Responsive Ad Slot

Latest

latest

आचरणविपरीत काम गर्ने प्रहरी कारबाहीमा

Sunday, 11 December 2011

/ by Bikash Shah (Ghayal)
police

काठमाडौ, मंसिर २५ - प्रहरी आचरणविरुद्ध काम गर्ने हवल्दारसहित सात जनालाई कारबाही गरेको छ । चेक जाँचमा फेलापरेको सामान कार्यालयमा नबुझाई आफैं राखेको आरोपमा उनीहरूलाई कारबाही गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी राजेन्द्र श्रेष्ठका अनुसार, प्रहरी हवल्दार तुलबहादुर थापा, जवान विशाल खड्का, डोलप्रसाद ओली, राजकुमार, महेश खडका, शालिकराज जोशी र नरेन्द्र थापा छन् ।

हवल्दार थापालाई नसिहत दिएको परिसरले जनाएको छ । त्यस्तै, दुई जना जवानलाई एक वर्ष पदोन्नति रोक्का र चार जनालाई प्रहरी सेवाबाट निलम्बन गरिएको छ ।

महानगरीय प्रहरी बिट शोभा भगवतीमा खटिएका प्रहरीले चामती चोकमा चेकजाँच गर्ने क्रममा सोह्रखुट्टेका समीर श्रेष्ठ र बालाजुका नीरज श्रेष्ठलाई पक्राउ गर्दा उनीहरूको साथबाट बरामद भएका समान कार्यालयमा नबुझाई आफैं राखेको आरोपमा कारबाही गरेको हो ।

चेकजाँचको क्रममा नीरज र समीरको साथबाट एक सय ३९ डलर बरामद गरेका थिए । त्यस्तै, ६ जना प्रहरीलाई सुधारात्मक तालिममा राखिएको परिसरले जनाएको छ । राजेन्द्र श्रेष्ठ काठमाडौंका प्रमुख भएदेखिको घटना र प्रहरीले गरेको अनुसन्धानको जानकारी गराउन शुक्रबार पत्रकार सम्मेलन गरेको थियो । उनी आएपछि काठमाडौंमा चार जनाको हत्या भएकोमा सबै अभियुक्त पक्राउ गरेको जानकारी दिएको छ । त्यस्तै, जग्गा किर्ते गरी बिक्री गर्ने ११ जनालाई पक्राउ गरेको, एउटै जग्गा दुई जनालाई बिक्री गर्नेलाई पक्राउ गर्न सफल भएको सम्मेलनमा जानकारी गराए ।

त्यस्तै, मदिरा सेवन गरी सवारी चलाउने ४ सय २७ जना चालकलाई नियन्त्रणमा लिएको

छ । त्यसमा ३ सय १६ मोटरसाइकल, १७ निजी कार, ७ वटा ट्याक्सी, माइक्रोबस १, मिनिट्रक २ र १ सरकारी मोटरसाइकल मदिरा सेवन गरी चलाएको अवस्थामा फेला परेको श्रेष्ठले बताए । मदिरा सेवन गरेर सवारी चलाउने बढी दुर्घटनामा परेको घटना बढेपछि परिसरले कारबाही सुरु गरेको थियो । आजभोलि भक्तपुर र ललितपुरले पनि सुरु गरेका छन् ।

यस्तै, नसालु पदार्थ खुवाएर बेहोस बनाई धनमाल लुट्ने समूहलाई पनि काठमाडौं प्रहरीले पक्राउ गरेको छ । परिसरका अनुसार नुवाकोट थानापती ९ का सञ्जय परियार, उनकी श्रीमती सानुकुमारी थामी, नुवाकोट ४ की सुनीता परियार, भद्रटार ४ का भवानी कँडेल, निर्वान्द शाक्य, गोविन्द विक, रमेश परियार, कल्पना परियार, ज्योति परियार पक्राउ परेका हुन् । उनीहरूले उपत्यकाको विभिन्न स्थानमा सर्वसाधारणलाई नसालु पेय पदार्थ खुवाएर बेहोस बनाई धनमाल लुटपाट गर्ने गरेको श्रेष्ठले जानकारी दिए ।

उक्त समूहले विभिन्न मितिमा ११ लाख बराबरको धनमाल लुटपाट गरेको अनुसन्धानबाट खुलेको उनले बताए । त्यस्तै यही समूहबाट प्रहरीले बेहोस बनाउन प्रयोग गर्ने ट्याब्लेट, चोरीको मोटरसाइकल, सुनका गरगहना, मोबाइल, घडी, टेलिभिजन र मोबाइल सिमकार्ड बरामद गरेको थियो ।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI