
काठमाडौं, मङ्सिर २१ - लडाकु समायोजन र पुनर्स्थापनाको प्रकृया अगाडि बढिरहेकै अवस्थामा 'जनमुक्ति सेना'ले पार्टीले लिएको धरौटी रकम फिर्ता हुनपर्ने बताउन थालेका छन्। शिविरमा रहेका हरेक लडाकुबाट एकीकृत नेकपा माओवादीले मासिक १ हजार रुपियाँ उठाउँदै आएको छ। १९ हजार ५ सय २५ लडाकुबाट २०६३ कात्तिक ३० देखि जनही १ हजार मासिक उठाउँदै आएको पार्टीले लिएको रकममध्ये आधा ५ सय रुपियाँ हरेक लडाकुको बचतका रुपमा रहने बताएको थियो।
बाँकी ५ सय रुपियाँ भने पार्टी हेर्डक्वार्टर र वाइसीएलका लागि छुट्याइएको थियो।
स्रोतका अनुसार लडाकु कमाण्डरहरुले छिट्टै पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग यस विषयमा छलफल गर्नेछन्। 'क्यान्टोनमेन्टमा हाम्रो पीडादायी दिन सकिन लागेको छ। अब पार्टीले वचतका रुपमा राखेको पैसा फिर्ता दिनुपर्छ,' नाम सार्वजनिक नगर्ने शर्तमा एक सह-कमाण्डरले भने।
अहिलेसम्म १ अर्ब १७ करोड रुपियाँ पार्टीले क्यान्टोनमेन्टमा रहेका लडाकुबाट लिइसकेको छ। संकलन गरेको यो रकमको आधी ५८ करोड ८४ लाख रुपियाँ बचत रकम लडाकुलाई फिर्ता गर्नुपर्ने हुन्छ।
तर, धेरैजसो लडाकुहरु पार्टीले सजिलै पैसा फिर्ता दिनेमा विश्वस्त छैनन्। 'हामीले बुझाएको पूरै रकम फिर्ता पाउने कुरा त भन्न सकिन्न तर वचत भनेर लिइएको रकम फिर्ता हुनुपर्छ,' एक लडाकुले भने।
केही लडाकु भने पार्टीले आफूहरुसँग लिएको पैसा फिर्ता गरेन भने कडारुपमा उत्रनुपर्ने बताउँछन्। 'हामीले न्यायका लागि कानुनी प्रकृया पनि अपनाउनुपर्ने हुनसक्छ,' एक लडाकुले भने, 'हामी अदालतको ढोका ढक्ढक्याउन पनि सक्छौं।'
लडाकुहरुले वचतका लागि लिइएको रकमको ब्याज र प्रति लडाकु ३० हजार रुपियाँ पार्टीले फिर्ता गर्नुपर्ने बताए।
No comments
Post a Comment