
काठमाडौं, मङ्सिर २२- वर्षौंको फोहोर तथा कवाडी हटाएपछि वीर अस्पताल सफा र रंगीन देखिन थालेको छ। यहाँको सरसफाइलाई नेपालकै नमुना स्तरीय फोहार मैला व्यवस्थापन मानिएको छ।
'पहिले फोहोरको गन्धले नाक थुनेर हिँड्नु पर्थ्यो,' हाउसकिपिङ इन्चार्ज सरिता श्रेष्ठले भनिन्, 'फोहोर थुपार्ने ठाउँलाई पुनर्निर्माण गरेर बिरामी कुरुवा घर तथा बगैंचा निर्माण गरिएको छ।'
आइसियुनजिकका भित्ता समेत सुन्दर चित्रले पोतिएको छ। अस्पतालबाट निस्केको फोहोरबाटै बायो ग्याँस उत्पादन गरिएको छ।
'बायो ग्यासमा चिया पानी उमाल्ने काम भइरहेको छ,' अस्पतालका निर्देशक डा. बुलन्द थापाले भने, 'बाँकी बत्ती बाल्न प्रयोग गर्ने तयारी छ।'
अस्पतालजन्य फोहोरको व्यवस्थापनबाट अस्पताल सफा मात्र भएको छैन, फोहोरबाटै उत्पादन र आम्दानीसमेत गरेको छ। फोहोरको बिक्रीबाट मासिक २५ देखि ३० हजार आम्दानी हुने गरेको निर्देशक थापाले जनाए।
'फोहोर किन्न विराटनगर र नेपालगन्जका पाइप कारखानाबाट फोहोर किन्न आउँछन्,' निर्देशक थापाले भने।
यसबाहेक प्लास्टिकजन्य फोहोरबाट टेबुल मेट, टिमेट, ढकिया, ब्याग, किचेन सेट जस्ता सामग्री समेत बनाउने गरिएको छ। 'फोहोरलाई यसरी उपयोग गर्न सकिन्छ भनेर नमुना उत्पादन मात्र गरेका हौं,' इन्चार्ज श्रेष्ठले भनिन्, 'अन्य कर्मचारीले पनि यस्तो बनाउने तालिम लिइरहेका छन्।'
व्यवस्थापनअघि अस्पतालको फाहोर अस्पतालको आइसियु वार्डनजिकै खुला अवस्थामा राखिने र नगरपालिकाले लाने गरेको थियो। उपयोग गरेपछि बाँकी रहेको फोहोरलाई किटनाशक औषधी राखेर दिने गरिएको श्रेष्ठले बताइन्।
फोहोर व्यवस्थापनले संक्रमणबाट समेत बचाएको निर्देशक थापाले जनाए। 'अस्पतालजन्य फोहोर वीर अस्पतालमा आउनेलाई मात्र होइन, सिसिडोलका बासिन्दालाई समेत संक्रमण हुने डर थियो,' उनले भने, 'अस्पतालजन्य फोहोर खुलै तथा जथाभावी राख्नाले क्षयरोग, एचआइभी जस्ता ब्याक्टेरिया तथा भाइरस हुने र त्यसबाट व्यक्तिलाई क्षयरोग, छालाको रोग, एचआइभी, छातीको संक्रमण हुन सक्छ।'
अस्पतालले नेपाल हेल्थ केयर फाउन्डेसनको सहकार्यमा २०६७ सालदेखि फाहोर व्यवस्थापन थालेको हो।
नमुना व्यवस्थापन भएकै सुनेर राजधानीमा बुधबारदेखि जारी 'दक्षिण एसियाली स्वास्थ्यजन्य फोहोर व्यवस्थापन गोष्ठी'का सहभागीले अवलोकन गर्दैछन्। गोष्ठीमा विभिन्न अमेरिका, बेलायतसहित विभिन्न ११ देशका ४० जना सहभागी छन्।
अस्पतालजन्य फोहोर व्यवस्थापनको लागि वार्ड-वार्डमा फोहोरको किसिम अनुसार बाल्टिन राखिएको छ। रातो बाल्टिनमा संक्रमित फोहोर, हरियोमा कागज, नीलोमा सलाइन बोटल तथा प्लास्टिकका अन्य बोटल, हल्का हरियोमा टुक्रा प्लास्टिक र कालोमा सड्ने फोहोर राखिने व्यवस्था गरिएको छ। सड्न नसक्ने र विक्री गर्न नमिल्ने सुईलाई बार्डभित्रै जलाउने मेसिन राखिएको छ।
अस्पतालबाट निस्कने मर्करी व्यवस्थापन गर्न छुट्टै व्यवस्था गरिएको छ। पारोजन्य थर्ममिटर तथा ब्लडप्रेसर नाप्ने मेसिन हटाएर डिजिटल थर्ममिटर प्रयोग गरिएको निर्देशक थापाले जनाए।
फोहोर व्यवस्थापन र सुधारअन्तर्गत निर्देशक थापाले ५० वर्षदेखिका पुराना १९ वटा ट्यांकी सफा गरिएको, चुहिएका ढल तथा शौचालय मर्मत गरेको, अस्पतालको पछिल्लो भागमा रहेको सय वर्ष पुराना कवाडी सामग्री लिलाम विक्री गरेर २५ लाख आम्दानी भएको बताए।
नेपाल हेल्थ केयर फाउन्डेसनका कार्यकारी अधिकृत निमेश ढकालले संस्थाले व्यवस्थापनको प्राविधिक सहयोग मात्र गरेको र बाँकी प्रयास अस्पताल आफैंले गरेको जानकारी दिए
No comments
Post a Comment