Responsive Ad Slot

Latest

latest

दुई महिनाभित्र काठमाडौंमा सोलार बिजुली

Friday, 9 December 2011

/ by Bikash Shah (Ghayal)
काठमाडौं, मङ्सिर २३ - योजनाअनुसार काम हुन सक्यो भने आउँदो दुई महिनाभित्र राजधानीमा सोलारबाट झन्डै सातसय किलोवाट बिजुली उत्पादन हुनेछ। जापानी संस्था जाइकाको सहयोगमा ललितपुरको धोबीघाटमा सोलारबाट बिजुली निकाल्ने प्रणालीको जडान धमाधम भइरहेको छ।
जाइकाको झन्डै ५४ करोड रुपैयाँ अनुदानमा सोलार प्रविधिबाट बिजुली निकाल्ने गरी जडान सुरु भएको हो। सोलार जडान भइसक्दा यसबाट ६ सय ८० किलोवाट बिजुली निस्कने प्राविधिकहरुले बताएका छन्।
सोलारबाट उत्पादित बिजुलीलाई विद्युत प्राधिकरणको कन्ट्रोल हाउस मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना छ। जाइकाले भौतिक योजना तथा निर्माण मन्त्रालयसँग सम्झौता गरी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) सँग मिलेर सोलार विद्युत उत्पादन प्रणाली निर्माण सुरु गरेको हो।
'जाइकाले काठमाडौं उपत्यकामा लोडसेडिङको समयमा पानी आपूर्तिमा समस्या नपरोस् भनेर सोलार प्रविधि दिएको हो,' केयुकेएलका प्रवक्ता सुरेश आचार्यले भने। पानी तानेर बढी भएको बिजुली भने विद्युत प्राधिकरणलाई बेच्ने योजना छ। जसबाट केयुकेएलले थप आम्दानीसमेत गर्न सक्ने सम्भावना छ।
यही भएर सोलार प्रणाली केयुकेएलकै जग्गामा राखेर निर्माण भइरहेको छ। जाइकाले परीक्षणको रुपमा यो प्रविधि नेपालमा सुरु गरेको हो। जडान गरिएको जग्गा दक्षिणतर्फ फर्केको र खुला भएकाले घाम लागेको समयमा क्षमताअनुसार पूरै बिजुली उत्पादन गर्न सक्छ।
काठमाडौंमा यति उपयुक्त स्थान अन्यत्र नभएकाले जाइकाले केयुकेएलसँग मिलेर सोलार प्यानल जडान गरेर बिजुली उत्पादन थालेको हो। बढी घाम लाग्ने देशहरुमा यस्तै सोलारबाट बिजुली निकालेर प्रयोग गरिन्छ।
धोबीघाटमा उत्पादन गरेको बिजुली संचित गरेर भने राख्न सकिँदैन। 'व्याट्री नभएकोले उत्पादनसँगै प्रयोग पनि गरिहाल्नुपर्ने अवस्था छ,' निर्माणमा संलग्न एक प्राविधिकले भने। उनका अनुसार यो जलविद्युत जस्तै हो, जुन उत्पादन हुनासाथ प्रयोग गर्नुपर्छ। नत्र संचित गर्न सकिँदैन।
जाइकाले स्वच्छ ऊर्जा उत्पादन योजनाअन्तर्गत यो सहयोग गरेको हो। यस अघि विद्युत प्राधिकरणले निर्माण गरेको सबैभन्दा ठूलो सोलार प्रणाली हुम्ला र गमगढीको ५०/५० किलोवाट क्षमताका मात्र थिए।
सुन्दरीघाटमा जडान भइरहेको सोलार नेपालमा रहेको अहिलेसम्मको सबैभन्दा ठूलो हो। यसलाई निर्माण गर्न झन्डै दुई वर्षअघि जाइका र अर्थ मन्त्रालयबीच सम्झौता भएको हो।
