Responsive Ad Slot

Latest

latest

सडक मिचेर बनाइएका घरटहरा भत्काइयो

Sunday, 11 December 2011

/ by Bikash Shah (Ghayal)


काठमाडौं, मङ्सिर २५ कमलपोखरीको जैनभवनदेखि डिल्लीबजार मोडसम्म सडक मिचेर बनाइएका घरटहरा शनिबार भत्काउन सुरु गरिएको छ। नगर विकास समितिले दुइटा एक्जाभेटर र एउटा ट्रिपर प्रयोग गरी सडकका दुवैतिरका यस्ता संरचना भत्काइरहेको छ।
पटकपटक सुचना दिँदा पनि अटेर गरेकाले डोजर लगाएर भत्काइएको त्यहाँ उपस्थित एक ट्राफिक प्रहरीले बताए। उनका अनुसार आफैं भत्काउँदै भन्ने घरधनीलाई भने एक हप्ताको समय दिइएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख गणेशराज राईका अनुसार यो क्षेत्रमा १० फिटभन्दा बढीसम्म जग्गा अतिक्रमण भएको छ। यसअघि बालुवाटारबाट नक्सालसम्म सडक आसपासका संरचना भत्काइएको थियो। 'सो क्षेत्रमा केही घरधनीले समय मागेकाले डिल्लीबजारतिरको काम थालेका हौं,' राईले भने।

नगर विकास समितिले भत्काइएका स्थानमै तत्कालै फुटपाथ बनाउने जनाएको छ। 'घरटहरा भत्काउने काम सकिनासाथ फुटपाथ बनाउने काम अघि बढाउँछौं,' नगर नियोजक भाइकाजी तिवारीले भने। उनका अनुसार केही घरका कोठासमेत सडक सीमाभित्र परेकाले उनीहरूलाई समय तोकेर आफैं भत्काउन भनिएको छ।

सो क्षेत्रका घरटहरा भत्काइँदा केही स्थानीयले विरोधसमेत जनाएका थिए। दुई वर्षअघि नै सडकको केन्द्रबाट ७-७ मिटर फराकिलोसहित तीन लेन सडक बनाउने योजनासहित नगर विकासले काम थालेपछि स्थानीयको अवरोधले अगाडि बढ्न सकेको थिएन।

काठमाडौं महानगरपालिका, नगर विकास समिति, सडक विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त अभियानअन्तर्गत केही महिनादेखि उपत्यकामा सडक विस्तार अभियान चलिरहेको छ।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI