
काठमाडौं, मंसिर २२ - संयुक्त राष्ट्रसंघका महासचिव बान की मुन र प्रधानमन्त्री बाबुराम भट्टराईबीच बिहीबार साँझ टेलिफोन कुराकानी भएको छ ।
नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण र संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्त कार्यालय (ओएचसीएसआर)को म्याद थपका विषयमा कुरा भएको प्रधानमन्त्रीका स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिए ।
टेलिफोन वार्तामा प्रधानमन्त्रीले ओएचसीएसआरको म्याद नथप्ने स्पष्ट पार्दै मानवअधिकार संरक्षण अनुगमनका लागि राष्ट्रिय मानवअधिकार आयोगलाई नै बलियो बनाउने स्पष्ट पारेका थिए । ओएचसीएसआरले अहिलेसम्मको भूमिकाप्रति धन्यवाद दिंदै प्रधानमन्त्रीले संस्थाको बहिर्गमनबारे छलफल गरेर टुंगो लगाइने बताए ।
टेलिफोन कुराकानीमा प्रधानमन्त्रीले राष्ट्रसंघका महासचिव मुनले पछिल्लो समयमा शान्ति र संविधानमा प्रगति भएकोमा बधाई दिंदै भट्टराईको नेतृत्वमा दुवै कार्य पूरा हुने विश्वास व्यक्त गरे ।
कुराकानीमा लुम्बिनी विकास निर्देशक समितिको बैठकमा आउन लागेको महासचिव मुनको भ्रमण मितिबारे पनि छलफल भयो । 'भ्रमण मिति दुवैको सहमतिमा तोक्ने कुरा भयो,' पाण्डेले भने ।
प्रधानमन्त्रीको स्वास्थ्यका कारण करिव ७ मिनेटमात्रै कुरा भएको थियो । प्रधानमन्त्रीको 'भोकल' समस्या छ । उनले शुक्रबार पनि 'रेस्ट' लिने निजी सचिवालयले जनाएको छ ।
No comments
Post a Comment