एक करोड ४० लाखको पुस्तक बिक्री गर्ने साझा प्रकाशनको लक्ष्य I
१४ मंसिर, काठमाण्डौ । साझा प्रकाशनले यस वर्षको पुस्तक प्रदर्शनीमा करिव एक करोड ४० लाखको पुस्तक बिक्री गर्ने लक्ष्य लिएको छ । गत वर्ष सो प्रकाशनले काठमाण्डौमा ७० लाख र बाहिरी जिल्लामा ३२ लाख रुपैया गरी कुल एक करोड दुई लाखको पुस्तक बिक्री गरेको थियो ।
पुस्तक पढ्ने पाठकहरूको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको देखिएकाले यस वर्ष राजधानीभित्र र बाहिर गरी रु एक करोड ४० लाखको पुस्तक बिक्री अनुमान गरिएको साझा प्रकाशनका अध्यक्ष तथा महाप्रवन्धक ममता झाले बताउनुभयो । विभिन्न प्रकाशन गृहले भने यस वर्ष १० देखि १५ प्रतिशतसम्म किताबको मूल्य बढाएको बताइन्छ ।
साझा प्रकाशनले हरेक वर्ष पुस्तक प्रदर्शनी गर्दै आएको छ । यस वर्ष पनि राजधानीको राष्ट्रिय सभागृह र राजधानी बाहिर २६ स्थानमा गरी २७ वटा स्टल राखेर पुस्तक बिक्री गर्ने लक्ष्य उसले लिएको छ । पुस्तक प्रदर्शनीको आयोजक साझा प्रकाशनले प्रदर्शनीमा आˆना प्रकाशनका मात्र पुस्तक बिक्री नगरी नेपालभित्रका अन्य प्रकाशन गृहसाग पनि पुस्तक किनेर बिक्री गर्दैआएको छ । साझा प्रकाशनले प्रदर्शनीको समयभन्दा पछि अन्य प्रकाशनको पुस्तक भने कहिल्यै बिक्री गर्ने नगरेको साझा प्रकाशनका व्यवस्थापक रुद्र न्यौपानेले बताउनुभयो ।
साझा प्रकाशनले यस वर्षको पुस्तक प्रदर्शनीमा मुलुकभित्रका १०० प्रकाशन गृहसाग छ हजार शीर्षकका पुस्तक खरिद गरेको छ भने प्रदर्शनीमा छुट्टै एक हजार ४०० शीर्षकका आफ्नै मात्रै प्रकाशनका पुस्तक प्रदर्शनीमा राखेको छ । सो प्रकाशनले राजधानी बाहिर तेह्रथुम, फिदिम, धनकुटा, धरान, विराटनगर, जनकपुर, लहान, राजविराज, वीरगन्ज, हेटौडा , भरतपुर, बुटवल, पाल्पा, पोखरा, बागलुङ, नेपालगन्ज, सुर्खेत, दाङ, जुम्ला, धनगढी, महेन्द्रनगर, दिपायल, त्रिशूलीलगायत २६ स्थानमा मङ्सिर ८ देखि २३ गतेसम्म स्टलहरू राखी पुस्तक बिक्री वितरण गर्ने व्यवस्था मिलाएको छ ।
पुस्तक पढ्ने संस्कार बढाउन पुस्तक प्रदर्शनीको आयोजना गरिदै आएको संस्थाका अध्यक्ष झाले बताउनुभयो ।साझा प्रकाशनले २०३१ सालदेखि पुस्तक प्रदर्शनी गर्दै आएको छ । यस वर्षको प्रदर्शनी २६ औँ हो । प्रदर्शनीमा कक्षागत पाठयपुस्तक अत्यन्त नगन्य मात्रामा राखिएका छन् । प्रकाशनले पाठयपुस्तकमा १० प्रतिशत र अन्य विभिन्न पुस्तकमा १५ देखि ८० प्रतिशतसम्म छुट दिएर पुस्तक बिक्री वितरण गरिरहेको छ ।
प्रदर्शनीमा राजनीति, साहित्य, कला, संस्कृति, खेलकुद, जीवनी, विज्ञान, बाल साहित्य, कथा, उपन्यास, शब्दकोष र सामान्यज्ञानलगायतका पठनीय सामग्रीहरू राखिएका छन् । साझा प्रकाशनले यस वर्ष काठमाडौंमा मात्र चार लाख पाठकले पुस्तक प्रदर्शनीको अवलोकन गर्ने आशा राखेको छ । गत वर्ष तीन लाख मानिसले प्रदर्शनी अवलोकन गरेका थिए ।

Subscribe to:
Post Comments (Atom)
No comments
Post a Comment