Responsive Ad Slot

Latest

latest

माओवादीको आक्रमणबाट ७ जना घाइते, दुईको स्थिति गम्भीर

Sunday, 11 December 2011

/ by Bikash Shah (Ghayal)
धादिङ, मङ्सिर २५- गाउँमा कच्ची सडक निर्माणका लागि गठन गरिएको उपभोक्ता समिति चित्त नबुझेपछि सोही विवादलाई लिएर थाक्रे गाविस- ४ स्थित खनायोखर्कमा माओवादीले आक्रमण गर्दा ६ जना उपभोक्ता घाइते भएका छन्। आक्रमणमा परी घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर छ।

उनीहरुको उपचार काठमाडौंस्थित शिक्षण अस्पतालमा भइरहेको छ। गम्भीर घाइते हुनेमा अन्दाजी २७ वर्षीय राजकुमार थापा र २४ वर्षीय राजु थापा छन्। उनीहरु दुवैको टाउको, हातलगायत् शरीरमा धारिलो हतियार खुकुरीको चोट छ। घटना गएराति भएको थियो।

जिल्ला विकास समितिको इलाकास्तरीय सातघुम्ती थकम सडक निर्माणका लागि लक्षित वर्गअन्तर्गत महिला सडकका लागि ८ लाख रुपियाँ बजेट विनियोजन भएको थियो। सो सडक निर्माणका लागि तीन साताअघि गठन गरिएको उपभोक्ता समितिमा माओवादीले अध्यक्षको दाबी गर्दै समिति पुनः गठनको माग गरेर जिल्ला विकास समितिमा उजुरीसमेत गरेपछि योजना सम्झौता हुन नसकी रोकिएको गियो।

सो विवाद चुलिँदै जाँदा शनिबार दिउसो स्थानीय उपभोक्ता र एमाओवादीको गाउँ कमिटीका सचिव नवराज चापागाईंबीच सामान्य विवाद भएको थियो। विवादका बीच धकेलाधकेल हुँदा सचिव चापागाईंलाई स्थानीयले कुटपिट गर्दा उनी सामान्य घाइते भएका छन्। दिउसोको विषयलाई लिएर राति चापागाईंका भाइ राजकुमार र वाइसिएल इन्चार्ज विकास भण्डारीको नेतृत्वमा गएको हतियारसहितको करिव छ जनाको टोलीले स्थानीयलाई आक्रमण गरेका हुन्।

आक्रमणमा परी घाइते हुनेहरु माओवादीकै पूर्व कार्यकर्ता हुन्। संविधान सभाको निर्वाचन र त्यसपछि माओवादीलाई राम्रै साथ दिएका उनीहरु सडक निर्माणका विषयमा माओवादीले रोकेपछि रुष्ट भएका थिए। माओवादीलाई निर्वाचन जिताउनका निम्ति लाठाभाँटासमेत बोकेर भिडन्तमा समेत उत्रिएका उनीहरु माओवादीकै आक्रमणमा घाइते भएका हुन्।

आक्रमणपछि लुकेर बसेका राजकुमार चापागाईंलाई स्थानीयले समातेर घटनास्थल पुगेका इलाका प्रहरीको टोलीलाई जिम्मा लगाएका छन्। अन्य आक्रमणकारी भने फरार छन्।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI