Responsive Ad Slot

Latest

latest

एम्बुलेन्सको काम दमकलले चलाउँदै

Friday, 9 December 2011

/ by Bikash Shah (Ghayal)
भक्तपुर, मङ्सिर २३- दुई दमकल कामै नलाग्ने गरी थन्किएपछि ८ वर्षदेखि भक्तपुरमा एम्बुलेन्सलाई मोडिफाइ गरी दमकलका रूपमा प्रयोग गरिँदै आएको छ।
त्यसमा पनि फायरिङ सिस्टम नहुँदा अत्यावश्यक परेका बेला भरपर्दो सेवा दिन नसकिएको भक्तपुर जुद्ध वारुणयन्त्र कार्यालयले जनाएको छ।

जुद्ध शमशेरले निर्माण गरेको वारुण यन्त्र भक्तपुरमा दुई दमकल थन्केर बसेका छन्। यिनको मर्मत सम्भार र नयाँ दमकलको व्यवस्था नहुँदा कार्यालयले व्यवस्थापनकै झमेला छ।

२०६० सालमा जर्मन सरकारले सिद्धिस्मृति अस्पताललाई पुरानो एम्बुलेन्स दिएको थियो। ३५ वर्षअघि बनेको यो गाडी अस्पतालले आफूलाई काम नलाग्ने बताएपछि वारुण यन्त्र कार्यालयले मोडिफाइ गरेर त्यसलाई दमकलको रूप दिएको थियो।

'अस्पतालले हामीलाई काम लाग्दैन भनेपछि गृह मन्त्रालयसँग समन्वय गरी म नै कलकत्ता गएर ल्याएको हुँ,' दमकल चालक ५८ वर्षे आशाकाजी धौबन्जारले भने, 'त्यतिबेलैदेखि ट्यांकी र पम्प जोडेर दमकलका रूपमा चलाउँदै आएको छु।' तीन तलाभन्दा माथि आगो लागे यो दमकलले निभाउन नसक्ने उनी बताउँछन्।

'पाँच वर्षअघि तीनवटा दमकल थियो। अहिले भएको एउटा पनि कतिबेला धोका दिन्छ टुंगो छैन,' उनी सुनाउँछन्, 'पुरानो गाडी भएकाले मर्मत गर्न सामानसमेत पाइँदैन।'

'दमकल छ भन्नु मात्रै हो, नजिकै कतै आगो लाग्यो भने जसोतसो काम दिन्छ,' कार्यालय प्रमुख कृष्णभक्त श्रेष्ठले भने, 'टाढा पर्‍यो भने धोका दिन्छ।' तर पनि पुराना दुवै दमकल काम नलाग्ने भएपछि २०६४ सालदेखि यसकै भरोसा छ।

देशभर नै वारुण यन्त्र कार्यालय नगारपालिका र स्थानीय विकास मन्त्रालयअन्तर्गत भएपछि भक्तपुरमा यो गृह मन्त्रालयकै जिम्मामा छ। त्यही भएर गृह एक्लैले भक्तपुरलाई दमकलको व्यवस्था गर्न नसकेको श्रेष्ठ बताउँछन्। उनका अनुसार मन्त्रालयले स्थानीय निकायसँग समन्वय गरी दमकलको व्यवस्था गरिदिने मौखिक आश्वासन भने दिएको छ।

भक्तपुरमा आगलागीका घटनामा भइहाले काठमाडौंको जुद्ध बारुण यन्त्रलाई गुहार्ने गरिएको छ। ललितपुर उपमहानगरपालिका भने वैशाखदेखि नै दमकलविहीन छ।

स्थानीय विकास मन्त्रालयले भने उपत्यकामा दमकलको समस्या चाँडै समाधान हुने जनाएको छ। 'भारतीय दूतावासले चार महिनाभित्र १७ वटा दमकल उपलब्ध गराउँदैछ,' मन्त्रालयका अधिकृत एकनारायण शर्माले भने, 'सम्पूर्ण दमकल स्थानीय निकायलाई आवश्यकताअनुसार बाँड्छौं।'

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI