धनकुटा, पुस ६ - जिल्ला प्रशासन कार्यालय धनकुटाले बुधबार गरेको सरकारी कार्यालय तथा विभिन्न संस्थाहरुको छड्के अनुगमनका क्रममा अधिकृतस्तरका सहित एक सय चार कर्मचारी अनुपस्थित भएका छन् ।
जसमा १२ अधिकृत र ९२ अन्य सहायक स्तरका कर्मचारी छड्केमा परेको सहायक प्रमुख जिल्ला अधिकारी ओमकार न्यौपानेले बताए । सबैभन्दा बढी धनकुटा नगरपालिकामा १७, विद्युत प्राधिकरणमा १३, कृषि विकास कार्यालय तथा आवास तथा भौतिक निर्माण मन्त्रालयका अधिकांश कर्मचारी अनुपस्थित रहेका छन् । अनुगमनलाई निरन्तरता दिइने प्रमुख जिल्ला अधिकारी खड्गप्रसाद चापागाईंले बताए ।
यसैबिच जिल्ला प्रशासन, उद्योग वाणिज्य संघ, उपभोक्ता समिति, स्वास्थ्य तथा पशु सेवा कार्यालय, सञ्चारकर्मी लगायतको समूहले वुधवार व्यापारिक केन्द्र हिले र पाखि्रबास बजारका पसल अनुगमन गरेको छ ।
४० पसलमा गरिएको निरीक्षणका क्रममा नविकरण नियमित नगरिएको, म्याद गुजि्रएका वस्तु पर्याप्त फेला पारिएको, औषधी र विषादी एकै स्थानमा राखिएको तथा खाद्य वस्तु र मादक पदार्थ समेत एउटै पसलमा फेला पारिएको अनुगमन समुहका संयोजक डा. विदुर गौतमले जानकारी दिए ।
No comments
Post a Comment