Responsive Ad Slot

Latest

latest

अस्पतालबाट मोटरसाइकल चोर्ने पक्राउ

Friday, 9 December 2011

/ by Bikash Shah (Ghayal)
धरान, मङ्सिर २३- चोरीका चार मोटरसाइकलसहित महेन्द्रनगरबाट बुधबार एक युवक पक्राउ परेका छन्। महेन्द्रनगर-३ सैनिकका १७ वर्षे सुवास श्रेष्ठले ती मोटरसाइकल विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विभिन्न मितिमा चोरी गरेको स्वीकारेका छन्।
प्रहरी र प्रतिष्ठानको सुरक्षाको जिम्मा लिएको जिफोएस ग्रुपको संयुक्त टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो। ‘सादा पोसाकमा खटिएका प्रहरी र जिफोएसका सेक्युरिटीसँग कोसी टप्पु क्षेत्रमा झन्डै झडप भएको थियो,' डिएसपी राजेन्द्र विष्टले भने, ‘खबर आउनसाथ थप प्रहरी पठाएर मोटरसाइकल र चोर नियन्त्रणमा लियौं।'
केही महिनायता प्रतिष्ठान हाताबाटै आधा दर्जनभन्दा बढी मोटरसाइकल चोरी भएपछि प्रहरीले हवल्दारको नेतृत्वमा जिफोएसका सेक्युरिटीसहितको विशेष टोली परिचालन गरेको थियो। टोलीले श्रेष्ठलाई पक्राउ गरे पनि उनको समूहका अन्य सदस्य मोटरसाइकल फालेर भागेको जिफोएसका सुरक्षा निरीक्षक बलराम निरौलाले बताए।
उनका अनुसार प्रतिष्ठान हाताबाटै भदौ २१ गते हराएको को५प ५०९७ नम्बरको पल्सर, भदौ २३ गते हराएको को८प ६६६१ नम्बरको मोटरसाइकल र असोज २६ गते हराएको को७प ८९२९ नम्बरको मोटरसाइकल भेटिएको छ। मंसिरयता मात्र थप तीन मोटरसाइकल चोरी भएका छन्।
चोरीपछि नम्बर प्लेट परिवर्तन र मोडिफाइ गरेर बेचिएका हुनाले पक्राउ गर्न र वास्ताविक धनी पत्ता लगाउन नसकिएको अप्ठ्यारो भएको डिएसपी विष्ट बताउँछन्। ‘चोरको ठुलै गिरोह छ, अनुसन्धान गरी संलग्नहरूलाई पक्राउ गर्छौं,' उनले भने।
प्रहरीका अनुसार पक्राउ परेका श्रेष्ठले भने मोटरसाइकल चोरी गरेको स्वीकारे पनि आफ्नो समूह नरहेको दाबी गरेका छन्। ह्यान्डल लक नगरेको मोटरसाइकल चोरी महेन्द्रनगर पुर्‍याएर नम्बर प्लेट परिवर्तन गरी २५ देखि ३० हजार रुपैयाँमा बेचेको उनले बताएका छन्।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI