेका थिए। उनी पनि गोप्य रूपमा भारतकै पोल्टामा पुगे।
- अब्दुल थानी र रियाज अबुकरलाई मुम्बई विस्फोटमा संलग्न आशंकामा २०६५ भदौ १९ मा पक्राउ गरेर भारतलाई बुझाइयो। भारतको केन्द्रीय अनुसन्धान ब्युरोले भने दुवैलाई निर्दोष भनेर नेपाल फर्काइदिएपछि मात्र उनीहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले महाराजगन्ज क्षेत्रबाट पक्राउ गरेर उता बुझाएको रहस्य खुल्यो।
- चार वर्षअघि चितवनमा पक्राउ परेका अमित कुमारलाई नेपाल प्रहरीले काठमाडौंमा सार्वजनिक गरेको थियो। लगत्तै उनलाई भारतबाट आएका सुरक्षाकर्मीले आफ्नो देश पुर्याए।
भारतीय पक्षले भनेकै भरमा नेपाली अधिकारी किन अवैध तरिकाले कसैलाई पक्राउ गरी अर्का मुलुकलाई जिम्मा लगाउँछन्? यसबारे नेपाली सुरक्षाअधिकारी खुल्न चाहँदैनन्।
अनौपचारिक कुराकानीमा भने उनीहरू 'खुला सिमानाका कारण अपराधमा संलग्नहरू सहजै वारपार गर्ने र एक देशमा अपराध गरेर अर्काे देशमा लुक्ने गरेकाले अनौपचारिक रूपमै भए पनि बुझाउन बाध्य भएको सुनाउँछन्।
'नेपालमा अपराध गरेर भारतमा लुकेर बसेकालाई उनीहरूको सहयोगबिना पक्राउ गर्न सकिन्न,' प्रधान कार्यालयका एक डिआइजीले भने, 'अब सुपुर्दगी सन्धि भएको छैन भनेर उनीहरूले भनेको नमान्ने हो भने हामीले भनेको पनि उनीहरूले मान्दैनन् नि।'
प्रहरीस्रोतका अनुसार दिल्ली रहेर नेपालमा शृंखलाबद्ध अपहरणमा सक्रिय अमर टण्डन, अवैध रकम असुलीका सक्रिय मिलन लामा र वित्तीय अपराधको अभियोग लागेका नेपाल सेयर मार्केट्सका पूर्वप्रमुख योगेन्द्र श्रेष्ठलाई भारतीय सुरक्षा अधिकारीले नै पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएका हुन्।
चिकित्सक भक्तमान श्रेष्ठको अपहरणका योजनाकार भारतयि नागरिक रोहित पाहिवाल अग्रवाललाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरी नेपालमा बुझाएका थिए।
गृह मन्त्रालयका अधिकारी यो तथ्य स्वीकार गर्न तयार छैनन्। दोस्रो देशका गृह मन्त्रालयका सहप्रवक्ता एकमणि नेपाल नेपालको कुनै पनि मुलुकसँग सन्धि नभएकाले पक्राउ गरी सुपुर्दगी गर्न नपाइने र नेपालले कुनै मुलुकको नागरिक पक्राउ गरी नबुझाएको दाबी गर्छन्।
'सुपुर्दगी ऐन २०४५ मा आपराधिक गतिविधिमा संलग्न अर्काको देशको नागरिकलाई पक्राउ गरी प्रक्रिया पूरा गरेर सुपुर्दगी गर्न सकिने व्यवस्था छ,' उनले भने, 'तर नेपालले यस्तो सन्धि कसैसँग गरेको छैन।'
No comments
Post a Comment