परियोजना सुरु भएको ११ महिनाभित्र पूरा गर्ने कार्यक्रम रहेकोमा अब सम्पन्न हुने क्रममा छ। निर्माणमा संलग्न ठेकेदार पक्षले जनवरीभित्रै सम्पन्न गरेर हस्तान्तरण गर्ने लक्ष्य लिएको छ।
तत्काल ६ सय ८० किलोवाट बिजुली उत्पादन भए पनि भविष्यमा यसलाई विस्तार गर्न सकिने आधारहरु तयार गरिएका छन्। सोलार प्लान्ट राखिएको ठाउँमा आधाभन्दा बढी जग्गा खाली रहेको र सँगै केयुकेएलको अरु प्रयोग हुन बाँकी जग्गासमेत रहेकाले यसको सफलता हेरेर भविष्यमा विस्तार गर्न सकिने संकेत जाइकाले दिएको छ।
सोलारबाट निस्कने बिजुली जलविद्युतको तुलनामा चार गुणा महँगो पर्छ। जलविद्युतमा प्रति किलोवाट लागत एकलाख ५० हजार पर्छ। सोलारबाट उत्पादन हुने धोबीघाटमा रहेको आयोजनाकै लागत प्रति किलोवाट ५ लाख ४७ हजार रुपैयाँ पर्ने भएको छ।
सुन्दरीघाटमा रहेको केयुकेएलको जग्गामा निर्माण भएको सोलार बिजुली उत्पादन केन्द्रले विद्युत प्राधिकरणलाई बेच्न प्रस्तावसमेत दर्ता गराइसकेको छ। केयुकेएलले पानी तान्ने पम्प चलाएर बचत भएको बिजुलीलाई किन्न प्रस्ताव गर्दै प्राधिकरणमा प्रस्ताव दर्ता गराएको हो।
सोलारबाट उत्पादन भएको बिजुलीलाई प्रति युनिट कति दिने भन्नेबारे प्राधिकरणले अध्ययन गरिरहेको छ। 'उनीहरुले विद्युत खरिद बिक्री सम्झौताको लागि निवेदन दिइसकेका छन्,' प्राधिकरण विद्युत व्यापार विभागका प्रमुख शेरसिंह भाटले भने। प्राधिकरणले खरिद बिक्री मूल्य तोक्न बिजुली उत्पादनको लागतलाई हिसाब गर्छ।
निर्माणमा संलग्न प्राविधिकहरुका अनुसार २७ वटा लाइनमा सोलार प्यानल जडान गरिएका छन्। हरेक लाइनमा एकसय २० प्यानल छन्। एउटा सोलार प्यानलले २ सय १० वाट बिजुली उत्पादन गर्छ। यस्ता तीनहजार दुईसय ४० प्यानलले उत्पादन गरेको बिजुली एकैठाउँमा जम्मा गर्दा ६ सय ८० किलोवाट जम्मा हुन्छ।
तीन मिटर अग्लो पिलरमा राखिएका सोलार प्यानलले उत्पादन गर्ने विद्युतलाई एकीकृत गरेर ट्रान्सफर्मर मार्फत पारिपट्टि रहेको सुन्दरीघाटमा पुर्‍याउने लक्ष्य लिइएको छ। सोलारलाई जमिनभन्दा माथि राख्न ९ सय १८ वटा पिलरहरु खडा गरिएका छन्।
जापानले बनाइदिएको यो प्रविधि लामो समयसम्म नेपालीले टिकाउनेमा जापानी प्राविधिकहरु नै चिन्तामा छन्। 'जापानी सहयोगमा बनेका नयाँ बसपार्क, तिनकुने-सूर्यविनायक सडकको स्थिति साह्रै चिन्ताजनक छन्, यो सोलार प्रणाली यस्तो नहोस्,' निर्माणको रेखदेखमा खटिएका एक जापानीले सुझाव दिए। जाइकाले स्वच्छ ऊर्जा प्रवर्द्धनको क्रममा ५३ करोड ७९ लाख रुपैयाँ सहयोग गरेको हो। यही सहयोगबाट धोबीघाटमा रहेको केयुकेएलको जग्गामा अहिले सिमेन्टको पिलर खडा गरेर त्यसमा सोलार प्यानल जडानको काम धमाधम भइरहेको छ।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI